Logo

समाचार

दिनहुँ बढ्दै सुदूरपश्चिममा सुन काण्ड, पुनः दुईजना पक्राउ



भारतबाट सुदूरपश्चिम प्रवेशद्धार रहेको कैलालीको चिसापानीबाट प्रहरीले दुई किलो तीन सय ग्राम सुन र चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले विहिबार पत्रकार सम्मेलन गरि ति व्यापारीलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनचाँदी ओसारप्रसारमा संलग्न कार चालक धनगढी उपमहानगरपालिका–१ का ४५ वर्षीय रमेशकुमार सैंजु र कैलालीको कैलारी गाउँपालिका–५, की २५ वर्षीया सिताकुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट दुई किलो सुनसहित चाँदीको फ्रेम थान ४३, करुवा थान १०, आचमनी ३२, नग सहितको औठी थान १८, टिकादानी १२, सतपाला थान ७, पञ्चपाक थान ३२ सहित ३ थान मोबाइल सेट र बा १९ च ७४१३ नम्बरको कार पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।

थप कारबाहीका लागी बरामद सुन चाँदी सहित पक्राउ परेका दुवै जनालाई राजस्व अनुसन्धान विभाग मध्य तथा सुदूर पश्चिमाञ्चल कार्यालय कोहलपुर बाँके पठाइने तिम्सिनाले बताउनुभयो । यसअघि गत फागुन २ मा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीबाट १८ किलो सुनसहित २ जना र फागुन ३ मा कञ्चनपुरकै शुक्लाफाटा नगरपालिका–११ झलारीबाट ५ किलो ६ सय ग्राम सुन बरामद भएको थियो ।

प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार  ८ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।