Logo

राजनीति

गृहमन्त्री थापा भुमिगत, थापा र विप्लवमा कसले मार्ला बाजी ?



गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भुमिगत हुने भएका छन् । उनी आफ्ना दश वर्षे जनयुद्धका सहयात्री नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई समात्न भुमिगत हुने भएका हुन् ।

गृहमन्त्री थापाले देशैभरिका सुरक्षा अंग परिचालन गरेर पनि उनको खोजी गर्न नसकेपछि उनी आफै खट्न लागेका हुन् । सत्ताधारी नेकपालाई राजनीतिक कार्यक्रम तथा फौजी क्रियाकलापबाट अत्याउन थालेपछि नेपाल कम्युनिष्ट पार्टीका प्रमुख नेता विप्लवलाई नै पक्राउ गर्न राज्यले भएभरको शक्ति परिचालित गरेर खोजीमा जुटेको छ ।

गत हप्तादेखि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुसहित विप्लव समात्न भन्दै देश दौडाहामा निस्किएका छन् । क्षेत्रीय ‘सुरक्षा गोष्ठी’को आवरणमा राज्यले विप्लव पक्राउ गर्न व्यापक गृहकार्य अघि बढाएको हो ।

फागुन २१ गते धनगढीबाट सुरु भएको देश दौडाहामा गृहमन्त्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र नेपाली सेनाका प्रतिनिधि सहभागी छन् । धनगढीबाट सुरु भएको ‘सुरक्षा गोष्ठी’ लगातार सबै प्रदेशमा सम्पन्न गरिने गृह मन्त्रालयले जनाएको छ । यी सवै गोष्ठीको भित्री उद्धेश्य विप्लवमाथि नै केन्द्रीत हुने बताइएको छ ।

राज्यले केही दिनयता विप्लवका कार्यकर्तामाथि व्यापक धरपकड गरेको छ भने गुप्त सुरक्षा अप्रेशनहरू पनि सञ्चालन गरिसकेको छ । सरकारले सबै बल प्रयोग गरिरहँदा विप्लवले पनि बिद्रोहका लागि अत्याधुनिक हतियारबद्ध चुस्त शैनिक संगठन निर्माण गरेको खुलेको छ ।

केहि दिनयता विप्लवका कार्यकर्ताबाट प्रहरीले धमाधम अत्याधुनिक हतियार बरामद गरिरहेको छ । बिहीबारमात्रै कपिलवस्तुको शिवराज नगरपालिकाबाट दुर्गाबहादुर रोक्काको घरमा खानतलासी गर्दा ‘टाइप–५४ पेस्तोल’ एक थान र सर्ट मेसिनगन (एसएमजी) दुई थान फेला पारेको छ ।

प्रकाशित मिति : फाल्गुन २४, २०७५ शुक्रबार  ७ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।