Logo

समाचार

बहुविवाहको समाचार लेख्ने पत्रकारलाई प्रशासनमा उजुरी, प्रेस युनियनद्धारा भ्रत्सना !



स्याङजाको चापाकोट नगरपालिका वडा नम्वर ९ का अध्यक्ष र सचिवको मिलेमतोमा कानुन विपरित दोस्रो विवाह दर्ता गरिदिएको विषय विभिन्न संचारमाध्यममा सार्वजनिक भएसँगै स्याङजामा चर्चाको विषय वनेको छ ।

वडाअध्यक्ष शंकरभक्त भण्डारी र वडा सचिव दशरथ भट्टराईको मिलेमतोमा पहिलो श्रीमती भएको जानकारी हुँदाहुदै गत माघ १३ गते दोस्रो विवाह दर्ता गरिदिएका थिए ।

स्थानिय केशव पंगेनी र पुतलीवजार नगरपालिका १३ की प्रतिमा रेग्मी वीचको दोस्रो विवाहलाई कानुनी मान्यता दिई आफूलाई अन्याय गरेको भन्दै उनकी जेठी श्रीमती खेमकुमारी पंगेनीले न्यायको लागि न्यायीक निकायमा उजुरी दिएसँगै घटना सार्वजनिक भएको हो ।

जेठी श्रीमतीले आफूलाई अन्यायमा पारिएको भन्दै नगरपालिकाको न्यायिक समिति, प्रहरी तथा अदालतमा उजुरी गरेसँगै विभिन्न सञ्चार माध्यममा उक्त समाचार प्रकाशित र प्रशारित भएको थियो । समाचार प्रकाशित भएपछि श्रीमान केशव र उनकी कान्छी श्रीमति प्रतिमा अनुसन्धानको लागि वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ ।

कानुन विपरित बहुविवाह दर्ता भन्ने विषयमा समाचार संकलन तथा प्रकाशन गर्ने पत्रकारहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय स्याङजामा उजुरी गरेपछि निर्वाद रुपमा सत्य र तथ्य समाचार प्रकाशन गर्नै पत्रकारलाई भय रहित वातावरणमा काम गर्न दिन प्रशासन समक्ष माग गर्दै नेपाल प्रेस युनियन स्याङ्जाले विज्ञप्ती प्रकाशित गरी ध्यानाकर्षण गरेको छ ।

युनियनले आफ्ना सदस्यहरु एवम् कृयाशिल पत्रकार चापाकोट नगरपालिकाका प्रेस सल्लाहकार गोपिकृष्ण रेग्मी र चापाकोट एफ। एम।का स्टेशन मेनेजर रामु भट्टराइलाई समाचार लेखेकै आधारमा अनावश्यक तनाव दिनु प्रेस स्वतन्त्रता प्रति ठाडो प्रहार भन्दै विज्ञप्ती मार्फत आपत्ती प्रकट गरेको छ ।

नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ ‘लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सुचनाको हकलाई कुन्ठित पार्न खोजिएको घटनाप्रती खेद प्रकट गर्दछौ ।’

विज्ञप्तीमा संविधानले प्रदत्त गरेको नागरिक स्वतन्त्रता र सूचना प्राप्त गर्ने ब्यक्तिको मौलिक हकलाई नियन्त्रण गर्ने प्रयासको रुपमा पत्रकारद्वय रेग्मी र रामु भट्टराईलाई मानसकि असर पुर्याउने काम गरेको भन्दै ध्यानाकर्षण भएको उल्लेख छ त्यस्तै समाचार सामाजिक संजालमा सेयर गरेकै आधारमा चापाकोट बहुमुखी क्याम्पसका स्ववियु सभापति सबिनचन्द्र डोटेल विरुद्ध पनि कारवाहिको माग गर्नुले लोकतन्त्र माथिको ठाडो आक्रमण भएको युनियनको ठहर रहेको छ ।

युनियनले समाचार प्रकाशन गर्नु अघि पत्रकारहरुले प्रयाप्त प्रमाण र आधारहरू सहित सचिव दशरथ भट्टराइसँग कुरा गर्दा सचिव भट्टराईले आफू केही दवावका कारणले वहुविवाह दर्ता गर्न वाध्य भएको स्वीकार गरिसकेको उल्लेख छ साथै सचिवले गल्ती स्वीकार गरेको अडियो रेकर्ड समेत युनियनसँग सुरक्षित रहेको स्मरण गराएको छ ।

आफूहरु संविधानको पालन गरी विधिको शासन स्थापित गराउन हर पल प्रयत्नरत रहेको युनियनको दावी छ । प्रेस युनियन स्याङजाले कानुन विपरित वहुविवाह दर्ता गर्ने स्थानिय पञ्जिकाधिकारी तथा वडा सचिव दशरथ भट्टराई, वडा अध्यक्ष शंकरभक्त भण्डारी र सचिव भट्टराईकी श्रीमती नेकपा नगर संयोजक सरस्वती भट्टराई माथि छानविन गरि कानुन विपरित गरिएको कार्य प्रति कडा कारवाहीको माग गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ०८:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।