Logo

कर्णाली प्रदेश

ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्ने क्रममा झडप, ८ जना घाईते



पत्रकारलाई गालीगलौज गरेको आरोप लागेका ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्ने क्रममा सुर्खेतमा भएको झडपमा प्रहरी र शाही पक्षका केही व्यक्ति घाईते भएका छन ।

प्रहरीले शाहीलाई पक्राउ गर्ने क्रममा अवरोध गर्ने दुई महिलासहित केही प्रहरी घाईते भएका छन । सामाजिक सञ्जाल फेसबुकमार्फत गएको वैशाख १८ गते ‘कर्णाली प्रदेशका सबै पत्रकारहरु चोर, कुकुर हुन्’ भनी उनीहरूको इज्जतमा खलल पुर्‍याएको आरोपमा शाहीविरुद्ध उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा पक्राउ गर्न पुगेको प्रहरीलाई शाही पक्षका केही व्यक्तिले अवरोध गरेपछि दुवै पक्षका केही व्यक्ति घाईते भएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार शाहीलाई कानूनबमोजिम कारवाही गर्न नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्षद्वय दुर्गा थापा र गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत काठमाडौँ स्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी गरेका थिए । सोही बमोजिम शाही विरुद्ध विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता भई अदालतबाट पक्राउ आदेश जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको उनले बताए ।

शाहीलाई समात्न खोज्दा अवरोध पुर्‍याउने दुई महिला र छ पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उक्त घटनामा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हबलदार प्रकाश बुढा, प्रहरी जवानहरु जीतबहादुर बोहोरा, हस्त सिंह, रामसागर बर्मा र पवन सुवेदी घाइते भएको प्रहरीले जनाएको छ । उता शाहीसहित उनका पक्षमा लागेका दुईजना महिलालाई समेत प्रहरीले लछारपछार गरेर घाईते भएका छन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार १०:५५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।