प्रतितोला ६३ हजारमा किनबेच हुँदै आएको तेजावी सुनको मूल्य ह्वात्तै बढेर ६५ हजार ५ सय पुगेपछि बिक्री घटेको छ। एक साताभित्रै तोलामा दुई हजार ५ सय रुपैयाँ फाइदा हुने अवस्था आएपछि बिक्री गर्नेको संख्या बढेसँगै खरिदकर्ताले माग गर्न छाडेपछि सुन बिक्री घटेको हो।
नेपाल बैंकर्स संघका अनुसार, बैंकहरूले चालु आर्थिक वर्षको ११ महिनामा नै ७ हजार १ सय ५० किलो सुन ल्याएका छन्। उक्त सुन मध्ये ४ सय ५० किलो बिक्री नभएर थन्किएको छ। सुनको मूल्य एक्कासी बढेकाले बिक्रीमा कमी आएको सेन्चुरी बैंकका ट्रेजरी विभाग प्रमुख झविन्द्र खत्रीले बताए।
इरान र अमेरिकबीचको तनाव र सरकारले भन्सार शुल्क प्रतितोला ८ सयका दरले बढाएकाले पनि सुनको मूल्य बढेको उनको भनाइ छ। ‘बिबाहको सिजन नभएकाले पनि सुनको मागमा कमी आएको हो,’ उनले भने, ‘त्यस्तै भारतमा बिक्री हुने सुनमा कमी आएका कारणले पनि स्टक रहन गएको छ।’ सुनको मूल्य बढ्दा बिक्रीमा कमी आउने र मूल्य घटदा बिक्री बढी हुने गरेको अनुभव खत्रीको छ।
विश्व बजारमा शक्तिशाली राष्ट्रबीचको व्यापारिक तनावले स्थानीय बजारमा सुनको भाउ हालसम्मकै उच्चविन्दूमा पुगेको छ। विश्व बजारमा नै सुनको मूल्य बढेको छ। अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ४ सय डलर पुगेको छ। सुनमा गरिएको लगानीलाई सबैभन्दा सुरक्षित मानिने गर्छ। त्यसैले पनि सेयर र डलर खरिद गर्न छाडेर सुन खरिद गर्न थालिएकाले पनि भाउ बढन पुगेको हो।
चालु आर्थिक वर्षको एघार महिनामा करिव ३९ अर्बको सुन आयात भइसकेको छ। वार्षिक रुपमा ५० अर्बको सुनको कारोबार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए। यसबाट करिब १३ अर्ब राजस्व सरकारलाई प्राप्त हुने गरेको महासंघको भनाइ छ। २२ हजारभन्दा बढी व्यवसायी सुनचाँदी कारोबारमा छन्। यसमा करिब दुई लाख कामदार तथा कालिगढले प्रत्यक्ष तथा अपत्यक्ष रुपमा रोजगारी पाइरहेको महासंघको भनाइ छ।
सबैभन्दा बढी सुन दुबईबाट आउने गरेको छ। अहिले २२ वटा वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। त्यसमध्ये सेञ्चुरी बैंकले धेरै ल्याउँछ। व्यवसायीले बैंकबाटै सुनचाँदी किन्नुपर्छ। नेपालमा सुनचाँदी आयात गर्न वाणिज्य बैंकले मात्र पाउँछन्। केन्द्रीय बैंकले कम गुणस्तरका सुन आयातमा प्रतिबन्ध लगाउँदै ९९.९९ प्रतिशत शुद्ध सुनमात्र आयात गर्न पाउने व्यवस्था गरेको छ।
अनौपचारिक बाटोबाट सुन भित्रने क्रम घटेको र वैधानिक बाटो (बैंक) बाट आयात हुने क्रम बढेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। अवैधानिक रुपमा पनि ठूलो परिणाममा सुन आयात हुँदै आएको छ। अवैधानिक रुपमा अत्यधिक सुन आउँदा सरकारको राजस्व गुम्दै गएको छ।
















प्रतिक्रिया