जुम्लाका झण्डै २ दर्जन विद्यालयमा शिक्षकहरूले नै तालाबन्दी गरेका छन् । तलब नपाएको भन्दै सिंजा गाउँपालिकाका २२ वटा विद्यालयमा निजी शिक्षकहरूले आइतबार अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाका २२ वटै विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा तालाबन्दी गरेको निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लो गोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए ।
उनले भने ‘तलब उपलब्ध गराउन २२ वटै विद्यालयका शिक्षकहरूले व्यवस्थापन समितिलाई असार ११ गतेसम्मको अल्टिमेटम दिएका थियौँ । अटेर गरेपछि आइतबार अनिश्चितकालिन ताला लगायौँ ।’ सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले भने निजी शिक्षकको तलबसम्बन्धी विषय आफूहरूको सरोकार नरहेको प्रतिक्रिया दिए ।
विद्यार्थीहरुको पठनपाठन प्रभावित हुने भएकाले विद्यालय बन्द नगरी वार्ताबाटै समाधान खोज्न उनले सुझाव दिए । सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्याको समाधान खोज्नुपर्ने रावलको भनाइ छ। आन्दोलनमा उत्रिएका निजी शिक्षकले भने तलब उपलब्ध नभएसम्म ताला नखोल्ने बताएका छन् ।





















प्रतिक्रिया