रानीपोखरी पुनर्निर्माणका लागि ल्याएको कालोमाटो नछोप्दा झरीले बगाएको छ । थुपारेको स्थानमा सडकबाट पसेको भलले माटो बगाएको हो । यस्तै पर्खालमा इँटा जोड्नका लागि लगाएको माटो पनि झरीले बगाएको छ । मङ्गलबार रातभरिको झरीले रानीपोखरीको बीच भागमा पानी जमेको छ । त्यस्तै, सडकबाट आएको भलले माटो बगाएर जमेको पानीमा मिसाएको छ ।
काठमाडौं महानगरपालिकाले ३ वर्षसम्म पनि पुनर्निर्माण गर्न सकेपछि ०७५ पुसबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण सुरु गरेको हो । स्थानीय सदस्य र जनप्रतिनिधिको अनुगमन समिति बनाएर प्राधिकरणले रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो ।
पुनर्निर्माणका क्रममा प्राधिकरण र अनुगमन समितिले आवश्यक रेखदेख गर्न नसक्दा झरी र भलले कालीमाटो बगाएको स्थानीयको भनाइ छ । “बिहानैदेखि झरी पर्दा रानीपोखरीमा पानी जमेको छ,” जमलका स्थानीय युवा सन्तोष श्रेष्ठ भन्छन्, “ल्याएर राखेको र पर्खालमा लगाएको ठाउँमा नछोप्दा पानीले कालीमाटो बगाएको छ ।”
कालोमाटो सामान्य माटोभन्दा लस्सादार हुने भएकाले पानीले असर नगर्ने अनुगमन समितिको तर्क छ । “अरु माटो जस्तो कालोमाटोलाई पानीले असर गर्दैन । ठूलै पानी पर्यो भने त केही बगाउला तर पानीले कालोमाटोलाई केही असर पुर्याउँदैन,” रानीपोखरी पुनर्निर्माण अनुगमन समिति सदस्य भरतलाल श्रेष्ठले बताए ।
कालोमाटोमा अरु माटो मिसियो भने त्यसले पक्का गरी इँटा जोड्न नसक्ने निर्माणकर्मीहरु बताउँछन् । “जमल र दरबार हाई स्कूल अगाडीको भल पसेर पर्खालमा लगाएको माटो बगाएको छ,” रानीपोखरी पुनर्निर्माणका लागि छेउमै रहेको टहरामा भेटिएका निर्माणकर्मी भन्छन्, “माटो राखेको ठाउँमा छोप्ने व्यवस्था नहुँदा कालोमाटो पोखरीमा जमेको पानीमा मिसिएको छ ।”
रानीपोखरीमा हाल प्रयोग भएको माटो भक्तपुर र साँखुबाट ल्याइएको हो । हालसम्म टिपरमा ५० ट्रिप कालीमाटो रानीपोखरीमा ल्याइएको छ । भक्तपुरका स्थानीय कालीगढले हाल रानीपोखरीमा पानी अड्याउनका लागि काम गरिरहेका छन् । जसमा करिब ४५ ट्रिप माटो प्रयोग भएको छ भने ५ ट्रिप माटो रानीपोखरी परिसरभित्र थुपारेर राखिएको छ । थुपारेर राखिएको कालीमाटोमा सडकको दुई भागतिरबाट भल पसेको हो ।
“बर्खाको पानीले कालोमाटोलाई असर गर्दैन । जति भिज्यो, जति ओसिलो भयो यो माटो त्यति राम्रो हुने हो । बर्खाकै समयमा पर्खाल पनि निर्माण गरिँदा झरीले पर्खालमा केही असर पुर्याएको छ,” प्राधिकरणका पूर्वसहसचिव तथा रानीपोखरी पुनर्निर्माण विज्ञ राजुमान मानन्धरले भने, “कालीमाटोलाई नेवारी भाषामा देवाः चा भनिन्छ । देवाः भनेको देउता र चा भनेको माटो हो ।
यो माटोमा बालुवा र अन्य माटो मिसिनु हुँदैन । जसले गर्दा निर्माण कमजोर हुन जान्छ । अरु कुनै माटो र बालुवा यो माटोमा मिसिनु हुँदैन । यो माटो चोखो हुनुपर्छ अनि मात्र यसले राम्रो काम गर्छ ।” रानीपोखरी ९ करोड रुपैयाँमा पुुनर्निर्माण हुन लागेको हो । पोखरीबीचको मन्दिरबाहेक पोखरीको पुनर्निर्माण दसैंसम्म सम्पन्न हुने प्राधिकरणले बताएको छ ।




















प्रतिक्रिया