Logo

रानीपोखरीमा तीन करोड लिटर पानी हालेर ५ वर्षपछि पुनः भरियो



रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। २०७२ सालको भूकम्पले क्षति पुगेको रानीपोखरी पुर्नर्निर्माणको काम वैशाखमा नै सक्काउने लक्ष्य भए पनि लकडाउनका कारण समय सीमा बढेको हो। पोखरीको मध्य भागमा पुनर्निर्माण भइरहेको बालगोपालेश्वर मन्दिर भने अहिलेको पुस्ताले देखेको भन्दा फरक स्वरुपमा निर्माण भइरहेको छ।

२०७२ सालमा भूकम्प जाँदा रानी पोखरीमा रहेको मन्दिर गुम्बज शैलीको थियो। भूकम्प पछि मन्दिर गुम्बज शैलीमा नै निर्माण गर्ने तयारी भए पनि पहिला उक्त मन्दिर ग्रन्थकुट शैलीमा रहेको प्रमाण फेला परेपछि मन्दिर मल्लकालीन शैलीमा पुनर्निर्माण भइरहेको छ।

rani.JPG

रानीपोखरी ५ वर्षपछि पुनः भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । 

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए।

यसअघि डिप बोरिङबाट पानी हालेपछि सम्पदा अभियान्ताले विरोध जनाएका थिए । थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ ।

रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भवायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिए । पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाईन उपयोग गरिएको थियो ।

मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताए । थापाले रानीपोखरी सबैको गौरव भएकाले रानीपोखरीमा पानी भर्न निर्देशनालयले सधै सहयोग गर्ने बताए ।

‘भोलिका दिनमा रानीपोखरीमा पानी कम भयो भने सहयोगका लागि अनुरोध आए खाने पानी मन्त्रालयले रानीपोखरी भर्न सहयोग गर्नेछ’, थापाले भने ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम सकिने चरणमा छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् । 

 

प्रकाशित मिति : आश्विन ३, २०७७ शनिबार  २ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।