नेपाल टेलिकमले १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी सम्पूर्ण विदेशी खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्षित गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ ।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयले शनिबार विज्ञप्ति जारी गरेर काठमाडौँ, जनकपुर र पोखरामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीका लागि चार हजार पाँच सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको जनाएको छ ।
टेलिकमले यही मंसिर १५ देखि २४ गतेसम्म हुन लागेको साग खेलमा सहभागिहरुलाई उक्त सेवा उपलब्ध गराएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि टेलिकमले खेल अवधिभर खेलस्थलमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको जनाएको छ ।
मोबाइल भ्यान तथा खेलस्थल वरपर थप गरिएका अन्य मोबाइल टावरबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवा सहजै र तीब्र गतिमा उपलब्ध हुने बताइएको छ ।
कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्रीलगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । सोका लागि ११६६ मार्फत कल गरेर यो सेवा लिन सकिने जनाएको छ ।
सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नै काउन्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको उल्लेख छ ।





















प्रतिक्रिया