Logo

राजनीति

ओली र प्रचण्ड मध्ये एकले सुर्य चिन्हको आशा नमारेसम्म ‘कानुनत फुट’ असम्भव



नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपनि कानुनी रुपमा अझै एक छ । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल पक्षधरको फरक दाबी नमान्ने गरी पार्टी फुटलाई मान्यता नदिएपछि नयाँ परिस्थिति विकास हुन लागेको हो ।

अब नेकपा कानुनी रुपमा अझै एक रहेको स्पष्ट भएको छ । राजनीतिक दलसम्बन्धी ऐनले नेकपा फुट्न नमिल्ने अवस्थाबारे विगतमा पनि उल्लेख हुँदै आएको थियो । ऐन परिवर्तन गरेमात्र सम्भव हुने देखिन्छ । जुन प्रधानमन्त्री केपी शर्मा ओलीबाट मात्र सम्भव रहन्छ ।

नेकपा फुट्न नमिल्ने अवस्था बनेपछि नेकपाको ओली र प्रचण्ड माधव पक्षको अस्तित्वबारे समेत आँकलन गर्न थालिएको छ । ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई नै वैधानिक मान्न सकिने निर्वाचन आयोगको निर्णय देखिन्छ । यी दुई फुटेर गरेका निर्णयलाई मान्यता दिइएको छैन ।

अब ओली र प्रचण्ड कि त नेकपाभित्र द्वन्द्व या मिलेर रहनुपर्ने वाध्यात्मक अवस्था छ कि त दुई मध्ये एकले सुर्य र नेकपाको आशा मारेर अर्को पार्टी गठनमा लाग्नुपर्ने वाध्यकारी अवस्था छ । तर, दुवैले सुर्य चिन्ह पाउने लक्ष्य राखेका छन् । नेकपा छाड्ने पक्षमा देखिदैनन् । यसकारण पनि नेकपा विभाजनपछिको लडाईं पेचिलो बन्दै गएको छ ।

केपी शर्मा ओली सुर्य चिन्ह रहेको तत्कालिन नेकपा एमालेका अध्यक्ष थिए । एकतापछि मात्र उनी नेकपाका अध्यक्ष बने । प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष थिए । उनी एकतापछि सुर्य चिन्ह रहेको नेकपाको अध्यक्ष बने । प्रचण्डमाथि नेकपा एमालेमाथि कब्जा जमाउने रणनीति अपनाएको आरोप नलागेको होइन । अहिले उनले सुर्य चिन्हमा अडान कसेर पूर्व एमालेका प्रभावशाली नेताहरुलाई पनि साथमा ल्याएपछि आरोपमा बल पुगेको छ ।

प्रचण्डले भाषणहरुमा सुर्य चिन्ह पनि आफूहरुको भएको दाबी गरेका छन् । यसले अबको लडाईं सुर्य चिन्हका लागि हुने निश्चितप्रायः छ ।

निर्वाचन आयोगको निर्णयप्रति प्रधानमन्त्रीको टिप्पणी : ‘माधव नेपालको अध्यक्ष बन्ने सपना खत्तम’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै नेता माधवकुमार नेपालको अध्यक्ष बन्ने सपना अधुरै रहेको टिप्पणी गरेका छन्। आयोगले नेकपाको विभाजनलाई मान्यता नदिने निर्णय गरेको एक दिनपछि उनले यस्तो धारणा राखेका हुन्।

ओली पक्षीय नेकपा दाङले सोमबार लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले भने ‘केही मानिसहरु पार्टीबाहिर नगएर चौतारीमा बसेर म अध्यक्ष भएँ भन्दै बसेका छन् । त्यो पनि हिजो निर्वाचन आयोगले कोही अध्यक्ष सदस्य थपिएका छैनौं भनेर कोही कोहीको सडकबाटै अध्यक्ष बन्ने सपना खत्तम पारिदियो ।’

तत्कालीन एमालेको महाधिवेशनमा नेता नेपाल अध्यक्ष पदमा पराजित भएको स्मरण गराउँदै ओलीले भने– ‘अध्यक्ष हारेपछि मैलाई अध्यक्ष चाहियो भन्ने मेरो तरिका होइन, मेरो तरिका जनताको बीचमा जाने हो । त्यसैले म चुनाव घोषणा गरेर जनताको बीचमा आएको छु ।’ आफूहरु नै आधिकारिक नेकपा भएकाले निर्वाचन आयोगमा आधिकारिकता दाबी नगरेको उल्लेख गर्दै उनले प्रश्न गरे– ‘हामीले आधिकारिक भनेर दाबी गरेका छैनौं, हामी आधिकारिक छौं अनि पटकपटक किन दाबी गर्ने ?’

‘दुई–चार जना मानिसहरु रेस्टुराँ र ब्यांकटमा बसेर बैठक गरे रे, केपी ओलीलाई पार्टीबाट हटाए रे । उनीहरु त केपी ओली यो धर्तीमा नरहे हुन्थ्यो भन्छन्, अध्यक्षबाट हटाएको हल्ला गर्नु के ठूलो कुरा भयो र? ’, उनले थपे– ‘के त्यो सम्भव छ ? उनीहरुले के भन्छन्, त्यसको अर्थ छैन ।’ पार्टी एकजुट रहेको दाबी गर्दै उनले कोही पनि भ्रममा नपर्ने बताए । आफूहरुले कसैलाई पनि पार्टीबाट ननिकालेकाले गल्ती महसुस गरेर फर्के राख्न तयार रहेको ओलीको भनाई छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ११:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।