सुजाता अम्गाई
दाउरेको छोरो अब्राहम लिंकन अमेरिकी राष्ट्रपति भए । भैंसी गोठालो रामवरण यादव गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बने । त्यतिमात्र हैन, चिया बेच्ने नरेन्द्र मोदी भारतका प्रधानमन्त्री छन् । हरेक व्यक्तिका आफ्नो विगत छ । यस्तै नेपालको डोटीमा जन्मिएको अपहेलित ‘दाउरे’ बालक नेपालको मोडलिङ क्षेत्रको उम्दा प्रतिभा बनेको छ । बिजुली बत्ती देख्न समेत कैलाली झर्नुपरेको त्यो कठिन विगतसंग पौंठेजोरी खेल्दै अघि बढेको त्यो बालकको बाल्यावस्था मासुभात कम, आँसुभात बढी खाएर वित्यो । दुख नै साथी बन्यो । सपना देख्ने अधिकार सबैलाई समान छ, उसले पनि सानैमा थुप्रै सपना देख्यो । आखिर त्यही सपनाले उसलाई कलाक्षेत्रको सम्भावना बोकेको एउटा प्रतिभा बनायो । कलाको इन्द्रेणीमा एउटा रंग बनेर उपस्थिति जनाएको त्यो व्यक्तिको नाम हो- दिनेश कठायत । यिनै विषयमा केन्द्रीत रहेर कठायसंग अनलाइनपानाका लागी सुजाता अम्गाईले गरेको कुराकानी :
दिनेशको कहालिलाग्दो विगत, रहरलाग्दो वर्तमान र सुन्दर सपनासहितको भविष्यका बारेमा अनलाइन पानाले चासो राख्यो । झण्डै सयको हाराहारीमा म्युजिक भिडियो खेलेका यी प्रतिभाको भावी यात्रा कता मोडिएला ? संवादको सारसंक्षेप यस्तो छ ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
म्युजिक भिडियो मेरो वर्तमानको परिचय हो । त्यसैले अहिले पनि म्युजिक भिडियोमै समय लगानी गरिरहेको छु ।
आजसम्म कतिवटा गीतमा मोडलिङ गर्नुभयो ?
लकडाउनको समय धेरैका लागि अनलक्की भएपनि मेरा लागि लक्की भयो । त्यो समयमा पनि मैले म्युजिक भिडियोको राम्रो प्रोजेक्ट पाएँ । आजभोलि पनि त्यही कर्म निरन्तर जारी छ । मैले सयको हाराहारीमा म्युजिक भिडियोमा काम गरिसकेको छु ।
हुन त आमाबाबुलाई आफ्ना सबै सन्तान प्रिय हुन्छन् । तर तपाईंलाई आफूले खेलेका मध्ये अविस्मरणीय साइनो गाँसिएका म्युजिक भिडियो छन् कि ?
हो मेरा सिर्जना मेरा सन्तान हुन । मैले मेरो कर्ममा समान मेहनत गरेको छु । त्यसैले मलाई मेरा प्रत्येक सिर्जनाप्रति समान मोह छ ।
मोडलिङको शुरुवाती चरणलाई कसरी सम्झनुहुन्छ ?
मेरो जन्म डोटीको दुर्गम गाउँमा भयो । बिजुली बत्तीको उज्यालो पनि कैलाली झरेपछि देखेको हुँ । त्यसबेला ६,७ वर्षको थिएँ हुँला । ठूलोबुबाको घरको भित्तामा नेपाली चलचित्र ‘बरमाला’ सिनेमाको पोस्टर देखें । पोस्टरमा देखिने कलाकार देउताजस्तै लाग्थ्यो । ठूलोबुबाले पनि त्यही भएर यो फोटो झुण्ड्याएको हो भन्ने मेरो ठम्याई थियो । बालमनोविज्ञानमा परेको त्यही प्रभावले मलाई कला क्षेत्रमा डोर्यायो । हाम्रो आर्थिक अवस्था सुदृढ थिएन । घरमा टीभी राख्ने त एकादेशको कथाजस्तै थियो । तर हलमा फिल्म हेर्न जान्थें । फिल्ममा हिरोको चटकेशैली एकदमै रोमाञ्चक लाग्थ्यो । सिनेमा नै किन नहोस, हिरोले सत्यको पक्ष लिएको हुन्थ्यो । यी सबै कारणले मैले निधो गरें, म भविष्यमा हिरो बन्छु ।
संघर्षका दिनको स्मरण कसरी गर्नुहुन्छ ?
संघर्ष र सफलता एक अर्काका पर्याय हुन । संघर्ष नगरी सफलता अपवादबाहेक कसैलाई हात लाग्दैन । मैले अघि नै भनें कि म गरिब परिवारमा जन्मिएको मान्छे । आफूले लगानी गर्ने अवस्था रहेन । मनभरि रहर थियो । रहर पूरा गर्ने सूत्र थिएन । कामसंगै नाम, दाम दुवै जोडिएर आउँथ्यो । रहरलाई मैले बटन भएको सानो मोबाइलबाट यथार्थमा उतार्ने कोशिस थालें । यसैको सहयोगमा कभर भिडियो बनाउँथें । अभिनय गर्दै खिच्थें । मेरो यो कर्म देखेर धेरैले बहुला करार गरे । त्यो आलोचनालाई मैले उर्जाको रुपमा ग्रहण गरें । आलोचनाबाट डराएको भए सम्भवत ः मेरो यात्रा त्यतिबेलै पूर्णविराम लाग्थ्यो ।
शुरुवाती चरण कतिको सकसपूर्ण थियो ?
काठमाडौंको आगमन हिरो बन्न थियो । नृत्य, अभिनय, फाइट सबैमा पोख्त थिएँ । लाग्थ्यो, आधारभूत सीप भएपछि त कसो हिरो नबनिएला । म झूटो सावित भएँ । कलाकार हुन त अलग तत्व चाहिने रहेछ । यद्यपि कामप्रतिको समर्पणले मलाई सफल बनायो । मेरो सौभाग्य धेरै सहयोगी सहयात्री भेटें ।
पारिवारिक सहयोग कतिको पाउनुभएको छ ?
मेरो पहिचानको जमिन भनेकै मेरो परिवार हो । यदि परिवारको मप्रति समर्पण थिएन भने म यतिबेला खाडीमा हुने थिएँ । एउटा निम्न मध्यम वर्गीय परिवारको सदस्यले कलाक्षेत्रमा परिचय बनाउनु आफैंमा कठिन काम हो ।
एउटा सफल कलाकार हुन चाहिने आधारभूत योग्यता के हो ?
सर्वप्रथम आत्मविश्वास हुनुपर्यो । भाइरलको पछाडि दौडिनु भएन । भाइरल भनेको बाढीजस्तै हो । त्यसैले दुखमा आतिने र सुखमा मातिने काम गर्नु भएन ।
भविष्यको पेशा मोडलिङ नै हो ?
हो, यो संगै सिनेमाको संसारमा उदाउने रहर छ ।
कलायात्रामा लागेको कति भयो ?
पेशागत रुपमा लागेको दुई वर्ष भयो !
दर्शकको प्रतिक्रिया कस्तो छ ?
दर्शक त हाम्रो भगवान हो । उहाँहरुको ताली उर्जा हो, गाली पनि उर्जा नै हो । उहाँहरुकै स्नेहका कारण म आशावादी बनेको हो । सौभाग्यवश मैले त्यस्तो आलोचना खेप्नु परेको छैन । म त यसक्षेत्रको लागि विद्यार्थी हुँ । सिक्ने क्रम निरन्तर चलिरहन्छ ।
मोडलिङअघिको जीवनलाई फर्केर हेर्दा कस्तो लाग्छ ?
काले, कवाडी, दाउरेजस्ता अशोभनीय सम्बोधनबाट दुत्कारिएको एउटा बालक आज कलाक्षेत्रको एउटा विद्यार्थी बनेको छ । देशको राजधानीमा प्रतिस्पर्धी भएर कलायात्रालाई अघि बढाउनु कम्ति चुनौतीपूर्ण छैन । आफूले देखेको सपना विपनामा परिणत गर्न पाएको यो क्षण मेरा लागि गौरवपूर्ण छ । मैले जीविकोपार्जनका लागि दाउरा बेच्नेदेखि मुम्बईमा गएर भाँडा मोल्ने कामसम्म गरें । आखिर नेपालकै मायाले घर फर्किएँ । आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने लाग्यो ।
आफूले संगालेको पेशाबाट सन्तुष्ट हुनुहुन्छ ?
पूर्ण सन्तुष्टि त अन्त्य हो । जे होस् गलत बाटोमा छैन भन्नेमा चाहिँ ढुक्क छु ।
सिनेमा खेल्न अफर आको छैन ?
मेरो गन्तव्य सिनेमा नै हो । यद्यपि हतार गरेको छैन । कलालाई निखार्नु पर्छ भन्ने मान्यता मेरो हो । म हिरो भएपछि लगानीकर्ताको लगानी डुब्नु हुँदैन । दर्शकलाई हलमा तान्न सकस नपरोस् भन्ने मेरो मनशाय छ । म यतिबेला आफूलाई सिनेमाका लागि उपयुक्त पात्र बनाउने कोशिसमा छु ।
आफ्नै कसीमा तपाईं कस्तो मानिस हो ?
बुझ्नेका लागि प्यारो, नबुझ्नेका लागि अप्ठ्यारो मेरो परिचय यही नै हो । जो मसंग नजिक हुन्छ, उसका लागि म कहिल्यै बिझाउँदिन । कमलो मन छ । कसैको दुखमा सहभागी हुन पाए हुन्थ्यो भन्ने लाग्छ ।
मनकी राजकुमारी पाउनुभयो ?
हो, मेरी मनकी राजकुमारी छन् । मेरो कामको पहिलो न्यायाधीश उनै हुन् ।
हेर्दा आकर्षक देखिनुहुन्छ प्रेम प्रस्ताव कतिको आउँछ ?
धेरै आउँछ । त्यसलाई मैले सकारात्मक उर्जाको रुपमा लिन्छु ।
यस क्षेत्रमा आउने नयाँ कलाकारलाई तपाईंको मूलमन्त्र के हो ?
दीगो सोचेर आउनुस् । भाइरल बन्ने मूर्खता नपालेकै बेस । पैसा टिप्न पाइन्छ भन्ने भ्रम पनि नपाल्नु राम्रो । इमान र प्रतिभा संगसंगै लान जरुरी छ ।
प्रतिक्रिया