Logo

टिप्पणी

नेकपा विवाद र कोरोना संक्रमण उस्तै, अनगिन्ती समस्यामा कमजोर समाधानको खोज



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको विवाद र विश्वव्यापी स्वास्थ्य महामारीको रूपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) उस्तै उस्तै छन् । संक्रमण (समस्या) पत्ता लाग्यो तर समाधानको ठोस उपाय अहिलेसम्म कसैसँग छैन ।

कोरोनाको उपचार पद्धतिको खोजमा विश्वका धेरै देशका वैज्ञानिक लागि रहेकै छन् । केहिले सफलता हात पार्ने संकेत मिलेको जस्तो देखिन्छ तर पनि समाधान निकै टाढा छ भन्नेमा सबै सहमत छन् । नेकपाको विवादको समाधानमा पनि नेकपाका शिर्ष नेता, दोस्रो तहका नेता देखि तेस्रो (केन्द्रीय सदस्य) हुँदै स्थानीय नेतासम्म समाधानको विकल्प तयार गर्दै छन् । सर्वमान्य प्रस्ताव अहिलेसम्म कसैले तयार गर्न सकेका छैनन् । वा भनौं नेकपाको आन्तरिक विवादको समाधान पनि कोरोना खोपको परिक्षण जस्तै परिक्षणकै चरणमा छ ।

कोरोनाको भ्याक्सिनको खोजमा विश्वका वैज्ञानिक केन्द्रित भएजस्तै नेकपा विवाद समाधानको लागी कहिले वान टु वान, कहिले निकट सहयोगी त कहिले स्थायी कमिटी मार्फत छलफल चलिरहेकै छन् । तर उपलब्धि भने कोरोना खोप जस्तै भविष्यकै गर्भमा छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै लागु गरिएको लकडाउन (क्रमशः लुजडाउनको बाटोमा छ) ले नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ भने नेकपाको आन्तरिक विवादका कारण नेकपाका शिर्ष देखि स्थानीय नेता कार्यकर्ता हुँदै नागरिककै जनजीवन प्रभावित बनेको छ । देशमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । नेकपाको विवाद पनि अब प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष पदसम्म सिमित नरहेर राष्ट्रपतिलाई महाअभियोगको चर्चासम्म पुगिसकेको छ । भलै यसको पक्ष र विपक्षमा आ आफ्नै दलिल छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि फेक न्युज सबैभन्दा ठूलो चुनौती रहेको विश्वस्वास्थ्य संगठनले नै बताएको छ । यता नेकपा विवादमा पनि फेक न्युज ठूलो आंतक बनेको छ । त्यसको चपेटामा प्रधानमन्त्री ओली देखि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि त्यसको शिकार बनेको चर्चा छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि दैनिक १० हजार परिक्षण बढाउने स्वास्थ्य मन्त्रालयको योजना छ । तर, कार्यान्वयन हुन सकेको छैन् । सत्तारूढ नेकपाले पनि आन्तरिक विवाद समाधानका लागि वान टु वान, दोस्रो तहका नेताहरू, आफू निकट नेताहरू देखि स्थायी कमिटीको बैठक बाट विवाद समाधानको सुत्र खोजिरहेको छ तर अहिलेसम्म फेला पार्न सकेको छैन् । कोरोनाको खोप जस्तै खोज भने जारी छ ।

कोरोना भाइरसले नागरिकको जनजीवन प्रभावित बनेजस्तै नेकपा विवादमा सरकार अल्झिदाँ नागरिकको दैनिकी प्रभावित बन्न थालेको छ । सरकारले घोषणा गरेका कैयौं काम अलपत्र परेका छन् । समयमै कोरोना नियन्त्रण र नेकपा विवाद समाधान नभए त्यसको मूल्य नागरिकले पनि चुकाउनुपर्ने अवस्था निर्माण हुँदै छ ।

कोरोनाको खोप निर्माण र नेकपा विवाद समाधान द्रुत गतिमा अगाडि बढेको छ । कुन पहिला पत्ता लाग्छ अहिलेसम्म टुंगो छैन् । कोरोना खोप र नेकपाको विवाद समाधान हुन्छ वा हुन्न अहिलेसम्म कसैलाई प्रष्ट जवाफ थाहा छैन् । तर, प्रयास निरन्तर छ । दुबै समस्याको समाधान भए नागरिकको जनजीवन भने सहज हुनेछ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १३:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।