सर्वोच्च अदालतले सवारी साधनमा ‘इम्बोस्ड नम्बर’ नेपाली अक्षरमा प्रयोग हुने मात्राको कारण अक्षरको आकार सानो ठूलो हुने भएकाले नम्बर प्लेटका साइज एउटै हुन नसक्ने, अंग्रेजी भाषाको नम्बर प्लेट प्रयोग गर्दा सवारी साधनको चोरी पैठारी तथा दूर्घटना कम हुने जस्ता निरर्थक तर्कहरु पेस गरेर ‘इम्बोस्ड नम्बर’ अंग्रेजी भाषामा मात्र राख्ने फैसला गरेपछि अदालतको सर्वत्र आलोचना र विरोध भइरहेको छ ।
नेपाली भाषाका वक्ता, भाषा उत्थान, प्रर्वधन गर्ने संघसंस्था, नेपाली भाषाका विद्यार्थी, भाषाका जानकार, भाषालाई माया गर्ने व्यक्ति, भाषा खोज अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता र विज्ञहरुले सर्वोच्चको फैसला राष्ट्रियता, सार्वभौमिकता र मुलूकको अस्मितासँग गाँसिएको कुरालाई अपमान गरेको ठानेका छन् । अहिले मात्रै होइन विभिन्न बाहनामा यसरी पटक पटक नेपाली भाषामाथि प्रहार हुँदै आएको छ । यस्ता प्रयास सफल हुन त सकेका छैनन् तर यस्तै कारणले नेपाली भाषा उपेक्षित भने हुँदै आएको छ । सर्वोच्च अदालतको यो आदेश घुमाउरो तरिकाले नेपाली भाषाको काम छैन अंग्रेजी भाषा सिक भन्ने नै देखाउँछ । जुन कुरा नेपाल र नेपालीका लागि दुर्भाग्य हो । साहेद यस्तै कुराको अनुभव गरेर नै राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ भन्ने कविताको रचना गर्न पुग्नु भएको होला । नेपालको संविधानले अंगिकार गरेको नेपाली भाषा नेपालको सरकारी र साझा सम्पर्कको भाषा हो । अदालतको निर्णय अपरिपक्व, असंवैधानिक र राष्ट्रहित विपरित देखिन्छ ।
अहिलेको विश्वव्यापी भूमण्डलीकरणका कारण अंग्रेजी भाषामात्रै होइन, विश्वका जुनसुकै भाषापनि जान्नुपर्ने आवश्यकता देखिदै आएको छ । भाषाले व्यक्तिको ज्ञान मात्रै होइन एक अर्को राष्ट्रसँग सम्बन्ध जोड्ने सेतुको काम पनि गर्ने गर्दछ । सम्बन्धित देशको रहनसहन, संस्कार, सस्कृती, जीवन पद्धति, बानी व्यवहार आदि थुप्रै कुराको अध्ययन, खोज, अनुसन्धान गर्न सघाउ पु¥याउँछ । भाषा जान्नु ज्ञान बढाउनु हो । व्यक्तिमा जति धेरै भाषाको ज्ञान भयो त्यति नै बढि कुराको जानकारी हुने गर्दछ । कुनै पनि राष्ट्रको कुनै एक वक्ताले मात्रै बोल्ने भाषा लोप हुनु भनेको पनि मुलूकको पहिचान सकिदै जानु हो । व्यक्तिको पहिलो पहिचान नै उसको भाषा हो । भाषा पछि मात्रै व्यक्तिका अन्य पहिचान जोडिएर आएका हुन्छन् ।
कुनै भाषाका वक्ता थोरै र कुनै भाषाका वक्ता धेरै हुनु फरक कुरा हो । कुनै पनि भाषा ठूलो, सानो, राम्रो, नराम्रो भन्ने नै हुँदैन । तर एक हिसाबले नेपाली समाज लामो समयदेखि तेरो मेरो भाषा भन्दै यहि विवादमा रुमलिदै आइरहेका कारणले पनि नेपाली भाषा माथि प्रहार हुदै आएको छ । मुलूकभित्रका सबै भाषा त्यस मुलूकका सम्पति हुन् । अधिंकाश भाषाविदहरुले ९ वर्षको उमेरसम्म बालबालिकालाई आफ्नै मातृभाषामा शिक्षा दिएर त्यसपछि मात्रै सम्पर्क भाषा या विदेशी भाषा सिकाउने कुरामा जोड दिएका छन् । तर हाम्रो नेपालको सन्दर्भमा भने फरक छ । सकभर आफ्नो नानीबाबुले मातृभाषा या नेपाली भाषा नबुझेकोमै गर्व गर्ने गरेका छौँ । ज्योतिषले जुराइदिएको न्वारानको नाममै नेपालीपन झल्कने हुँदा खल्लो महशुष गर्छन् ।
त्यसैले त बच्चा गर्भमै रहेका बेला छोरा भए यो र छोरी भए यो नाम राख्ने भनि गुगल सर्च गरि आफ्ना बेबीको न्वारन गरिसकेका हुन्छन् । अन्नप्रासन्नमा माम खुवाउन सुरु भएपछि राइस खुवाइन्छ अनि रोटी नचिनेरै ब्रेट खान थाल्छन् । ‘मेरो बाबु या नानीले नेपालीमा भनेको बुझ्दैन अंग्रेजीमा भन्नुपर्छ’ भनेर बडो गौरवकासाथ नाक फुलाएर भन्ने गर्दछन् । नेपालीलाई आफ्नो मातृभाषा या सम्पर्क भाषाभन्दा पनि अंगे्रजी भाषाप्रति बढि मोह जाग्दो छ । बच्चाको बोलि फुट्न नपाउँदै अनेक तानाबानाका अंग्रेजी शब्द प्रयोग भइहाल्छन् । नेपालमा आजकाल बच्चा जन्मिदैनन् ‘बेबी’ जन्मिन्छन् । आमा भनेको ‘हजुरआमा’ नै हो ठान्छन् । चिडियाखाना कहाँ छ पत्तै नपाएर ‘जु’ घुम्छन् । ‘हाक्ती’ चिन्दैनन् इलिफन्टमा चढेर मङ्किलाई ‘म्याङ्गो’ दिएर आउँछन्, बाँदर देख्दैनन् । सर्प कुन हो थाहै पाउँदैनन् बढि डर बेबिलाई ‘स्नेक’ को लाग्छ । स्याउ भन्न सिकिएलला कि भने झैँ गरि एप्पल भन्न सिकाइ हाल्छौँ । त्यस्तै गरि केरालाई बनाना, आँपलाई म्याङ्गो, मेवालाई पपया…. आदि ।
सकभर नेपाली नामै चिनाउँन चाहदैनौँ । भान्सा होइन किचेन, थाल होइन प्लेट, ओछ्यान होइन बेड, ………….. मन्दिरमा गडसँग प्रे गर्न लगाइन्छ । पशुपति जाँदा होस् या स्वयमभूमा जाँदा होस् देखाइ देखाइ बेबी ऊ मङ्की आयो बनाना देउ भनिरहँदा बाँदर आयो केरा देउ भन्न चाहाँदैनन् । किनभने अहिलेको जमनामा दुनियाँका अगाडी प्रेस्टिजको कुरा हुन्छ रे । छोराछोरीले अ आ..क ख..एक दूई, तीन, चार नजानेको प्रति गुनासो मात्रै होइन नेपालीमा फेल भएको प्रति पनि खासै चासो रहँदैन । तर ए, बि, सि, डी, वान्, टु, थ्रि फोर लेख्न र पढ्न नजानेको प्रति ठूलो गुनासो रहन्छ भने अंग्रेजी विषय फेल भएको रहेछ भने त आकाशै खसे जसो मान्छन् अभिभावक । स्कूलमा पनि सुरुमै प्राथना भन्दा हतार ‘प्रे, को हुन्छ । राष्ट्रियगान भन्दा चटारो ‘नेस्नल एन्थम’ को हुन्छ । नाच्न जान्दैनन् धमकेदार ‘डान्स’ मज्जाले गर्छन् । कक्षाकोठामा चित्र बनाउँन र नक्सा कोर्न लगाइँदैन ‘ड्रइङ्ग’ गर्न र म्याप बनाउँन लगाइन्छ । चिल्डे«नहरुलाई पनि रङ भर्नु भन्दा सजिलो ‘कलर’ गर्नु हुन्छ । ठीक बेठीक छुट्याउँनै आउँदैन ‘ट्रिउ, फल्स्’ लगाउँछन् ।
अनुच्छेद लेख्ने थाहा पाउँदैनन् ‘प्याराग्राफ’ लेख्छन् । वर्णन विस्तार गर्न नबुझेर ‘डिस्क्राइब’ गरिदिन्छन् । गल्ति हुँदैन मिस्टेक हुन्छ ‘ सो सरि’ भनेर टारि दिन्छन् । पौडी खेल्न सिकाइदैन स्विमिङ गर्न लिन्छन् । शैक्षिक भ्रमण भन्दापनि ‘एजुकेस्नल टुर’ मा लगिन्छ । स्कूलमा त युरोप, अमेरिका, अष्ट्रेलियाकै बढाइचढाइ गरिएकै हुन्छ । सकभर प्लस् टु सक्काए पछि अभिभावक नै आफ्ना बेबीको नेपालमा करिअर देख्दैनन् । ‘लाइफ ह्याप्पिनेस’ होस् भनेर विदेशतिरै जान ‘फोकस’ गर्दछन । त्यसैले पनि आफ्नो भाषाप्रति पछिल्लो पुस्ताले बेवास्ता गरेको देखिन्छ । जब व्यक्ति विदेशमा ज्ञान आर्जन गर्न पुग्छ तब बल्ल आफ्नो भाषाप्रति सचेत हुने गर्दछ । जतिसुकै जे जे भनेपनि नयाँ नेपालको शिक्षण पद्दतिले व्यक्तिलाई अर्काकै वैसाखीमा हिँडउन सिकाएको छ भन्दा अनुपयुक्त नहोला ।
जापान, चीन, कोरिया जस्ता सम्पन्न मुलूकका नागरिकमा अङ्ग्रेजी भाषाप्रति त्यति मोह भेटिदैन जति नेपाली समाजमा भेटिन्छ । नेपाली समाज अंग्रेजी नजान्ने व्यक्तिलाई पढे लेखेको पनि ठान्दैन । अंग्रेजी बोल्न, पढ्न र लेख्न जान्नु शिक्षित हुनु हो भन्ने कुरा समाजले थोपरि दिएको हुनाले नेपालीमा शुद्धसँग आफ्नो नाम लेख्न र उच्चारण गर्न नजान्ने व्यक्तिले समेत अंग्रेजी बोल्ने प्रयास गर्दछन् । अझ शहर बजारतिर बसाइँ गरिसकेपछि त एक्काइसौँ शताब्दीको हवाला दिएर मातृभाषा बोल्दा पाखे नै ठहर गरिन्छ ।
मानक नेपाली भाषामा कुरा गर्दा पनि नेपाङग्रेजी पारामा चेपारो तरिकाले बोल्ने गर्दछन् । पढे लेखेको शिक्षित रहेछ भनाउने मनोदशा पालेका पढे लेखेका सर्टिफिकेटधारी शिक्षित अज्ञानीहरु भलिभाँती लगाएर एक तिहाइभन्दा बढि अशुद्धै भएपनि अंग्रेजी नै बोली रहेका हुन्छन् । जुन व्यक्ति आफ्नो मातृभाषा या राष्ट्रको औपचारिक भाषामा नै पूर्ण जानकार छैन भने त्यसले अर्को भाषा राम्रोसँग जानेको, बुझेको पनि हुँदैन भन्ने भाषाशास्त्रीका कुरालाई हेक्का राख्नै पर्दछ ।
















प्रतिक्रिया