काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न एकमत भएको नेपाली कांग्रेसभित्र सरकारमा गएपछि विवाद बढेको छ । नेकपा एमालेसँग मिलेर संघीयदेखि प्रदेशसम्म सरकार सहभागी हुँदा सभापति शेरबहादुर देउवाले एकलौटी लादेको भन्दै इतर पक्षले भेला थालेपछि विवाद झांगिएको हो ।
संघमा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसले पाएको १० मध्ये ३ मन्त्रालय मात्रै पाएको इतर समूहले प्रदेश सरकार गठनको विषयमा आफूहरुसँग छलफल नभएको भन्दै असन्तुष्टि जनाएको छ । संघमा पनि शेखर कोइराला र महामन्त्री गगन थापा समूहले चार मन्त्री पाउनुपर्ने अडान राखेका थिए ।
इतर समूहबाट बद्री पाण्डे, प्रदीप पौडेल र रामनाथ अधिकारी मन्त्री बनेका छन् । तेजुलाल चौधरी पनि यही समूहबाट मन्त्री सिफारिस भएको भनिएपनि राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट मन्त्री बनेका बताइन्छ । यद्यपी, संघीय सरकार मन्त्री पठाएको बिषयमा देउवासँग इतर खेमाले असन्तुष्टि जनाएका थिएन ।
तर, पार्टीभित्र समावेशी नभएको भन्दै चर्को असन्तुष्टि भने देखिएको थियो । दुई ठूला दल मिल्दा कोशी, लुम्बिनी र कर्णाली एमालेलाई, बाग्गती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति बनेको थियो । मधेश प्रदेश सरकारको नेतृत्व अहिले जनमतले गरिरहेको छ त्यहाँ मधेशी दललाई नै आलोपालो गराउने सहमति छ ।
कांग्रेस एमालेबीचको सहमतिपछि लुम्बिनी, बागमतीमा नयाँ सरकार बनेको छ । लुम्बिनीमा कांग्रेसले मन्त्री पठाइसकेको छ भने बागमतीमा पनि प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरीलाई मन्त्री बनाएको छ । लुम्बिनीमा कांग्रेसबाट दाङका प्रचण्डविक्रम न्यौपाने, प्यूठानका सरोज थापा, बाँकेका बादसाह कुर्मी र गुल्मीका धनेन्द्र कार्की मन्त्री बनेका छन् ।
यीमध्ये कुर्मी र राणा विवादित पृष्ठभूमिका हुन् । एक महिलाको शंकास्पद मृत्यु र जग्गा हडपिएको घटनाका मुख्य आरोपित कुर्मी र गुन्डा नाइके पृष्ठभूमिका राणालाई मन्त्री बनाएपछि कांग्रेसमा चर्को असन्तुष्टि छ । शेखर निकट एक नेताले भने, ‘सरकारमा मन्त्री पठाउँदा योग्य व्यक्तिलाई पठाउने भनिएको छ । तर, विवादित व्यक्तिहरुलाई छानेर पुरस्कार दिइएको जस्तो देखिएको छ । त्यो कुरा हामीले गम्भिर रुपमा लिएका छौं ।’
मन्त्री छनोटमा आफूहरुलाई भूमिकाविहीन बनाइएको भन्दै कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले आपत्ति जनाइएका छन् । उनले सभापति देउवाले निरंकुशता लादेको दाबी गरेका छन् । सिंह इतर पक्षका हुन् । बुधबार बसेको शेखर-गगन समूहको भेलाले प्रदेश सरकार गठन र मन्त्री पठाउँदा सभापति देउवाले आफूहरुमाथि एकलौटी लादेको निष्कर्ष निकालेको थियो ।




















प्रतिक्रिया