Logo

प्रमुख समाचार

नयाँ सरकार बनेपछि सेयर बजारमा उछाल आएको छ : अध्यक्ष अग्रवाल



काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नयाँ सरकारको आगमनसँगै सेयर बजारमा उत्साह छाएको बताएका छन् ।

शुक्रबार काठमाडाैंमा नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अग्रवालले करका समस्याबाट उद्योगी व्यवसायीहरु अझै पनि पीडित रहेको बताएका हुन् ।

उनले नयाँ सरकार बनेपछि सेयर बजारमा उछाल आएको भन्दै अहिले एक खालको आशा जागेको पनि बताएका छन् । पछिल्लो एक वर्षमै सेयर बजारका लगानीकर्तामार्फत सरकारले १ महिनामा साढे ४ अर्ब पूँजीगत लाभकर प्राप्त गरेको भन्दै उनले यसबाट पनि केही सकारात्मक संकेत देखिएको बताए ।

अब घरजग्गा व्यवसायलाई थप गतिशील बनाउन आवश्यक रहेको पनि उनले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र भित्र निजी क्षेत्रलाई समावेश गराउने गरी अहिले ऐन संशोधनको क्रममा रहेकाले यसबाट भने निजी क्षेत्रलाई हतोत्साही बनाउने उनको भनाइ छ ।

‘निजी क्षेत्रलाई अख्तियारको कार्यक्षेत्र भित्र राख्ने भन्ने विषयले निजी क्षेत्रलाई हतोत्साही बनाएको छ, यसले राम्रो गर्दैन’ अध्यक्ष अग्रवालले भने, ‘बरु प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याइयोस् ।’

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार ०९:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।