Logo

प्रमुख समाचार

किन बनेन कांग्रेसको विधान संशोधन मस्यौदा समिति ?



काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस दशौँ पटक पार्टीको विधान संशोधनको तयारीमा जुटेको छ । पटक–पटक स्थगन हुँदै साउन २३ बाट सुरू भएर भदौ १६ गते सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधनका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । तर, हालसम्म समिति गठन हुन सकेको छैन ।

पार्टी प्रचार विभाग मीन विश्वकर्माका अनुसार समिति गठन भइसकेको छैन । केन्द्रीय समिति बैठकले गत वर्ष फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको ‘महासमिति बैठक’बाट विधानसँग सम्बन्धित विषयमा प्राप्त सुझाव समेटेर विधान संशोधन गर्ने निर्णय गरेको हो ।

‘पार्टीको तहगत संगठनात्मक संरचनालाई कार्यमूलक बनाउने लगायत विधानसँग जोडिएका विभिन्न विषयमा सघन छलफल एवं सुझाव सङ्कलन गरी विधानमा समयानुकूल संशोधन र परिमार्जनका लागि मस्यौदा तयार गर्न नेपाली कांग्रेसको विधान, २०१७ को धारा २२ (७) बमोजिम विधान संशोधन मस्यौदा समिति गठन गर्ने’ केन्द्रीय समिति बैठकको निर्णय नम्बर ३ मा लेखिएको छ ।

बैठकले विधान मस्यौदा समिति गठन गर्ने अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । देउवाले पार्टी नेताहरूसँग आवश्यक परामर्श गरी समिति गठन गर्ने जिम्मेवारी पाएका छन् । ‘केन्द्रीय समिति बैठकले निर्णय गरेर मस्यौदा समिति गठन गर्ने अधिकार सभापतिज्यूलाई दिएको छ,’ विश्वकर्माले भने, ‘उहाँले सल्लाह गरेर अनुकूल समयमा समिति बनाउनु हुन्छ ।’

२०१७ सालमा लेखिएको पार्टीको विधान पहिलोपटक ३४ वर्षपश्चात् अर्थात् २०५१ फागुन २३ गते संशोधन गरिएको थियो । त्यसपश्चात पार्टी विधान पटकपटक संशोधन भएको छ । राजनीतिक परिवर्तन र राज्यसञ्चालन प्रणालीमा आएका परिवर्तन पश्चात पार्टीले विधान पटकपटक संशोधन गरेको छ ।

कांग्रेसले २०५४ असोज ७ गते दोस्रो पटक विधान संशोधन गरेको हो । यस्तै, २०५७ साल माघ ७ गते तेस्रो, २०६२ साल भदौ १५ गते चौथो तथा २०६४ साल असोज ८ गते पाँचौँ पटक पार्टीको विधान संशोधन गरिएको थियो ।

यसैगरी २०६६ साल कार्तिक १८ गते छैटौँ, २०६९ साल चैत २८ गते सातौँ, २०७२ साल फागुन २३ गते आठौँ र २०७५ साल फागुन १२ गते नवौँ पटक कांग्रेसले विधान संशोधन गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार १५:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।