Logo

अर्थ

साउनमा ३ अर्ब ७७ करोडको वैदेशिक लगानी स्वीकृत



काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा कुल १९१ वटा उद्योगका लागि ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो ।

उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनमा २४ अर्ब १० करोड ४९ लाख रूपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो । यो गत वर्षको तुलनामा २० अर्ब ३३ करोड २१ लाख ११ हजार रूपैयाँ कम हो ।

साउन महिनामा कुल लगानी प्रतिबद्धता मध्ये सबैभन्दा ठुलो हिस्सा पर्यटन क्षेत्रको रहेको छ । पर्यटन क्षेत्रमा १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ (कुल लगानीको ४३ प्रतिशत) प्रतिबद्धता आएको छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रमा ८४ करोड ३२ लाख (२२ प्रतिशत), सेवा क्षेत्रमा ६८ करोड २० लाख र सूचना प्रविधि क्षेत्रमा ५६ करोड ९८ लाख (१५ प्रतिशत) लगानी प्रतिबद्धता आएको छ । साउनमा स्वीकृत १९१ उद्योगमध्ये १२८ वटा सूचना प्रविधिसँग सम्बन्धित छन् ।

यस्तै, पर्यटन क्षेत्रमा ३३ वटा र सेवा क्षेत्रमा १९ वटा नयाँ उद्योग दर्ता भएका छन् । स्वीकृत भएका उद्योगहरूमध्ये साना उद्योगको संख्या पनि उल्लेख्य छ । कुल १९१ उद्योगमध्ये १८८ वटा साना श्रेणीका छन् भने २ वटा मझौला र १ वटा ठुलो उद्योग रहेको छ । लगानी प्रतिबद्धता अनुसार उद्योगहरू सञ्चालनमा आउँदा १ हजार ७ सय ७३ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ ।

वैदेशिक लगानीलाई सहज बनाउन ल्याइएको स्वचालित मार्ग मार्फत १८७ वटा उद्योगका लागि ३ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ लगानी स्वीकृत भएको छ । बाँकी ४ वटा उद्योगले विभागको नियमित प्रक्रियाबाट लगानीको स्वीकृति पाएका छन् ।

साउन महिनामा विभागले ५० जना लगानीकर्ता, ३६ जना प्रतिनिधि र ४८ जना आश्रितका लागि व्यावसायिक भिसा सिफारिस गरेको छ ।

यस्तै, रोयल्टी बापत २४ करोड २१ लाख ९३ हजार रुपैयाँ र सेवा शुल्क बापत १७ लाख १८ हजार रुपैयाँ विदेश लैजान स्वीकृति प्रदान गरिएको उद्योग विभागले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलवार १३:१७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।