Logo

टिप्पणी

रुचि कलममा, हात फलाममा



सुजाता अम्गाई 

राजु नेपाल, एउटा सिद्धहस्त श्रष्टाको नाम । यिनी कलाको व्यापार गर्दैनन् । आफूले गरेका सिर्जनाको प्रचार खोज्दैनन् । न नामको लोभ छ, न रातारात पैसा कमाएर ऐसको जिन्दगी बाँच्ने लालसा नै । बरु घरको कुनामा बसेर कलाको भोक मेटाउन कुनै न कुनै सिर्जना कोरलिरहन्छन् ।

एउटा समय थियो-यिनले कलाको रंगभित्र जीवनको रंग खोजे । कलाभित्रै भातको सेतो सिता खोजे । सडकका भित्तामा परिचयको कित्ता खोजे । अहँ, कतै भेटिएन । बरु हातमुख जोर्न कलादेखि धेरै माईल टाढाको कुटानी, पिसानी र पेलानीको मिल आरम्भ गरे ।

क्वीन्टलका क्वीन्टल कुटानी, पिसानी र पेलानी गर्दा पनि उनमा कोलाजभित्र रंगको कुटानी, पिसानी र पेलानीको धित मरेन् । यता मिलको फित्ता आयतन नापिरहँदा उनी मस्तिष्कभित्र रंगका आयाम खेलाउँछन् । मनभित्रै इन्द्रेणी रंगका पिचकारी खेल्छन् । जब मिलको फित्ताले विश्राम पाउँछ, कुचीयात्रामा निस्कन्छन् ।

photo 7.jpg

राजु नेपालको कलाले कला मात्र बोल्दैन, उनी त चित्रमार्फत सूचना प्रवाह गर्छन् । धरहरा ढलेको घट्नाले उनको चित्र मन घाइते हुन्छ । ट्रलीबस बन्द हुँदाको पीडा चित्रमा पोखिन्छ । एकादेशको मिथक बन्दै गएको ढिकी जाँतो राजु आफ्नो कलामा सम्झन्छन् ।

बागलुङ पर्वत जोड्ने देशकै लामो झोलुङ्गे पुल होस, नुवाकोटको दरबार, इलामको चियाबगान होस् या मुस्ताङ थाकखोला हिमाली जनजीवन । उनको चित्रले कहिले पशुपतिनाथ त कहिले मुक्तिनाथ, कहिले मिथिला त कहिले खप्तडको यात्रा गराउँछ । वास्तवमा उनी चित्रमार्फत देश जोड्न चाहान्छन् । उनी आफू भक्तपुरमा जन्मिए पनि आमालाई सोधेर परम्परा धान्ने चित्र कोर्छन् । यस दृष्टिले उनको पहिलो गुरु जन्म दिने आमा नै हुन् ।

photo 4.jpg

राजु फाईन आर्टका विद्यार्थी हुन् । विद्यार्थी छँदा उनले चित्रमार्फत संसारमा ख्याती पाउने सोचेका थिए । तर ख्यातीको बाटो त्यति सजिलो रहेनछ । कलाको मापन पैसाले गर्छ भन्ने सत्यसंग बारम्बार जम्काभेट भएपछि उनीभित्र रहेको भ्रम उत्रियो । चित्र प्रदर्शन गर्न लाखौं रुपियाँ खर्च गर्नुपर्ने देखे । चित्र बनाउने र किन्ने दुबै धनी हुनुपर्ने दृश्यले उनको कलेजो चिमोटियो ।

अनि उनले कलायात्रालाई ‘यु टर्न’ दिए । राजुले सोचे- थोरै पैसा हुने उपभोक्ताका लागि म चित्र किन नबनाऊँ ?’ उनले धमाधम चित्र बनाए । आमाको गाईडलाइनमा बनाइएका ती चित्र गाउँघरका जीवन्त मुहार थिए । आफ्नो कलात्मक सिर्जना लिएर उनी काठमाडौंका मानिस भीड हुने थलोमा भेटिन थाले । कहिले पशुपतिनाथ त कहिले भृकुटीमण्डपमा देखा पर्न थाले । थोरै समयमा उनी भूइँमान्छेहरुका प्रिय भए । राजुका कला सामान्यभन्दा सामान्य मानिसको घरका भित्तामा झुण्डिन थाले । थोरै अंशमा भएपनि नाम र दाम पाउँदा हर्षविभोर भए । सडकमा कमाएको यही साइनोले उनको कलायात्रालाई अझै जोडिरहेको छ । तिनै मानिसहरु अहिले घरसम्म धाएर राजुका कला पछ्यारहन्छन् । साँच्चै भनौं भने यिनै शुभचिन्तकले उनीभित्रको कला मर्न दिएका छैनन् ।

एउटा फाइन आर्टको विद्यार्थी मिल चलाउने बाध्यतामा कसरी पुग्यो रु राजुका लागि यो प्रश्न अप्रिय थियो । विगत सम्झदै उनी भन्छन– ‘मिल मैले रहरले चलाएको होइन । बृद्ध बाआमाको ओखती उपचार, हुर्किदा बालबच्चाको शिक्षा दीक्षा चुनौतीको पहाड भएर उभिए । कलाको खेती मेरो घरायसी आवश्यकताका अगाडि निरीह बन्यो । त्यसैले नचाहेरै पनि कलायात्रा मेरो जीवनको वैकल्पिक आवश्यकता पर्यो ।’

photo 5.jpg

मिलबाट फुर्सद पाउनेवित्तिक्कै चित्र नबनाई राजुको मन अडिदैन । देश विदेशबाट चित्र बनाउन शुभेच्छुकले गरेको आग्रह नाघ्न सक्दैनन् । अचम्म त के छ भने ग्राहकले दिएको मूल्यमै उनी स्वीकृतिको मुन्टो हल्लाउँछन् । चित्रकार राजुका दुई सन्तान छन् । छोराले आईटी ईन्जिनियरिङ गरेका छन् । तर कहिलेकाहीं रंग भर्न सघाउने बाहेक बाबुको पेशाप्रति उनको लगाव देखिदैन् ।

photo 6.jpg

भविष्यको यात्रा के त ? राजुलाई आजकल योजना बनाउने जाँगर चल्दैन् । असल सोच्ने, सबैको भलो चिताउने, आफ्नो काम गर्ने बाहेक कुनै एजेण्डा छैन् । एउटा चाहिँ निश्चित हो-उनी रंग खेल्न छोड्दैनन् । ‘मेरा देवता भनेका भूइँमान्छे हुन, जसले मेरो कला मन पराए । उनीहरुको स्नेह रहेसम्म मेरो कलायात्रा रोकिदैन् ।

photo 3.jpgphoto 2.jpgphoto 1.jpg

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार १२:२७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।