Logo

अन्तर्वार्ता

एमसीसी जसरि पनि पास हुन्छ : अनिल रुङ्गाटा [अन्तर्वार्ता]



राजनीति र व्यापारलाई संगसंगै एकसाथ लिएर जानु नै चुनौति हो त्यहि चुनौतिको एउटा नाम हो अनिल रुङ्गाटा । रुङ्गाटा समूहका अनिल रुङ्गाटा वीरगन्जलाई आधार बनाएर राजनीति र व्यवसाय गरिरहेका छन् । उत्पादनमूलक उद्योग र व्यापारमा सक्रिय रुङ्गाटा वीरगन्जमा चारतारे लर्डस् दियालो होटेल सञ्चालनमा ल्याएर हस्पिटालिटी क्षेत्रमा पनि प्रवेश गरेका छन् । उनको जगदम्बा ग्रुपसँगको साझेदारीमा जगदम्बा इन्टरप्राइजेज कम्पनी सञ्चालनमा छ ।

उनका जगशक्ति स्टिल उद्योग, आल्मुनियमजन्य सामग्री उत्पादन गर्ने उद्योगमा लगानी छ । व्यावसायिक क्षेत्रमा ख्याति कमाएको यो समूहले केही वर्षयता उत्पादनमूलक उद्योगमा हात हालेको हो । दोस्रो संविधानसभामा कांग्रेसबाट सभासद् बनेका रुङ्गाटा अबको नेपाली कांग्रेसको १४ औं महाधिवेशन तयारी कस्तो हुँदैछ, महाधिवेशनमा तपाईको उमेदवारी कुन पदमा हो लगायतका राजनीतिसंग रहेर अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी कस्तो हुँदैछ ?

समग्र रुपमा तयारीको कुरा गर्दा क्षेत्रीय अधिवेशनहरु धेरै ठाउँहरुमा भैसकेका छन्, प्रदेश क्षेत्रको पनि भैसकेको छ । हाल जिल्ला अधिवेशन चलिरहेको छ । यस अर्थमा १४ औं महाधिवेशनको ७० प्रतिशत तयारीको काम भैसकेको छ ।

महाधिवेशनमा तपाईको उमेदवारी कुन पदमा हो ?

यस विषयमा सबै साथिहरुसंग सरसल्लाह हुँदै छ । यहि पदमा उमेदवारी दिने भनेर हालै भनिहाल्ने अवस्था छैन् । अबको २÷३ दिनमा महाधिवेशन प्रतिनिधि छनोट भएपछि साथिहरुसंग छलफल गरेर म उमेदवारी घोषणा गर्छु ।

यो महाधिवेशनमा चयन भएको सभापति भोलि देशको प्रधानमन्त्री हुने सम्भावना छ । त्यसैले सर्वसाधारण जनताले पनि यस विषयलाई महत्वका साथ हेरेका छन् । तपाईको अनुमानमा सभापतिमा नयाँ अनुहार आउँछ अथवा पुरानै दोहोरिन्छ ?

यो महाधिवेशनमा पुरानै नेता दोहोरिनुहुन्छ । किनभने अहिलेको अवस्था अनुसार नयाँ अनुहार भन्दा अनुभवी नेतृत्वको आवश्यकता छ । विदेशी कुटनैतिक सम्बन्ध राम्रो पार्नका लागि पनि अनुभवी नेतृत्वको विकल्प छैन् । त्यसैले अनुभवी र पुरानै नेताले सभापतिमा जित्नेमा हामीहरु ढुक्क छौं ।

पदाधिकारीहरुमा युवाहरु आउने सम्भावना कति देखनुभएको छ ?

पदाधिकारीमा नयाँ जोस भएका युवाहरु आउनु राम्रो कुरा हो । किनभने राष्ट्रको नेतृत्वको लागि र पार्टीको भविष्यको लागि पनि अनुभवीहरु र युवाहरु दुवैको आवश्यकता हुन्छ । यसरि समायोजन भएको केन्द्रीय पदाधिकारीहरुले सकृय भएर काम गर्न सक्छ । त्यसैले पदाधिकारीमा युवाहरु आउनु स्वागत योग्य हुन्छ ।

सरकारले काम गर्न सकेन भन्ने जनताबाट चौतर्फी आवाज आएको छ, यसलाई कसरि लिनुभएको छ ?

यो कुरा कस्ले भन्यो थाहा छैन् । तर यो वितेको ४ महिनामा सरकारले प्रभावकारी काम गरेको छ । अघिल्लो सरकारले ल्याएको जुन बेतिथि थियो त्यसलाई हटाएर देशलाई सहि बाटोमा ल्याएको छ । राजनीतिक स्वार्थबाट माथि उठेर देशको हितका लागि काम भएको छ । ५ दलिय गठबन्धनको सरकार भए पनि हरेक क्षेत्रमा राम्रो काम गरिरहेको छ । सरकार असफल भएको भन्ने विरोधीहरुको जाल हो, त्यसको कुनै यथार्थ छैन् ।

नेपाली कांग्रेस जनतामुखी होइन कार्यकर्तामुखी हुँदै गयो भन्ने जनताको गुनासो छ, यस विषयमा के भन्नुहुन्छ ?

नेपाली कांग्रेस जनतामुखी पार्टी हो । यो पार्टी समाजप्रती उत्तरदायी छ । यो पार्टीमा पहाडका गरिब देखी लिएर व्यापारी र उद्योगी समेत रहेको हुनाले हरेक क्षेत्रहरु पार्टीमा समावेस भएका छन् । जनताको साथमा भएको पार्टी नेपाली कांग्रेस हो ।

तपाईको विचारमा आगामी निर्वाचनहरुमा नेपाली कांग्रेस एकलै होमिदा ठिक हुन्छ अथवा गठबनधन गरेर जाँदा राम्रो हुन्छ ?

यो विषयमा हाम्रो सभापति जिले भनिसक्नुभएको छ की आगामी निर्वाचनमा नेपाली कांग्रेस एकलै भिड छ । यसमा हाम्रो पनि पूर्ण सहमत छ । कांग्रेस जनतामा लोकप्रिय बनेको छ । त्यसकारणले पनि एकल रुपमा तीनै तहमा भिडन उपयुक्त हुन्छ ।

के—के आधारमा आगामी निवार्चनमा नेपाली कांग्रेसले बहुमत ल्याउँछ ?

यस अघिको निर्वाचनमा पनि नेपाली कांग्रेस तिनै तहको निर्वाचन गराएर संविधानलाई संस्थागत गर्न चाहान्थ्यो । हार व्यहोरेर पनि कांग्रेसले त्यो पुरा गर्‍यो । त्यसपछि कम्यूनिष्ठ सरकारले समृद्धीको कुरा गर्‍यो तर समृद्धी भाषणमा सिमित भयो । आगामी दिनमा कांग्रेस हरेक जनतालाई साथमा लिएर समृद्धीको सपनालाई पूरा गर्छ ।

एमसीसीलाई के गर्नु हुन्छ, संसदबाट पारित अथवा र्फिता ?

एमसीसीलाई हामी कुनै पनि हालतमा संसदबाट पास गराउँछौं । गठबन्धनमा भएका सबै पार्टीहरुको पास गर्नुपर्छ भन्नेमा सहमती जुटेको छ । यो छिटै संसदबाट पातिर हुँदै छ ।

अदालतमा भैरहेको विवादको विषय सरकारले सुल्झाउन नसकेको हो ?

न्यायालयको बारेमा राजनीतिक दलहरुले बोल्नु उचित हुँदैन् । आवश्यकता अनुसार सरकारले उचित कदम चाल्छ । मेरो व्यक्तित विचार भन्दा पनि सरकारले आवश्यकता अनुसार हस्तक्षेप गर्छ ।

अन्त्यमा, तपाईलाई महाधिवेशनको बारेमा के भन्नुहुन्छ ?

यसमा नेपाली जनतालाई र पार्टीका कार्यकर्ताहरुलाई म एकदम विचार पुर्‍याएर असल र कर्मठ नेतृत्व चयान गर्न आग्रह गर्छु । नेपाली कांग्रेस लोकतन्त्रलाई संस्थागत गर्ने पार्टी भएकोले यसको नेतृत्व जिम्मेवारीपूर्वक हामीले छनोट गर्नुपर्छ त्यसकारण हामीले कुनै पूर्वाग्रहमा नल्याई योग्य र कर्मठ नेतृत्व चयन गर्नु पर्छ भनेर सबैमा आग्रह गर्न चाहान्छु ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १४:२९   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।