Logo

विचार / ब्लग

आफ्नो डाक्टर आफैं बनौं 



मानिसको पहिलो पाठशाला घर हो । आफ्नो शरीरको पहिलो डाक्टर स्वयं हो । वृत्ति विकासको श्रोत घरपरिवार, समाज नै हो । कुरा सबैको सुन्ने तर टुंगोमा पुग्दा अन्तरआत्माको आवाज सुनेर स्वविवेकीय निर्णय गर्न सकियो भने त्यसको प्रभाव सकारात्मक हुनेमा दुईमत छैन । कोभिडको महामारीमा पनि आफ्नो स्वविवेकीय र वुद्धिमतापूर्ण निर्णय अपेक्षित छ । अरुसंग यस्तो उस्तो व्यवहार गर्ने भन्ने सिकेका हामी स्वयंसंग कस्तो व्यवहार गर्ने भन्नेमा सधैं अल्मलिन्छौं । कोभिडले बल, बैंश, उमेर, धन, निर्धन, जातपात, लिंग केही हेर्दैन । यो निर्जीव भाइरस भएकाले भूगोल, हावापानी, मौसमले यसको प्रभावमा तात्विक प्रभाव पार्दैन । होशियारी नै यसको पहिलो अन्तिम अस्त्र हो । 

छिमेकी देश भारतमा पानी पर्यो भने यहाँ छाता ओढ्नु हाम्रो परम्परा हो । कोभिडको दोस्रो भेरियन्टले भारतमा राम्रै राज गरेको छ । उपचार त परै  जाओस् , मरेका मानिसको शव व्यवस्थापन गर्न सक्ने क्षमताबाट भारतीय समाज हच्किन थालेको छ । सार्वजनिक पार्क अहिले शव दाह गर्ने थलो भएका छन् । लोकप्रिय मोदी सरकारका लागि कोभिडको प्रकोप राहु बनेर उभिएको छ । आर्थिक समृद्धिका दृष्टिले विश्वकै उम्दा मुलुकको सिंढी चढ्दै गएको भारतका लागि कोभिड आतंक बहुआयामिक क्षति हो । अर्थतन्त्रभन्दा जनता बचाउनु उसका लागि चुनौती भएको छ । 

भारतीयलाई ज्वरो आयो भने हामी पानी छम्कनुपर्ने अवस्थामा पुग्छौं । आर्थिक, सामाजिक, राजनीतिक, व्यापारिक, सांस्कृतिक हरेक क्षेत्रको नाभी भारतसंगै गाडिएको छ । हिङदेखि हर्दीसम्म उतैबाट आयात हुन्छ । जन्म, विवाह, मरणका सामग्री भारतकै भर छ । करोडौं भारतीय कोभिडको चित्कारबाट मुक्ति खोजिरहेका छन । अस्पताल पुग्न नसकेर हजारौं मर्न बाध्य छन् । अस्पतालको हातामा पुगेका डाक्टरको मुख देख्न नपाई तड्पिएर मरिरहेका छन । अझ आश्चर्य त के छ भने जल्न पाउने अधिकारबाट मृत शरीर वञ्चित छन । भारतको इतिहासमा यस्तो दुर्दिन शायदै आएको थियो । आफ्नै जनता बचाउन नसकेको भारतसंग उल्टै अस्क्सिजन, खोप मागिरहेका छौं । छिमेकी देश भुटानले अक्सिजन सिलिण्डर दिएर सघाइरहेको परिस्थितिमा हामी भने उल्टै याचनाको हात फिंजारिरहेका छौं । आपतमा हामी पनि काम लाग्नुपर्छ भन्ने चेतको विकास कहिल्यै भएन । 

सबैलाई थाहा छ– भारतसंगको व्यापार घाटा नेपालको अर्थतन्त्रका लागि दीर्घकालीन समस्या हो । बजेटकै हाराहारीमा रहेको यो घाटाले नेपालको राजनीतिक प्रतिवद्धता कति निकम्मा छ भन्ने प्रमाणित हुन्छ । हरेक राजनीतिक परिवर्तनपछि आउने सरकारले यो खाडल पुर्ने चेष्टा नै गरेनन । बरु देशमा भएको उर्जा उत्पादन विदेशमा बेच्ने तोरीलाहुरे भाषण गरेरै दिन विताए । कुनै राजनीतिक नेतृत्वले स्वदेशको उर्जा उत्पादन उद्योगधन्दा, कलकारखाना खोलेर यतै रोजगार र उत्पादन वृद्धि गर्छु भन्ने संकल्प गर्न सकेन । 

धेरै देशका लागि कोभिड शिक्षा भएको छ । आर्थिक उन्नतिका लागि ईख भएको छ । जनतामा मेहनतमाथि झन् मेहनत थप्ने माध्यम भएको छ । विश्वका ठूला राजनेताहरु जनताको अपेक्षा पूरा गर्न नसकेकोमा पश्चाताप गर्दै धरधरी रोएका छन् । हाम्रोमा काम नगर्ने, राजनीतिका नाममा दलालीको रोटी सेक्नेका लागि एउटा निहुँ भएको छ । लकडाउन गर्ने दुई दिनअघिसम्म तमासको भीड गरेर दिनमै चार ठाउँ भाषण गर्ने प्रधानमन्त्रीको नैतिकतामाथि कसले प्रश्न उठाउने रु आफ्नो सत्तायात्राका लागि लाखौं जनता मोटरमा ओसारेर काठमाडौं ल्याउने राजनीतिक नेतृत्व लकडाउनमा हातमुख जोर्ने समस्याका त्रासले यहाँबाट बाहिरिँदा नाकमुख नदेखाउनुपर्ने चाहिँ किन रु आफ्नै मतदातालाई स्यानिटाईजर र मास्क बाँड्ने न्यूनतम कर्तव्यबाट पनि किन उनीहरु च्यूत छन् ?

नेपालको स्वास्थ्य अवस्था भारतकै हाराहारीमा पुग्ने लक्षण देखा परेको छ । देशका कुनै अस्पतालमा आईसीयू बेड खाली छैन । थुप्रै जिल्लामा कार्यरत डाक्टरले हात उठाएका छन । शिशु, बालक, किशोर वयका रोगीले अनाहकमा ज्यान मिल्काउनु परेको दृश्य कहालीलाग्दो बनेको छ । भारतमा रोजगार गर्न गएकाहरु पीडित भएपछि हजारौं फर्किरहेका छन । नूनदेखि सुनसम्म बोकेर आएका भारतीय गाडीमा हजारौं भारतीयको दोहोरीलत्त आउजाउ छ । नेपालमा अरु सबै सम्भव छ तर भारतीय आयात रोक्ने सम्भावना छैन । नेपालीका घरआँगनमा गफ बाहेक अरु चीज उत्पादन हुँदैन । बरु यस्तो महामारीमा पनि सत्ताको लुछाचुँडीमा केन्द्रीय राजनीति अलमलिएको छ ।

सरकार जोगाउन प्रदेश सांसद अपहरण गरेर अस्पताल भर्ना गर्ने सम्मका खेल हुन थालेका छन् । मुलुकको कार्यकारी प्रधानमन्त्रीमा कर्तव्यबोधभन्दा आत्मरतिले घर गरेको देखिन्छ । सबैथोकको समाधान बन्नुपर्ने राजनीति सधैं समस्याको चुरो भएर उभिएको छ । नेताका सोख, कमजोरी लोकतन्त्रको अनुहार भएर प्रकट हुन्छन । रुपमा अलग देखिए पनि सबै दलका नेताको सार समान हो । सरकारले गर्देला भन्ने सोच नराखौं । आत्मअनुशासन कायम गरौं । यो नै कोरोनाबाट मुक्ति हुने उपाय हो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।