Logo

बागमती प्रदेश

ललितपुर महानगरपालिकाको फुटपाथ खाली गराउने अभियान सञ्चालन



ललितपुर महानगरपालिकामा पछिल्लो समय फुटपाथ खाली गराउने अभियान सञ्चालन भएको छ । कोरोना महामारीका कारण कतिपयले सार्वजनिक सवारी साधन प्रयोग गर्न असहज महसुस गर्दै दुई÷चार किलोमिटरको दुरीसम्म पैदल यात्रालाई नै प्राथमिकता दिन थालेपछि महानगरपालिकाले फुटपाथलाई खाली गराउन थालेको हो ।

ललितपुर महानगर अन्तर्गतको नगर प्रहरीले पैदलयात्रुलाई हिँड्न सजिलो होस् र यात्राका क्रममा समेत भौतिक दूरी कायम राख्न सहज होस् भनेर फुटपाथलाई खाली गराउने अभियान सञ्चालन गरेको छ ।खासगरी अवकाशप्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथुले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि नगर क्षेत्रभित्र पैदलयात्रीलाई सहज होस् भन्ने उद्देश्यले फुटपाथ ‘क्लियर’ गराउने अभियान अघि सारेका हुन् । 

प्रहरी सेवामा रहँदा लामो समय ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हालेर प्रशंसनीय कामसमेत गरेका हाछेथुले ललितपुर महानगरभित्र फुटपाथ अतिक्रमण गरी राखिएका व्यापारिक सामान हटाउन लगाउने, नियमविपरीतका होर्डिङ बोर्ड हटाउनेजस्ता काम सुरु गरेका छन् ।

जिम्मेवारी सम्हालेको छोटो समयमै उनले कुपण्डोलदेखि कुमारीपाटीसम्मको फुटपाथलाई क्लियर बनाएका छन् । उक्त सडकखण्डको फुटपाथ हाल अतिक्रमण मुक्त भएको छ । वडा कार्यालयहरुको समन्वयका आधारमा क्रमशः विभिन्न क्षेत्रमा यो अभियानलाई विस्तार गर्दै लैजाने योजना बनाएका हाछेथुले नगरपालिकाका जनप्रतिनिधिहरुले निर्वाचनमा नगरबासीसामु गरेको बाचाअनुसार नै नीति–नियमभित्र रहेर नगर क्षेत्रलाई सफा, व्यवस्थित र अनुशासित बनाउने दिशामा भूमिका निर्वाह गर्ने तयारी थालेका छन् ।

नगर प्रहरीको गरिमा बढाउनु मुख्य चुनौती : नगर प्रहरी भन्नासाथ साइकलमा फलफूल तथा तरकारी बेच्ने व्यापारीको सामान खोस्ने, फुटपाथतिर नाङ्लोमा पसल थाप्नेहरुको सामान जफत गर्ने, तिनीहरुलाई लखेट्ने भन्नेजस्तो दृष्य जो कोहीको मस्तिष्कमा आउँछ ।

ललितपुर नगर प्रहरीले भने त्योभन्दा पृथक पहिचान बनाउने कोसिस गरेको छ । रौतहटबाट आएर विगत ६ वर्षदेखि जावलाखेल आसपास साइकलमा राखेर फलफूल बेच्दै आएका बेचन साहले केही दिन यता, दैनिकजसो आफूलाई नगरप्रहरीले मुख्य चोक तथा सडकमा बसेर यसरी बेच्न पाइँदैन भनेर सम्झाइ–बुझाई गर्दै आएको बताए  । 

‘उनिहरु आएर हालखबर सोध्नुहुन्छ अनि आफ्ना कुराहरु राख्नुहुन्छ,’ उनले भने, ‘उहाँहरुको कुरा पनि ठिकै हो, सधैँ अटेर गरेर बस्ने कुरा हुँदैन, विकल्प सोच्दैछु ।’
नगर प्रहरीको व्यवहार देखेर नै आफूलाई यसरी धेरै दिन अटेर गर्नु ठिक होइन भन्ने लागेको उनको भनाइ छ । ‘उनिहरुको ठाउँमा म नै भएको भए मैले यतिदिन मौका दिन्नथेँ होला,’ उनले भने, ‘नगर प्रहरी आउनासाथ भागाभाग हुन्थ्यो, सामान खोसेर लैजाने, फाल्ने गर्छ भन्थे तर अहिलेसम्म उनिहरुले त्यस्तो गरेका छैन् ।’

नगर प्रहरी प्रमुख हाछेथु ललितपुर नगर प्रहरीलाई अनुशासित, मर्यादित र जिम्मेवार संगठनका रुपमा स्थापित गर्दै महानगरपालिकाले तोकेको जिम्मेवारी पूरा गर्न आफूले सक्दो पहल गर्ने बताए  । नगर प्रहरी भनेको कसैको रोजीरोटीको दुश्मन वा कसैको शत्रु नभएर नगर क्षेत्रको सुरक्षा अंगमात्र हो भन्ने सन्देश दिने गरी आफ्नो कार्यशैलीलाई निर्धारण गरिने उनको भनाइ छ । राम्रो बोली–व्यवहारबाट सुधार सम्भव हुन्छ भन्ने सन्देश ललितपुर नगर प्रहरीले प्रवाह गर्ने उनले बताए ।

‘नगर प्रहरी भनेको स्थानीय सरकारको मेरुदण्डजस्तै हो,’ उनले भने, ‘नगर क्षेत्रमा रहेका सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने, नगर क्षेत्रलाई स्वच्छ र सभ्य तुल्याउने, फुटपाथमा गरिएका अतिक्रमण हटाउने जस्ता काममार्फत नगरकै सभ्यता बढाउने भूमिका नगर प्रहरीको हुन्छ ।’ 

जिम्मेवारी सम्हालेको केही सातामात्र भएका कारण पनि आफूले हाल नगरभित्र सुधारका लागि चाल्नुपर्ने कदमबारे अध्ययन र योजना तर्जुमा गरिरहेको जनाउँदै हाछेथुले विस्तारै परिणामहरु आउन थाल्ने बताए ।नगर क्षेत्रभित्र सडकमा निर्माण सामग्री राख्न नदिने, सडकमै राख्नुपर्ने अवस्था भएका क्षेत्रका हकमा रातिमात्र काम गर्ने गरी सशर्त राख्न दिने योजनाका साथ हाल जनचेतना जगाउन थालिएको उनको भनाइ छ ।

साइकल गस्ती : हाल १० वटा साइकलबाट नगर प्रहरीले दिनभर गस्ती गर्दै आएको छ । ललितपुर महानगरपालिकाले ‘साइकल लेन’ समेत सञ्चालनमा ल्याएका कारण पनि नगरप्रहरीले साइकल प्रयोगकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले गस्तीका लागि साइकल प्रयोग गर्न थालेको हो । ‘साइकल भनेको वातावरणमैत्रीमात्र नभएर शारीरिक स्फूर्तिका लागि पनि आवश्यक हुन्छ,’ हाछेथु भन्छन्, ‘महानगरपालिकाले साइकल लेन नै छुट्याएको अवस्थामा नगर प्रहरीले गस्तीका लागि अन्य सवारीसाधनको तुलनामा साइकललाई नै महत्व दिएको हो ।’ नगर क्षेत्रका गल्ली गल्लीमा पुग्न सहज हुने भएकाले साइकल गस्ती प्रभावकारी हुने उनको भनाइ छ ।

 

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  ४ : २१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।