Logo

राजनीति

नागरिकता अध्यादेश : फिजीकरण के हो ? कसरी हुन्छ नेपाल फिजीकरण ?  



मुलुकमा जब-जब नागरिकतासम्बन्धी विधेयकको कुरा उठ्छ, तब-तब चर्चा आउने गर्छ, फिजी अथवा फिजीकरण । नागरिकतासम्बन्धी विधेयकको विरोध गर्नेहरुले भन्‍ने गरेका छन् – नेपाललाई पनि फिजिकरण बनाउन लागिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो यसअघिको विचारबाट ‘यू-टर्न’ हुँदै सत्ता जोगाउनका लागि नागरिकतासम्बन्धी (पहिलो संसोधन) अध्यादेश जारी गर्न सिफारिस गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रधानमन्त्री ओलीको सिफारिसमा संसद्‌‌‌मा विचाराधिन रहेको नागरिकता विधेयकलाई बेवास्ता गर्दै अध्यादेश जारी गरिन् । ओली प्रधानमन्त्री भएपछि संसद् विघटन गर्ने र अध्यादेशबाट शासन शैली अब धेरै अस्वभाविक लाग्‍न छोडेको छ ।

यसपटक पनि नागरिकतासम्बन्धी अध्यादेश जारी भएपछि विपक्षी दलहरु, नागरिक समाज, संविधान र कानुनविज्ञहरुले प्रधानमन्त्री ओलीले ‘नागरिकतासँग सत्ताको सौदाबाजी गर्नै मुलुक फिजीकरणको यात्रातर्फ अघि बढाउन लागेको भन्दै आलोचना गरिरहेका छन् । 

के हो फिजीकरण ? 

करिब ९६ वर्ष बेलायती उपनिवेश रहेको फिजी १० अक्टोबर १९७० मा स्वतन्त्र मुलुक बन्यो । साउथ प्यासिफिक ओसियनसँगै टोंगा र भानुआटुको बीचमा अवस्थित फिजीमा १० अक्टोबर सन् १८७४ मा बेलायतले उपनिवेश कायम गरेपछि सर आर्थर हेमिल्टन गोर्डनलाई फिजीको बेलायती गर्भनरको जिम्मा दिइयो । सन् १८८० सम्म फिजीका लागि बेलायती कमाण्डर इन चिफसमेत रहेका गोर्डनले अस्ट्रेलियन-बेलायती लगानी रहेको चिनी उद्योग र उखु खेतीका लागि भारतबाट कृषि मजदुर लगेका थिए । त्यस समय भारत पनि बेलायतको उपनिवेश नै थियो ।

विश्‍व राजनीतिमा बेलायती उपनिवेशबाट सन् १९७० मुक्त भएको फिजी फिजियनहरुको हकहितको संरक्षण गर्ने संवैधानिक व्यवस्थासहितको स्वतन्त्र मुलुक बन्यो । फिजी स्वतन्त्र भएसँगै सन् १९७० को १० अक्टोबरकै दिन रातु् सर कामिसेसे मारा प्रधानमन्त्रीमा नियुक्त भए । सन् १९७० को संविधान अनुसार नै सन् १९७२ मा पहिलो आम निर्वाचन सम्पन्‍न भयो । ५२ सिटका लागि भएको निर्वाचनमा कामिसेसेले नेतृत्व गरेको अलाइन्स पार्टी ३३ सिटसहित विजयी बन्यो र सरकार गठन भयो । फिजी स्वतन्त्र भएसँगै भारतबाट मजदुरका रुपमा लगिएका भारतीयहरु र फिजियनहरुबीच तनाव उत्पन्‍न भयो विद्रोह हुन थाल्यो ।  

सन् १९८७ को फिजीको जनसंख्या अनुसार फिजियन आदिवासीहरुको ४६ प्रतिशत थिए भने भारतीय-फिजीहरु ४९ प्रतिशत थिए । भारतीय-फिजीका बहुल जनसंख्याकै आधारमा अप्रिल ४ देखि ११, १९८७ मा भएको निर्वाचनमा आदिवासी फिजीयन प्रधानमन्त्री कामिसेसे पराजित भए भने फिजी लेबर पार्टीले बहुमत २८ सिटमा जित हात पार्‍यो । त्यसपछि लेबर पार्टीका नेता तोमिसी बभद्रा प्रधानमन्त्रीमा निर्वाचित भए । यो कुरा सेनालाई मन परेको थिएन । १४ मेमा सेना प्रमुख लिफ्टेनिन्ट कर्णेल सिटिभेनी राबुकाले सत्ता हातमा लिए । 

सेना प्रमुख राबुका र अलाइन्स पार्टीको सहमति र सर्वोच्चको आदेश अनुसार २३ सेप्टेम्बर १९८७ मा राष्ट्रिय सहमतिको सरकार बनाउने सम्झौता भयो । पहिलो कू को त्रास नहट्दै राबुकाले २५ सेप्टेम्बरमा दोस्रो पटक कू गरे र ७ अक्टोबर १९८७ मा फिजीलाई गणतन्त्रात्मक मुलुक घोषणा गरे । ६ डिसेम्बर १९८७ मा उनले आफूलाई गणतन्त्र फिजीको पहिलो राष्ट्रपति घोषणा गरे । भारत फिजीभन्दा २३ वर्षअघि नै स्वतन्त्र भएको थियो ।  विद्रोहका बीचमा सन् १९८७ मा दोस्रो आम निर्वाचन भयो । 

उक्त कूको संयुक्त राष्ट्र संघले पनि निन्दा गर्दै निर्वाचित सरकार पुनर्स्थापनाको माग गरियो । सन् १९९० मा नयाँ संविधान जारी भयो । जसमा प्रधानमन्त्री र राष्ट्रपतिको व्यवस्था भयो भने संसद्मा दुई तिहाइ सांसद् आदिबासी फिजीहरु हुनुपर्ने प्रावधान राखियो । नयाँ संविधान जारी भएपछि सन् १९९२ मा भएको आम निर्वाचनमा आदिवासी फिजीहरुले नै जित हात पारे । संसद्‌मा दुई तिहाइ आदिबासी फिजीहरुको प्रतिनिधित्व हुनुपर्ने प्रावधानविरुद्ध चर्का आन्दोलनहरु भए । भारतले यसमा सक्रिय भूमिका खेल्यो । सन्  सन् १९९२ मा फिजी सरकारविरुद्ध आन्दोलन चर्किएपछि भारतीय सत्ताको दबाबमा संविधान रिभ्यु कमिशन बनाउन बाध्य भयो । उक्त कमिसनको प्रतिवेदन अनुसार सन् १९९७ मा सबै फिजीहरुलाई समानरुपमा हेरिने र संसद्मा सबैको समान प्रतिनिधित्व हुने प्रावधानसहित संविधान संशोधन भयो । संविधान संशोधनपछि सन् १९९८ मा भारतबाट मजदुरीका लागि लगिएकाहरु फिजीको नागरिकता उपलब्ध गराइयो। उनीहरुलाई फिजी नागरिकसरह सम्पूर्ण राजनीतिक सुविधाको अधिकार सुनिश्‍चित गरियो । 

सन् १९९८ मा सबै आप्रवासीहरुलाई नागरिकता उपलब्ध गराइएपछि सन् १९९९ मा भएको आम निर्वाचनमा भारतीयमुलका महेन्द्र चौधरी प्रधानमन्त्रीमा निर्वाचित भए । सन् १९०२ मा महेन्द्र हजुरबुबा भारतको हरियाणानिवासी रामनाथ चौधरीलाई मजदुरिका लागि फिजी लगिएको थियो । सन् १९७७ देखि भारतीय आप्रवासीविरुद्ध लागेका राष्ट्रवादी फिजियनहरू चौधरी सरकारलाई मान्‍न तयार नहुँदा राजधानी सुभा अशान्त हुन पुग्यो । संसद्मा राखिएको अविश्वास प्रस्तावलाई चौधरीले पैसाको बलमा पराजित गरी दिए । राष्ट्रवादी व्यापारीहरूको नेता जर्ज स्पाइग्टबाट अपहरणमा परे भने सन् २००० मा महेन्द्र चौधरी सेनाद्वारा सत्ताच्युत गराइए । करिब ४० प्रतिशत भारतीय आप्रवासीलाई फिजीको नागरिक बनाउन दबाब दिने भारतीय सत्ताले फिजीको सरकारी कामकाजको भाषा हिन्दी बनाएकोमा राष्ट्रवादी फिजियनहरू असन्तुष्ट थिए । त्यसको परिणाम नै सन् २००० को सैन्य कू भएको बताइएको छ । 

मजदुरीका लागि बेलायती शासकले फिजी पुर्‍याइएका भारतीयहरु फिजीको सत्ता कब्जा गर्न थालेको कुरालाई नै उदाहरण दिँदै नेपालमा पनि राजनीतिक संकट र चुनावअगावै नागरिकता अध्यादेश जारी भएपछि फिजीकरणको चर्चा हुन थालेको हो । फिजीमा बाहिरी मुलकको नागरिकलाई सत्ता दिन फिजीयन तयार भएनन् बरु सत्ता सेनालाई सुम्पिए । यो अवस्था नेपालमा पनि आउनसक्ने भन्दै फिजीकरणको उदाहरण दिने गरिएको छ । 

अहिले फिजीमा फिजीयन अंग्रेजी, हिन्दीलाई राष्ट्रिय भाषा मानिएको छ भने स्थानीय रातुमानलाई क्षेत्री भाषाकोरुपमा पहिचान गरिएको छ । फिजीमा हाल ५६ प्रतिशत आदिबासी फिजीयन छन् भने ३७ प्रतिशत भारतीय मुलका फिजीहरु रहेका छन् ।

नागरिकतासम्बन्धी अध्यादेश : प्रक्रिया पूर्ण गलत छ, मुलुक फिजी बन्‍नसक्छ

 

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ७ : ०१ बजे