Logo

अर्थ

आयातमा थप कडाइ : आयातमा मात्र बैंकहरूले प्रवाह गरे एक खर्ब ५३ अर्ब रुपैयाँ ऋण



नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनलाई हेर्ने हो भने मुलुकमा विदेशी मुद्राको सञ्चिति कमजोर बन्दै गएको छ ।

उक्त प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव दुई प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा ११ खर्ब ७३ अर्ब दुई करोड रुपैयाँमा झरेको छ ।

अमेरिकी डलरमा पनि यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७ प्रतिशतले कमी आई नौ अर्ब ७५ करोडमा झरेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ माघ मसान्तमा १७ दशमलव सात प्रतिशतले कमी आई १० खर्ब २४ अर्ब ६० करोड कायम भएको छ ।

प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ माघ मसान्तमा तीन दशमलव नौं प्रतिशतले कमी आई एक खर्ब ४८ अर्ब ४२ करोड कायम भएको छ ।

उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/०७९ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिना चार दिनको वस्तु आयात र छ महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यसरी विदेशी मुद्राको सञ्चिति क्रमिकरुपमा घट्न गई भुक्तानी सन्तुलन नै बिग्रिने अवस्थामा पुगेपछि निकै दबाब महसुस गरेको राष्ट्र बैंकले अत्यावश्यकबाहेकका वस्तु तथा सेवा आयातमा कडाइ गर्न नीति लिएको छ ।

सोहीअनुरुप विलासी वस्तुको आयात, सवारीसाधनको आयात आदिमा प्रतीतपत्र अर्थात् एलसी नखोल्न राष्ट्र बैंकले लिखित तथा मौखिकरुपमा निर्देशन दिइरहेको छ ।

तर यहीबीचमा बैंक तथा फाइनान्स कम्पनीहरुले भने वस्तु आयातमा मात्र एक खर्ब ५३ अर्ब २१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुले चालू आवको सात महिनाको अवधिमा ४८ खर्ब ७७ अर्ब ५९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

जसबाट ४६ खर्ब ९० अर्ब ४८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह हुँदा आयात शीर्षकमा मात्र एक खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिएको हो ।

विकास बैंक र फाइनान्स कम्पनीहरुले खासै एलसीको कारोबार नगर्ने हुँदा वाणिज्य बैंकहरुले मात्र सो अवधिमा ४३ खर्ब ११ अर्ब २९ करोड ९२ लाख रुपैैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ६३ अर्ब ३० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जसमध्ये वाणिज्य बैंकहरुले आयात अर्थात् ट्रष्ट रिसिट शीर्षकमा मात्र एक खर्ब ५३ अर्ब २१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा विकास बैंकहरुले भने चार खर्ब ७२ अर्ब २१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ३९ अर्ब १० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा आयातनिर्यात शीर्षकमा १० लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।

फाइनान्स कम्पनीहरुमा भने आयातनिर्यात कर्जाको अधिकार नहुने हुँदा यस्तो कर्जा शून्य रहेको छ । चालू आवको पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरुले भने ९४ अर्ब करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब आठ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । (आर्थिक दैनिकबाट)

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार ०६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।