Logo

गण्डकी प्रदेश : मुख्यमन्त्रीका लागि आधार पेश गर्न २४ घण्टा समय 



पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि २४ घण्टाको समय दिएकी छन् । शुक्रबार विज्ञप्ती जारी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले शनिबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्न जाजै जाने गरी तयारी गरिरहेका छन् ।

बैशाख २९ गते संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत मागेका थिए ।

६० सदस्यीय प्रदेश सभामा जम्मा २७ मत पाएका उनी स्वत पदमुक्त भए । मुख्यमन्त्री पदमुक्त भएको खबर प्रदेश कार्यालय सचिवालयले शुक्रबार पठाएलगतै प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको प्रक्रिया सुरू गरेकी हुन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १३:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।