काठमाडौं । नेपाली युवतीलाई भारतीय सेनामा भर्ती हुन पाउने प्रावधान गरिएको छ । यसअघि युवाहरुलाई मात्रै भारतीय सेनामा भर्ती हुन पाउन प्रावधान भए पनि पछिल्लो समय नेपाली युवतीहरुका लागि पनि भर्ती खुला गरिएको छ ।
काठमाडौंस्थित भारतीय दूतावास अन्तर्गतको कल्याणकारी शाखाले सोमबार एक विज्ञप्ति जारी गर्दै महिला सैनिक प्रहरीका लागि भर्ती आह्वान गरेको हो । आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिनसक्ने उक्त सूचनामा उल्लेख गरिएको छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा भर्ती छनोट हुने सूचनामा उल्लेख गरिएको छ ।
१७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएका युवतीले आवेदन दिन सक्ने जनाइएको छ । गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ भने वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ । सूचनामा सैनिक,भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस प्राप्त गर्ने जनाइएको छ ।
विरोध
भारतले यसरी नेपाली युवतीलाई पनि सेनामा भर्ती खुला गरेको भन्दै विरोध भइरहेको छ । नेकपा एमालेका नेता भीम रावलले भारतीय सेनामा नेपाली महिलाको आह्वान भएकोमा आपत्ति जनाउँदै यो आह्वान तत्कालीन ब्रिटिश इन्डियासँग गोर्खा भर्तीका विषयमा नेपालले गरेको सम्झौताविपरीत भएको जनाएका छन् ।
उनले भने, “गोर्खा भर्ती नै बन्द गर्नुपर्ने आवाज उठिरहेका बेला एकाएक महिलालाई पनि भर्ती गर्ने कुरा कहाँबाट आयो ? केपी ओली कहाँ हुनुहुन्छ ? उहाँको परराष्ट्र मन्त्रालय कहाँ छ ? के उहाँले सामन्त गोयलसँग बालुवाटारमा वार्ता गरेर सहमति गर्नुभएको हो ? राष्ट्रियताको यस्तो गम्भीर विषयमा सरकार मौन बस्न मिल्छ ?”
ब्रिटिश इण्डियासँग गरेको कुनै पनि सम्झौतामा नेपाली महिलालाई भारतले आफ्नो सेनामा लिनसक्ने कुनै प्रावधान नभएको नेता रावलले जनाएका छन् । उनले भने, “गोरखा भर्ती नै नेपालको सार्वभौमिकताविरुद्ध भएकाले यसलाई खारेज गर्नुपर्छ । सन्धी खारेज गर्न पहल गर्नुको साटो महिलाका लागि सूचना आह्वान गर्दासमेत सरकार मौन बस्नु खेदजनक छ ।
त्यसैगरि ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपालले भारतीय सेनामा अहिले आएर नेपाली महिलाको खोजी हुनु दुराशयपूर्ण रहेको जनाएका छन् । उनले नेपाली महिलालाई समेत लक्षित गरेर खुलाइएको भर्ती नेपाल बेलायत र भारतबीच भएको त्रिपक्षीय सन्धीविपरीत रहेको बताएका हुन् ।
उनले भने, “नेपाली युवतीहरूलाई समावेश गर्न खोज्नु राम्रो नियतले हुँदै होइन । न शोषण र मनोरञ्जनका लागि मात्र हो । गोर्खा भर्ती सम्बन्धमा नेपाल-भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतामा ‘गोर्खा जवान’ भनेर पुरुषलाई मात्रै इंगित गरिएको हो । अहिले नेपालसँग कुनै सल्लाह नगरी महिलाका लागि भर्ती खुलाउनु गम्भीर विषय हो ।
उनले नेपाली पुरुषजस्तो महिलाहरुले विश्वयुद्ध लडेर वीरङ्गनाका रुपमा कहलिएको अवस्था नभएको उल्लेख गर्दै यौनशोषणबाहेक अरु उद्देश्य हुनै नसक्ने जनाएका छन् । भारतीय दूतावासबाट जारी भनिएको सूचनाबारे सरकारले कूटनीतिक च्यानलमार्फत बुझेर रोक लगाउनुपर्ने उनको भनाइ छ ।

















प्रतिक्रिया