Logo

सिन्धुपाल्चोकको बाढीमा ज्यान गुमाएका सातमध्ये ६ जनाको सनाखत, अझै घटेन पानीको सतह 



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बेपत्ता भएका सातै जनाको शव भेटिएको हो । 

मृतकमध्ये ६ जनाको पहिचान खुलेको  र उनीहरु सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत रहेको डीएसपी सापकोटाले जानकारी दिए । मृत्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् ।

जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको छ ।  हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए । 

लार्केबाट मेलम्चीमा पानी ल्याउने भनिएको मुहानमा पहिरो गएर खोला थुनिएपछि मेलम्ची बजारमा पस्‍न थालेको हो । पहिलो बाढी आएको केही बेरमा हेलम्बुबाट बाढी आएको थियो । अहिले पनि खोलामा पानीको सतह घटेको छैन । मेलम्ची बजारको सडकको खोला छेउका घरहरु अधिकांश पानीभित्र छोपिएका छन् । दुई तलाका घरसम्म पानीले छोपिएका छन् । प्रदेश सरकारको पहलका करिब ८ करोडको लागतमा बनेर अन्तिम चरणमा पुगेको कर्भड हल पानीले पूरै छोपिएको छ । रेडियो मेलम्चीको तीन तलाको भवनमध्ये दुई तला पूरै पानीमा परेको छ ।

२ वटा पक्की पुल र ३ वटा कच्ची पुल बगिसकेको छ । केही बेरअघि मात्रै नेपाली सेनाको हेलिकप्टरले घरको छतमा फसेका दुईजनाको उद्धार गरेको थियो । बाढीमा परि घाइते भएका तीन चिनियाँसहित ६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर काठमाडौं ल्याइएको छ । 

प्रकाशित मिति : २ असार २०७८, बुधबार १२:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।