Logo

अनलाइपाना बुलेटिन : देशभर कहाँ के भयो ? 



आज देशभर बाढी तथा पहिरोले ठूलो जनधनको क्षति भएको छ । सिन्धुपाल्चोक, मनाङ, कास्कीलगायतका जिल्लाहरुमा बाढी तथा पहिरोले क्षति पुर्‍याएको हो । 

देशभर बाढी र पहिरोमा परि १३ जनाको मृत्यु, सिन्धुपाल्चोकमा बेपत्ता भएका सात जनाको शव भेटियो 

देशभर बाढी र पहिरोमा परि १३ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा सोमबारदेखि सुरु भएको अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीमा परि बेपत्ता भएका सात जनाको शव फेला छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार सातमध्ये ६ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरूमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु–३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु–६ का च्याङ्बा तामाङ छन् । उनीहरु ट्राउट माछा फार्ममा कार्यरत थिए । त्यसैगरि बाढी र पहिरोमा परि काभ्रेमा २ जना, सिन्धुलीमा एकजना, बर्दीयामा एकजना, गोर्खामा एकजना र डोटीमा एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाढीमा परि घाइते भएका तीन चिनियाँसहित ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । बेपत्ता हुनेहरुको संख्या भने अझै यकिन हुन सकेको छैन । 

मानवबस्तीमा बाढी र पहिरोको वितण्डा, राजमार्ग अवरुद्ध

सोमबारदेखिको अविरल वर्षाका कारण देशभर बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ । बाढी र पहिरोले सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति पुर्‍याएको छ । त्यसैगरि मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको नासो गाउँपालिका कार्यालय, प्रहरी चौकी, प्रभु बैंकको कार्यालय, प्राइम बैंकको कार्यालय, केही घर र होटलहरू बगाएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार ताल गाउँका करिब ५० घर डुबानमा परेका छन् । अविरल वर्षाले आएको बाढीपहिराबाट पर्वतका विभिन्न बस्तीका घरमा क्षति पुर्‍याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । पहिराका कारण जिल्लाभरका खोलानालामा बाढी आएको छ भने अधिकांश सडक अवरुद्ध बनेका छन् । कास्कीमो मादी गाउँपालिकाको मादी खोलामा निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनामा चारवटा एक्स्याभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट, तीनवटा क्रस, बगाएको छ । कास्कीको मद्नी खोलामा आएको बाढीले हुँगुमा रहेका भेंडिगोठसँगै तीन सयवटा भेंडाबाख्रा बगाएको छ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ५ को सेतिवेणी बजार डुवानमा परेको छ । डुबानबाट ८ घर पूर्णरुपमा क्षति भएका छन् । त्यसैगरि गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचकभन्दा माथि पुगेको छ । पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेपछि ५६ वटा ढोकाहरू खोलिएका छन् । 

२५० जना सुरक्षाकर्मीको टोली मेलम्चीमा, बाढी पहिरोपीडितको उद्धार र राहतमा खटिन कार्यकर्तालाई नेताहरुको निर्देशन

तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोकको मेलम्चीमा पुगेको छ । बाढीले तनसनहस पारेको क्षेत्रमा हेलिकोप्टर पुगेको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले  जानकारी दिए । बिहानै सेनाको तालिमप्राप्त टोलीसहित हेलिकोप्टर पुगेको हो । प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार उद्धारका लागि चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ । देशभर बाढी र पहिरोले धनजनको क्षति पुर्‍याएपछि उद्धार र राहतमा खटिन राजनीतिक दलहरुले आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले अलग–अलग विज्ञप्ति जारी गर्दै उद्धार र राहतमा खटिन निर्देशन दिएका हुन् । 

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि दिल्ली प्रस्थान, अपोलोमा उपचार हुने 

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । पूर्वप्रधानमन्त्री खनाललाई बुधबार साढे १२ बजे नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली लगिएको हो । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा सोमबार भर्ना खनालको स्वास्थ्यमा सुधार नभएछि बुधबार दिल्ली लगिइएको हो । उपचारमा संलग्न चिकित्सकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो । उनको ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो । उनलाई दिल्लीको अपोलो अस्पतालमा उपचार गराइने भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने, विश्वासको मतपछि मन्त्रालय बाँडफाँट गरिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले असार ४ गते विश्वासको मत लिएर मात्रै मन्त्रिमण्डल विस्तारका साथै बाडफाँट गर्ने बताएका हुन् । मन्त्रालय बाँडफाँटपछि प्रदेशसभामा बजेट छलफल अघि बढाइने भएको हो । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेल नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गठबन्धनमा रहेको दलमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने तर गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएको छ । अरु दलहरुलाई मन्त्रालय भागबण्डा गरिने भएको छ । जेठ २७ गते पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएपछि पोखरेल ३१ प्रदेशसभा सदस्यको समर्थनमा जेठ २९ गते मुख्यमन्त्तीमा नियुक्त भएका थिए । 

देशभर दुई हजार ८२८ कोरोना संक्रमित थपिए, तीन हजार ८२ कोरोना संक्रमणमुक्त 

पछिल्लो २४ घन्टामा देशभर दुई हजार ८२८ जना कोरोना भाइरस (कोभिड–१९)संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार २२ नमूनामा दुई हजार २८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा तीन हजार ८२  जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ । देशभर कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ ।

५२ अंकले घट्यो नेप्से, १५ अर्ब ४८ करोडको सेयर किनबेच

नेप्से तीन हजार अंकबाट तल झरेको छ । अघिल्लो दिन तीन दशमलव ७२ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन बुधबार ५२ दशमलव ४१ अंकले घटेर २९ सय ६९ दशमलव ६९ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५६ अंकले घटेर पाँच सय ४१ दशमलव ७० अंकमा पुगेको छ । दुई सय १९ वटा कम्पनीको एक लाख ६७ हजार नौ सय ३८ पटकको कारोबारमा दुई करोड ८२ लाख ८९ हजार एक सय २८ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार तीन सय १९ रुपैयाँ पुगेको छ । आज १३ वटा समूहको कारोबार भएकामा लघुवित्त समूहको सूचक एक सय ३९ दशमलव ७४ अंकले बढेर बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ३३ अंकले घटेर एक हजार नौ सय ८१ दशमलव ४७ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक चार सय तीन दशमलव १३ अंकले घटेर १५ हजार ८१ दशमलव ४५ अंकमा पुगेको छ ।

महामारी र तुफानका कारण उत्तर कोरियामा खाद्य संकटको अवस्था सिर्जना 

उत्तर कोरियाली नेता किम जोङ उनले कोरोना महामारी र तुफानले गर्दा खाद्य संकट सिर्जना भएको बताएका छन् । सत्तारुढ वर्कस पार्टीको केन्द्रीय कमिटी बैठकको अध्यक्षता गर्दै नेता किमले मंगलबार यस वर्ष मुलुकको अर्थतन्त्रमा सुधार भए पनि कोरोना भाइरस र गत वर्षको तुफानका कारण खाद्य संकट सिर्जना भएको बताएका हुन् । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार मुख्य नीति र आर्थिक मुद्दाहरुको समाधानका लागि अपनाइएका प्रक्रियाहरुको समीक्षाका लागि बसेको बैठकमा नेता किमले आर्थिक सूचकहरुमा सुधार भएको बताएका हुन् । नेता किमले पहिलो अर्धवार्षिक समीक्षाका क्रममा समग्र आर्थिक सुधार भएको बताएका हुन् । तर, गत वर्षको तुफानले कृषि उत्पादनमा ठूलो क्षति पुर्‍याएपछि खाद्य अवस्था तनावपूर्ण बन्ने स्थिति सिर्जना भएको उनले बताएका छन् । 

देशका अधिकांश भागमा अझै तीन दिन भारी वर्षा हुने 

जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

प्रकाशित मिति : असार २, २०७८ बुधबार  ८ : २० बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।