काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कालो पुलको मुनि सडकमा पानी जम्न थालेको एक वर्ष भइसकेको छ । पुल माथि राखिएको खानेपानीको पाइप लिक भएर यहाँ पानी जम्ने गरेको छ । एक वर्षदेखि पाइप फुटेर पानी चुहिँदै सडकमा जम्न थालेको एक वर्ष भइसक्दा पनि समस्या समाधान गरिएको छैन ।
पाइपबाट कालो पुल मुनि दैनिक हजारौँ लिटर खानेपानी खेर गइरहेको छ । जसले गर्दा मोटरसाइकल तथा साइकल चालक र पैदल यात्रीलाई समस्यामा भएको छ । पुल मुनि सडकमा जमेको पानीले खाल्डो समेत पर्न थालेको छ । उक्त बाटो हुँदै आउनेहरुलाई सडक हिलो भएर यात्रामा कठिनाइको सामना गर्नु परेको छ ।
कार र ट्याक्सी चालकहरुले यसको फाइदा उठाउँदै पाइपको मुनि राखेर गाडी धुने गरेका छन् । जसका कारण बेलाबेला बाटो अवरोध हुने गरेको छ । तर, सरोकारवालहरुले भने यसको कुनै समाधान गर्न सकेका छैनन् ।
उनीहरुले आफू पन्छिँदै अर्कोलाई दोष दिइरहेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा वडाध्यक्ष शुद्ध डंगोलले उक्त समस्याको समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई आग्रह गरे पनि समस्याको समाधान नभएको बताए ।
उनले भने, “खानेपानीलाई समस्या समाधान गर्न भनेको टाल्न सक्दैन । बीचमा एकपटक टालेको थियो, फेरि समस्या उस्तै छ । उहाँहरूलाई भन्दा पाइप पुरानो भएर समस्या भएको भन्नुहुन्छ ।”
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को महांकाल शाखा प्रमुख उमेश मरहट्ठाले पुरानो पाइप र पुल हल्लिने कारणले गर्दा समस्याको समाधान हुन नसकेको प्रतिक्रिया दिए । उनले पहिले करिब एक वर्षदेखि सोही समस्या देखिँदै आएको उल्लेख गर्दै उनले समस्या समाधान गर्ने तयारी भइरहेको बताए ।
विगत एक वर्षदेखि तयारी मात्र गरिरहनुभएको हो ? भन्ने प्रश्नमा उनले भने, “पाइप पुरानो भएको छ । त्यो साइजको पाइप नै पाइँदैन । केही समयअघि त्यसमा सीसा हालेर टाँलेका थियौँ । तर त्यो पनि दीर्घकालीन समाधान भएन । अझै त्यसमा माथिबाट गाडिले पुल हल्लाउँछ । जग नै परिवर्तन गर्ने वा नगर्ने भन्ने टुङ्गो नै नभएर हो । त्यही पनि कुरा उठाउनु भयो हामी टाल्ने प्रयास गर्छौं ।”















प्रतिक्रिया