Logo

सूचना/प्रविधि

पेगासस : भारतका लागि नेपाली राजदूतको पनि फोन ट्यापिङ्, किन गरियो जासुसी ? 



साइबर सुरक्षासम्बन्धी इजरायली कम्पनी एनएसओले तयार पेगासस प्रकरण अहिले चर्चामा आएको छ । पेगासस स्पाइवेअर विश्वका विभिन्‍न मुलुकका ५० हजारभन्दा बढीको फोन नम्बरमा अनधिकृत रुपमा प्रवेश गरेको पाइएको छ । जसमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको हुन सक्ने भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

इजरायलस्थित गैरसरकारी एनएसओ ग्रुपले निर्माण गरेको जासुसी प्रविधि कम्पनी ‘पेगासस’ मार्फत भारत सरकारले आफ्ना विरोधीहरुका बारे गरिएको जासुसीमा दिल्लीमा रहेका नेपाली, चिनियाँसहितका कूटनीतिक नियोग प्रमुखहरुको समेत पछिल्लो चार वर्षको अवधिको ‘फोन–ट्यापिङ’ भएको सूचना बाहिरिएको हो । 

फ्रेन्च पत्रिका ‘ले मोन्डे’ले सोमबार सार्वजनिक गरेको समाचारमा, दिल्लीस्थित थुप्रै राजदूतहरुले विभिन्न समयमा गरेको संवाद तथा राजनेता, मानवअधिकारकर्मी, सांसद, पत्रकारको फोन नम्बरसहितको सूची ‘पेगासस’मा रहेको छ । ‘ले मोन्डे’मा प्रकाशित फ्रेन्च भाषाको समाचारको अनुवाद पठाउँदै पेरिसस्थित कान्तिपुरकर्मी ददी सापकोटाले जनाएअनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मद्दत पुग्ने गरी ‘पेगासस’ मार्फत गुप्तचरी गरिएको जनाइएको छ ।

विश्वकै ठूलो लोकतन्त्र मानिएको भारतमा सरकार सञ्चालनको पद्धति जासुसी र गुप्तचरीका भरमा चलिरहेको यो घटनाको आलोचना गर्दै विश्वका प्रतिष्ठित मिडियाहरुले चर्को निन्दा गरेका छन् । ‘जासुसीका लागि सन् २०१७ यताका प्रमुख दुई हजार वटा मामिलालाई छनोट गरिएको र भारत–पाकिस्तानका मामिलामा सूचना संकलनमा पत्रकार, नेता, कूटनीतिज्ञसहितलाई उपयोग गरिएको ले मोन्डेमा उल्लेख गरिएको छ । यो जासुसी सफ्टवेयर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१७, जुलाइमा भएको इजरायल भ्रमणपछि थालिएको जनाइएको छ ।

‘विशेषगरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानका फोन नम्बरहरु, भारतमा विपक्षी दलका नेता राहुल गान्धी र दिल्लीस्थित इरान, अफगानिस्तान, चीन, साउदी अरेबिया, नेपालसहितका राजदूतका सम्पर्क तथा युनिभर्सिटी अफ दिल्लीका प्राध्यापक (हाल स्वर्गीय) साइद अब्दुल रहमान गिलानीका सन् २०१९ अक्टोबर(उनको मृत्यु समयसम्म)का संवादका रेकर्डहरु ‘पेगासस’मा पाइएको छ,’पत्रिकाले लेखेको छ । 

पाकिस्तान, चीनजस्ता मुलुकसँग भारतको असहज सम्बन्ध रहेको र यही कारण जासुसी गतिविधि गरिएको मान्‍न सकिए पनि नेपालसहितका मित्रवत मुलुकका हकमा राजदूतमार्फत गरिएको ‘गुप्तचरी’ लाई ‘ले मोन्डे’ले पनि अनौठो भन्दै समाचार बनाएको छ ।

‘यो चर्चामा रहेको ‘पेगासस’ प्रकरणबारे सोमबार आफूले समाचारमा पढेको भए पनि आफ्नो जानकारीमा नरहेको बताएका छन् । ‘पेगासस’ले फोनको डेटाबेस तयार गर्ने क्रममा भारतीय ४० पत्रकारको समेत फोन ‘ट्याप’ गरेकोमा मुम्बई प्रेस क्लबले आपत्ति जनाउँदै यो जासुसी कामका बारेमा भारत सरकारले आफ्नो साथ–सहयोगका बारेमा केही नखुलाउनुले अझ संशय बढेको जनाएको छ । 

यस प्रकरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै एम्‍नेस्टी इन्टरनेशनलले विश्वको लोकतन्त्र नै संकटमा परेको जनाएको छ । यस किसिमका गतिविधिलाई रोक्‍न सम्पूर्ण विश्व एक हुनुपर्ने एम्‍नेस्टीको आग्रह छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।