Logo

अन्तर्वार्ता

कसरी रोक्ने विदेशिनबाट युवाहरुलाई, दक्ष जनशक्ति तयार गर्ने के छ फर्मुला ? (अन्तर्वार्ता)



काठमाडौँ । मुलुकमा देखिएको राजनीतिक अस्थिरता र बढ्दो अनिश्चिततासँगै अवसरको खोजीमा दिनहुँ हजारौँ श्रमशक्ति पलायन भैरहेका छन् । जीविकोपार्जन गर्न रोजगारी र अवसरको खोजीमा सम्भव भएसम्म विदेशमै स्थायी बसोबासको उद्देश्य साथ विदेशिने अझै धेरै छन् । देशको परिस्थिति बदिलिने सम्भावना नदेखेपछि १२ पास नगर्दै विदेश लम्किने मानसिकता विद्यार्थीहरुले बनाइरहेका भेटिन्छन् ।

रोजगारीको अवसर नहुँदा गुजारा टार्न धौधौ पर्नेहरू वैदेशिक रोजगारीमा जानु स्वाभाविक हो। तर सीप, शिक्षा र अवसर समेत पाएका, भएकाहरू पनि विदेशिएका छन् वा विदेशिन तम्तयार भएर बसेका छन् । जब द्रुत आर्थिक वृद्धि र जनताको अपेक्षा पूर्ति गर्न दक्ष जनशक्तिको चरम खाँचो छ, किन शिक्षित तथा शीपयुक्त व्यक्तिहरू आफ्नो करियर जन्मभूमिमा बनाउने विचार गर्दैनन् भन्ने प्रश्न पनि तेर्सिन थालेको छ ।

एकातिर रोजगारी नभेटिएर युवाहरु विदेश जान बाध्य छन् भने अर्कोतिर मुलुकभित्रका ठूला होटल, कलकारखाना, औधोगिक संस्थाहरुमा आवश्यक दक्ष जनशक्ति नपाइरहेको अवस्था छ ।आखिर यस्तो किन भइरहेको छ, दक्ष जनशक्ति कसरी तयार पार्ने र युवाहरुलाई विदेशिनबाट कसरी रोक्ने लगायतका विषयमा आधारित भएर किङ्स कलेजका प्रिन्सिपल नरोत्तम अर्यालसँग गरिएको कुराकानी प्रस्तुत छ –

युवाहरु जसरी रोजगारीका लागि विदेशिइरहेका छन् यसलाई कसरी बुझ्ने ?

यो अत्यन्त दुःखदायी हो । क्राइसिस सिच्युएसनमा बाहिरिनु अत्यन्तै नराम्रो हो, होला घुमफिर अध्ययन गर्न बाहिर जानु आउनु ठूलो होइन तर नेपालमा अपरच्युनिटिज नभएर बाहिरिनुपरेको भने सत्य हो । अहिले हामी एअरपोर्टमा दुई किसिमको लाइन दख्न सक्छौँ । एउटा मिडिलईस्ट तिर जानेको अर्को युरोप अमेरिका जानेको । यसरी विदेशिनुका विभिन्न कारणहरूमध्ये आर्थिक कोणनै मूख्य हो ।कतिसम्म छ भने विदेशमा सापेक्षीत सफलता पाएका केही गर्छु भनी नेपाल फिर्ता आएका पनि हरेस खाएर पूनः विदेश फर्कने गरेको देखिन्छ ।राजनीतिक अस्थिरता र कर्मचारीतन्त्रको काम गराई, अस्थिर नीति यसको मूख्य कारक हो । यहाँ आर्थिक पाटालाई सरकारले बेवास्ता गरेको बुझिन्छ,जसलाई सम्बोधन गर्न अति अपरिहार्य छ ।

युवाहरुलाई विदेशिनबाट किन रोक्न सकिएन ?

यसमा दुईवटा कुरा छ । एकातिर पढेलेखेकाहरुले पढाई अनुसार मार्केटमा डिमाण्ड छैन त्यसकारण बाहिर जानुपरेकोे बताइरहेका छन् । अर्कोतिर औधोगिक संस्थाहरुले नेपालको शिक्षाप्रणालीले शीपयुक्त जनशक्ति दिन नसकेको भन्ने छ । साँच्चै भन्ने हो भने हाम्रो युनिभर्सिटीले डिग्री दियो तर त्यो उद्योग लगायत अन्य संस्थाहरुमा सापेक्ष छैनन् । दोस्रो अर्थतन्त्रमै पनि अपरच्युनिटिज क्रियट भएन । यस्तो अवस्थामा विश्वविद्यालयहरुले पनि उद्यमशीलता बढाउन वैकल्पिक शिक्षा प्रणाली ल्याउन ढिला भइसकेको छ । बजारमा जागिर नभएको कारणले गर्दा हाम्रा ग्रयाजुएट्सहरु अनइम्प्लोइड भयो भनेर शैक्षिक संस्थाहरु पनि चोखो बस्न पाइँदैन ।

आर्थिक वृद्धिको लागि दक्ष जनशक्ति आधारशीला हो, एक त धेरै छैनन् भएका पनि पलायन हुन थालेपछि सरकारले लिएको समुन्नत राष्ट्रको परिकल्पना कसरी सम्भव होला ?

म आफैं पब्लिक पोलिसीको विद्यार्थी भएको नाताले धेरै वर्षदेखि यो क्षेत्रलाई नजिकबाट हेरिरहेको छु । नेपालमा समस्या कहाँ छ भने सरकारी नारा अत्यन्त आकर्षक नारा बनाइन्छ,तर नारा आफैंले केही गर्दैन । त्यसलाई त कार्यान्वयनमा ल्याउने सरकारका निकायहरुले हो । भिजन, प्रोजेक्ट डिजाइन, इम्लिमेन्टेशन,रिसोर्स मोबिलाइजेशन,मनिटरिङ हुनपर्यो । सक्षम जनशक्ति भएपछिनै क्यापिटल बन्छ त्यसको लागि क्वालिटी अफ एजुकेशन चाहियो । आजको शिक्षाले हाम्रो आशालाइ सपोर्ट गर्न सकिरहेको छैन । शिक्षालाई नै सुधार गर्नु आवश्यक छ । यसको लागि सबै स्टेक होल्डरहरु अव एक हुने बेला भइसक्यो ।दक्ष जनशक्ति बनाउन सकिए नेपालमै बसेपनि अहिले भन्दा धेरै आम्दानी हुनसक्छ ।

विदेश पनि बसेर आउनुभयो, विदेशमा दक्ष जनशक्ति तयार पार्न कस्ता अभ्यास गरिँदो रहेछ ?

बाहिरको गज्जब लागेको कुरा भनेको आउने १० वर्षमा कस्तो शीप भएको जनशक्ति आवश्यक हुन्छ भनेर ग्याप अध्ययन अहिलेनै गरिन्छ । सबै स्टेक होल्डरहरु एकै ठाउँमा आउँछन् । आगामी दश वर्षमा कस्तो ट्रेण्ड होला,कति जब रिप्लेस हुन्छ भनेर अहिलेनै विश्लेषण गरिन्छ र म्यासिभ तरिकाले त्यसको विकासमा लाग्छन् । नयाँलाई स्किल दिने र पुरानालाई पनि रिस्किल गर्ने काम गरिन्छ । त्यहाँ कर्पोरेट हाउस, सरकार, एकेडेमीका सबै सरोकारवालाहरु एकै ठाउँमा बसेर छलफल चलाउँछन् ।

हायर एजुकेशनमा युरोपमै हेर्दा पहिलो भोकेशनल संस्थाहरु हुन्छन् जस्तो हाम्रो सीटीइभीटी भनेजस्तो शीप विकासमा केन्द्रित हुन्छन् । दोस्रो भनेको अप्लाइड युनिभर्सिटी हुन्छ जसले आर्थिक विकासमा के कस्ता समस्या र चुनौतिहरु आइरहेका छन् तीनलाई पत्ता लगाउने काम गर्छ । जहाँ समस्या समाधान गर्नेमा फोकस्ड हुन्छन् भने तेस्रो रिसर्च फोकस्ड युनिभर्सिटी हुन्छ ।र पढिसकेपछि सामान्य काममा पनि इन्गेज हुन्छन् । तर हाम्रोमा चाहीँ डिग्री लिएकोले बेसिक काम गर्नै हुँदैन भन्ने सोचाई छ । यो समस्या भनेकै क्लालिटी अफ एजुकेशनमा नै छ । हाम्रोमा युनिभर्सिटी भनेपछि एकै खालको छ ।

अहिले विदेशिएका संख्या भन्दा कम जनशक्तिबाट अहिलेको भन्दा धेरै रेमिट्यान्स कसरी प्राप्त गर्न सकिन्छ ?
फिलिपिन्सको उदाहरण लिन सकिन्छ यसमा । जहाँ हाम्रो भन्दा थोरै मानव संशाधनबाट हाई भ्याल्युमा रेमिट्यान्स भित्र्याइन्छ । हाम्रो म्यानपावरहरु धेरै खाडी मुलुकमा जान्छन् । त्यहाँ पनि धेरै साधारण लेवरम काम गर्ने हिसावले जान्छन् । तीनैलाई पनि अंग्रेजी मात्रै राम्रो बोल्न सक्ने बनाएर पठाउन सकिएपनि यो भन्दा धेरै कमाउँथे । दोस्रो हाम्रो लागि राम्रो मौका के पनि हो भने हामिले आईटी एक्स्पर्टको ब्यारियर हटाएर टेक इण्डस्ट्रीबाट प्रोडक्टिभिटी जेनेरेट गर्न सक्छौँ ।युवाहरुलाई विदेश नपठाई सूचना प्रविधी बेचेरै राम्रो आम्दानी गर्न सक्छौँ । अर्को मैले देखेको हस्पिटालिटी सेक्टर डक्टर, नर्स, होटल सम्वन्धी काम गर्ने जनशक्ति बाहिर पठाउन सकिए त्यहाँबाट राम्रो रेमिट्यान्स कमाउन सकिन्छ । अर्को उनिहरुको क्वालिटी अफ लाइफ समेत बढ्ने थियो ।

युवाहरुलाई आशा जगाउन तत्काल सरकारले के गर्न पर्छ ?

धेरै कामहरु गर्नुपर्ने छ, युवाहरुलाई आशा जगाउन सकिएको छैन । सरकारले नयाँ काम गर्नेलाई नियन्त्रण गर्ने शैली अपनाउने चलन छ पहिलो त यो त्याग्न पर्ने हुन्छ । सरकारको बोली र गराई आकाश पातालको फरक छ । सरकार भन्ने बित्तिकै नेतृत्वमा बस्नेहरुमात्र होइन, कर्मचारीतन्त्र पनि पर्छ । विदेशमा बसेका युवाहरुसँग पनि अन्तरक्रिया गरेर कस्तो मोडल अपनाउने भन्नेमा छलफल चलाउन आवश्यक देख्छु म । स्वदेशमा हुनेलाई आशा जगाउँदै विदेशमा हुनेलाई पनि फर्काउन सकिन्छ भनेर छलफल चलाउनपर्नेछ ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १८:१५   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।