Logo

अन्तर्राष्ट्रिय

कति इजरायली नागरिकलाई हमास समूहले बन्धक बनाएको छ ?



एजेन्सी । इजरायली सेनाले प्यालेस्टिनी चरमपन्थी समूह हमासले ठूलो संख्यामा इजरायली नागरिक र सैनिकलाई बन्धक बनाएको बताएको छ ।

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनरिकसले ‘केही जीवितै रहेकाे’ र ‘केहीको मृत्यु भएको विश्वास गरिएको’ बताए। उनका अनुसार बन्धकमा बालबालिका, महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

इजरायलको किबुट्ज बिरीमा हमासका चरमपन्थीहरूले बन्धक बनाएका इजरायली।

“यो यस्तो संख्या हो जुन अहिलेसम्म कल्पना पनि गरिएको थिएन। यसले भविष्यको युद्धको निर्णय गर्नेछ”, उनले भने । हमासले कब्जामा लिइएका इजरायलीहरूको संख्या “दर्जनभन्दा बढी” रहेको र उनीहरू गाजा पट्टीका धेरै भागहरूमा बन्दी अवस्थामा रहेकाे समाचारहरुमा बताइएकाे छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देश हमास समूहविरुद्ध युद्वमा गएकाे घाेषणा गरिसकेका छन् ।

पछिल्लो द्वन्द्वमा भएकाे घटनाक्रमहरु

  • शनिबार हमासले इजरायलविरुद्ध ‘अल-अक्सा तूफान’ अभियान सुरु गर्‍यो, हजारौं रकेटहरू प्रहार गरेको थियो र इजरायलमा जमिन, समुद्री र हवाबाट आक्रमण गरेकाे थियो।
  • इजरायल र हमासबीचको द्वन्द्वमा हालसम्म दुवै पक्षका १२ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । हमासको आक्रमणमा हालसम्म ७०० भन्दा बढी इजरायलीको मृत्यु भइसकेको छ भने ३००० भन्दा बढी घाइते भएका छन् । धेरैलाई अपहरण गरिएको छ ।
  • इजरायलको जवाफी हमलामा धेरै प्यालेस्टाइनी सर्वसाधारण मारिएका छन् भने धेरै घाइते भएका छन् ।
  • पछिल्लो अवस्थाका अनुसार हमास लडाकुहरूले गाजा पट्टी र दक्षिणी इजरायलमा धेरै इजरायली नागरिक र सैनिकहरूलाई बन्धक बनाएका छन्, उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ।
  • इजरायलले गाजा पट्टीमा हमासका १७ स्थान र ४ मुख्यालयमा हवाई हमला गरेको छ । लेबनानबाट रकेट आक्रमणको जवाफमा, इजरायलले पनि केही लक्ष्यहरूमा बमबारी गरेको छ। इजरायलको माउन्ट डोभमा भएको आक्रमणको जिम्मेवारी लेबनानमा रहेको हिजबुल्लाहले लिएको छ । हिजबुल्ला पनि इजरायलबिद्ध युद्ध मा गएकाे छ ।
  • इजरायलका सुरक्षा प्रमुखहरुको बैठकमा प्रधानमन्त्री नेतन्याहुले घुसपैठ गर्नेहरुलाई हटाउन निर्देशन दिएका छन् । उनले भनेका छन्, ‘यो युद्ध हो र हामीले यो युद्ध जित्नेछौँ ।
  • साउदी अरबको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्यालेस्टाइनी समूह र कब्जामा रहेका इजरायली सेनाबीच उत्पन्न परिस्थितिका कारण विभिन्न मोर्चामा भइरहेको हिंसाको अनुगमन गरिरहेको जनाएको छ ।
  • फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन विदेशमन्त्री र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले हमासको आक्रमणको निन्दा गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेतान्याहुसँग फोनमा कुरा गर्दै आफू इजरायलको साथमा उभिने र पूर्ण समर्थन गर्ने बताए ।
  • इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका सल्लाहकारले इजरायलमा प्यालेस्टिनी लडाकुहरूले गरेको आक्रमणको समर्थन गरेका छन्।
  • इजरायललाई अमेरिकाले मिलिटरी सहयाेग गर्ने भएकाे छ ।
  • हिजबुल्लाहले गाजाकाे पक्षमा र्‍याली निकालेकाे छ ।
  • इजरायलमा दुई दिनका लागि स्कुलहरु बिदा दिइएकाे छ ।
  • भारतले उसका २७ जना नागरिकहरुलाई इजिप्ट पुर्‍याएकाे छ ।
  • पाेल्याण्डले पनि इजरायलबाट आफ्ना नागरिक फिर्ता लाने तयारी गरिरहेकाे छ ।

घरबाट निकालेर इजरायलीहरु बन्धक बनाइए

यस्ता धेरै भिडियोहरू अनलाइन सोशल मिडिया प्लेटफर्महरूमा सेयर भइरहेका छन् जसमा इजरायलीहरू हमास लडाकुहरूको नियन्त्रणमा रहेको देखिन्छ।

केही भिडियोमा गाजा पट्टीमा इजरायली बन्धकहरूको भीडमा ट्रक चलिरहेको देखाइएको छ। गाजा पट्टीको अर्को भिडियो भाइरल भइरहेको छ जसमा एक नाङ्गो खुट्टा महिलालाई ट्रकको पछाडि तानिएको छ र उनको दुवै हात उनको पछाडि बाँधिएको छ।

गाजा नजिकैको दक्षिणी इजरायली सहर ओफकिमको बाहिरी भागमा रहेको किबुट्ज रेममा एक आउटडोर पार्टीबाट केही बन्धकहरूलाई अपहरण गरिएको बताइएको छ। प्रत्यक्षदर्शीहरूले इजरायली मिडियालाई भने कि मोटरसाइकलमा सवार आक्रमणकारीहरूले मानिसहरूमाथि गोली चलाउन थाले र तिनीहरूमध्ये धेरै अझै बेपत्ता छन्।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूमा पार्टीमा सहभागी एउटी महिलालाई मोटरसाइकलमा आएका दुई पुरुषले लैजाँदै गरेको देखाइएको छ। यी महिलाका पार्टनरका भाइ मोसे ओररले उनको नाम नोआ अर्गामानी रहेको बताए । आफ्नो भाइ र ती महिलालाई कैयौं चरमपन्थीहरूले समातेको भिडियो हेरेपछि उनले उनीहरू हराएको बताए।

इजरायली च्यानल १२ सँग कुरा गर्दै मोशेले भने, “मैले भिडियोमा नोभा डराएको देखेँ। उनको दिमागमा के भइरहेको थियो म कल्पना पनि गर्न सक्दिन, किनकि उनी मोटरसाइकलमा आतंकमा चिच्याइरहेका थिए।”

पछि अर्को भिडियो सार्वजनिक भयो जसमा नोआ गाजाको एउटा कोठामा पानी पिउँदै गरेको देखिन्छ। यद्यपि यो भिडियोकाे स्वतन्त्र पुष्टि भएकाे छैन।

गाजा पट्टी बाहिर इजरायलका धेरै ठाउँमा बन्धकहरूलाई मुक्त गरिएको छ। इजरायली सेनाले दक्षिणी भागमा दुई स्थानमा सुरक्षा बलहरूले बन्धकहरूलाई उद्धार गरेको बताएको छ।बन्धकहरूलाई किबुत्ज बिरीको भोजन कक्षमा राखिएको थियो। इजरायली टिभी च्यानलहरूको रिपोर्ट अनुसार उनीहरुलाई १८ घण्टापछि उद्धार गरिएको थियो।

इजरायली मिडियाका रिपोर्टहरूले त्यहाँ करिब ५० जनालाई बन्धक बनाएको देखाएको छ। रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै एला नामकी एक महिलाले आफू शहरको बम सेल्टरमा केही घण्टादेखि पर्खिरहेकी थिइन्। उनले भनिन्, ‘हामीले भारी गोलीबारी सुनिरहेका छौं। हामीलाई आतंककारीहरू डाइनिङ हलमा रहेको बताइएको छ। हामी गोलीको आवाज सुन्न सक्छौं। मेरो परिवारसँगको सम्पर्क टुटेको छ। मलाई थाहा छ मेरो बुबा अपहरण हुनुभएकाे छ… के भइरहेको छ, मलाई कसैले बताइरहेको छैन। मेरी आमा जिउँदै हुनुहुन्छ कि छैन मलाई थाहा छैन,” उनले भनिन्।

सामाजिक सञ्जालमा रहेका भिडियोमा बिरीमा धेरै मानिसहरूलाई सडकमा खाली खुट्टा लगिएको देखाइएको छ। डाइनिङ हलमा अपहरण गरिएका यिनीहरू नै बन्धक हुन् वा अरू कोही हुन् भन्ने खुल्न सकेको छैन ।

यसैबीच, ओफकिम सहरको बाहिरी भागमा रहेको किबुत्ज उरीममा हमास चरमपन्थीद्वारा अपहरण गरिएका दुई इजरायली बन्धकहरूलाई उद्धार गरिएको छ। इजरायलको सरकारी समाचार च्यानल क्यानका अनुसार शनिबार उनीहरुलाई राखिएको घरमा केही घण्टासम्म गोली चलेको थियो ।

सहरमा रकेट आक्रमण हुँदा स्थानीय बासिन्दा अलर्ट गर्दै बम सेल्टरतर्फ गइरहेका बेला हतियारधारी अतिवादीले सहरमा प्रवेश गरी जनतामाथि अन्धाधुन्ध गोली चलाउन थालेकाे बताइएकाे छ ।

तर दुई जना बासिन्दा आफ्नो अपार्टमेन्टमा रहेकाे र चार चरमपन्थीहरूले बन्धक बनाएकाे बताइएकाे छ । यी अतिवादीहरूलाई इजरायली सुरक्षा बलहरूले मारेकाे जनाइएकाे छ । क्यान न्यूज च्यानलका अनुसार यस भिडन्तमा इजरायली सैनिक पनि घाइते भएका छन् ।

हमास भनेको के हो?

हमास प्यालेस्टिनी इस्लामिक अतिवादी समूह हो जसले गाजा पट्टीमा शासन गर्दछ। हमासले “इजरायललाई नष्ट” गर्ने वाचा गरेको छ र २००७ मा गाजामा सत्तामा आएदेखि इजरायलसँग धेरै युद्धहरू लडेको छ।

यी लडाइहरूमा, हमास समूहले इजरायलमा हजारौं रकेटहरू प्रहार गर्यो र अन्य समूहहरूलाई इजरायलमाथि फायर गर्न अनुमति दियो। यसबाहेक याे समूहले अन्य धेरै घातक हमलाहरू पनि गरेकाे छ। इजरायलले पनि हमासमाथि लगातार हवाई आक्रमण गर्दै आएको छ र सुरक्षाको कारणले इजिप्टसँगको गाजा पट्टीमा सन् २००७ देखि नाकाबन्दी कायम गरेको छ।

पूरै हमास वा विशेष गरी यसको सैन्य शाखालाई इजरायल, अमेरिका, युरोपेली संघ र बेलायत र अन्य धेरै देशहरूले आतंकवादी समूह घोषणा गरेका छन्। हमासलाई इरानले समर्थन गरेको छ, जसले उसलाई आर्थिक सहयोग गर्छ र हतियार र तालिम दिन्छ।

गाजा पट्टी कति ठूलो छ?

गाजा पट्टी ४१ किलोमिटर लामो र १० किलोमिटर चौडा क्षेत्र हो, जसको एकातर्फ इजिप्ट र इजरायलको सिमाना छ भने अर्को छेउमा भूमध्यसागर छ। यहाँ २३ लाख मानिस बस्छन्। विश्वको सबैभन्दा बढी घनत्व भएको जनसंख्या यहाँ बस्छ।

बीबीसीबाट लिइएकाे

इजरायलले गाजाको हवाई क्षेत्र र तटीय क्षेत्रहरू नियन्त्रण गर्दछ र सीमापार सामानको आवागमन नियन्त्रण गर्दछ। त्यस्तै इजिप्टले गाजाबाट आउने र जाने मानिसलाई नियन्त्रण गर्छ। संयुक्त राष्ट्रसंघका अनुसार गाजा पट्टीको ८० प्रतिशत जनसङ्ख्या अन्तर्राष्ट्रिय सहायतामा निर्भर छ र १० लाख मानिस दैनिक खाद्य सहायतामा निर्भर छन्।

पढ्नुहाेस्

इजरायलमा हमासले गरेकाे आक्रमणमा १० नेपाली मारिएकाे पुष्टि, तीन घाइते

इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको अनुरोध

प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार  ८ : १३ बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।