काठमाडौं- बलात्कारजस्तो जघन्य अपराधका विषयमा पत्रकार किन अदालत र न्यायाधीशलाई नै चुनौती दिँदै छन्?
केही पहिलेको कुरा, एक पत्रकारले महिलाको निर्वस्त्र फोटो पत्रिकामा छापिदिँदा निज आत्महत्या गर्न बाध्य भइन्। त्यसको विषयमा पत्रकारलाई न कुनै कारबाही भयो, न त कुनै ग्लानि नै महसुस गरेको देखिन्छ।
त्यतिबेला महिलाको अधिकारको अवस्था कति कमजोर थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ। तर, अहिले अवस्था फेरिएको छ। कानुनी रूपमा राज्यले महिला र पुरुष भनेर भेदभाव गर्न नपाउने कानुन निर्माण गरेको छ। भलै ती कानुनहरू पर्याप्त नहुन सक्लान्।
विश्वभर ‘मीटू’ जस्ता अभियानले महिलालाई आफूविरुद्ध भएका हिंसा र अन्यायविरुद्ध बोल्न तथा कानुनी रूपमा न्याय प्राप्तिका लागि लड्न सिकाएको छ। महिलाहरू बढी शिक्षित भएका छन्। मीटू जस्ता मुभमेन्टले विश्वभर नै पितृसत्तात्मक सोचलाई टक्कर दिएर समाजलाई सन्तुलित बनाउने अभियानको थालनी भएको छ। तर, नेपालमा अझै पनि पितृसत्तात्मक सोचलाई चिर्न सकिएको छैन।
समाजमा जागरण र परिवर्तन ल्याउने सबैभन्दा ठूलो माध्यम अहिले मिडिया भएको छ। तर मिडियाले नै कहिलेकाहीँ मिसन नै लिएर कुनै पनि घटना र विषयमा पक्ष र विपक्ष बनिदिँदा समाज झनै अन्योलमा पर्ने गरेको देखिन्छ। मिडियामा काम गर्ने र मिडिया नै हाँक्ने क्षमता बनाएकाहरूको आवाज र अक्षरहरू पितृसत्तात्मक सोचभन्दा माथि जान नसक्नु झनै चिन्ताको विषय बनेको छ।
मीटु अभियानले नेपालमा पनि ठूलै हलचल मच्चाएको छ। यो अभियानपछि त्रिविका एक प्रोफेसर यौन हिंसा गरेको अभियोगमा खबरदारीमा परे। सभामुखको पदमै बसेका कृष्णबहादुर महराको पद गयो। चर्चित अभिनेता पल शाह हिरासतमा तानिए। अर्का चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गरी आठ वर्ष जेल सजाय तोकिएको छ।
तर यी सब विषय अझै पनि समाजमा पच्न नसकेको देखिन्छ। भर्खरै सन्दीपको विषयमा आएको फैसलामा पत्रकारहरूले सन्दीपको बचाउमा लेख नै लेख्नुले स्त्रीद्वेषी र पितृसत्तात्मक सोच कतिसम्म गडेर बसेको छ भन्ने कुरा प्रस्ट हुन्छ। उनीहरूको सोचको दायरा कतिसम्म सीमित र कहालीलाग्दो छ भन्ने कुरा पनि प्रस्टिन्छ।
हिजो मात्रै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, मध्यरात कुनै अनकन्टार ठाउँमा एउटी युवतीले आफूलाई डोरीमा झुुण्ड्याउँदै गरेको। त्यो देखेर हुर्हुर्ती एक हुल मानिसहरू उनलाई बचाउन जान्छन् र किन सोध्छन्। उनी रुँदै भन्छिन्, ममाथि बलात्कार भयो, म मर्न चाहन्छु। उनलाई मात्रै होइन। अपवाद बाहेक सबैलाई यही थाहा छ, पितृसत्तात्मक समाज सजिलै न्याय पाइँदैन।
समाजलाई हेर्ने हो भने त अझैँ पनि सहमतिमा होस् या जवर्जस्ती श्रीमान् बाहेक अरूसँग यौन सम्बन्ध हुनु भनेको सतित्व लुटिनु हो, ज्युँदै मरे समान हो। त्यसकारण त्यो अवस्थामा पुग्छन्।
सम्मानित अदालत र प्रमाणले दोषी करार गरेका क्रिकेटर लामिछानेको पक्षपोषण गर्दै एक जना बजारमा नाम चलेका पत्रकारले लेखेको लेखले त झनै सिधै धावा बोलेको छ। न्यायको लडाइँमा छोरीहरूले साथ,समर्थन र हिम्मत पाउने अवस्था कस्तो छ ?, त्यो संकेत गरेको छ। स्थिति विकराल छ।
सामाजिक संरचना र व्यवस्था यस्तो छ, पुरुष उत्पीडन र यौन हिंसाको बारेमा महिलाहरू हत्तपत्त बोल्नै चाहँदैनन्। प्रतिरोध र कानुनी लडाइँमा जाने हिम्मतै गर्न सक्दैनन्। आर्थिक,राजनीति हिसाबले सम्पन्न पुरुष र ऊ मैत्री संरचना र व्यवस्थासँग लड्नु फलामको चिउरा चपाउनुजस्तै हो भनेर बुझेका छन्। अपवादमा मात्रै कसैको धैर्यता विस्फोट हुन्छ र कोही बोल्छन्, उनीहरूलाई निमोठ्न र नामेट पार्न यसरी लागिपरिन्छ, ती स्त्रीद्वेषी पत्रकारको लेख यसको ज्वलन्त उदाहरण छ।
एक मिडियामा लेख लेख्ने ती पत्रकारले कुतर्क गरेका छन्, – उक्त होटेलबाट आएको २१ दिनसम्म ती उजुरी दिन किन गइनन् ? र, उनको आशय, बलात्कारको समयमा किन चिच्याइनन् कराइनन्, किन भोलिपल्टको दिनदेखि २१ दिनसम्म चुपचाप बसिन्, त्यतिन्जेल उजुरी दिइनन् ?
आफूभन्दा बढी उमेरको उक्त पुरुषले निजलाई विभिन्न प्रलोभनमा पारेको कुरा किन नजरअन्दाज गर्न खोजिरहेका हुन् त उनले ? आफूमाथि बलात्कार भयो भनेर रुँदै न्यायालयको चरणमा पुगेकी नाबालिगलाई किन दोषी ठानिएको छ उनको मथिङ्गलले सजिलै भन्न सकिन्छ, स्त्रीद्वेषी चिन्तन। महिलाहरू पुरुषका भोग्य वस्तु हुन्, उनीहरू खुलेर हाँस्नु पनि सेक्सको निम्ति आह्वान गर्नु हो भन्ने पितृसत्तात्मक दरिद्र सोच छ।
बलात्कारको समय निज किन नकराएको र किन नचिच्याएको भनेर कुतर्क गर्नेहरूको लागि केपी ढुङ्गानाले लेखेका छन्, ‘अमेरिकामा विद्यायालय तहदेखि नै खतरासँग कसरी जोगिने भन्ने शिक्षा दिइने रहेछ। पहिला आफू जोगिने अनि बाँकी उपचार खोज्ने।’
महिलाको हकमा यौन दुर्व्यवहारदेखि बलात्कारका घटनामा समेत आफू कसरी जोगिने भनेर सिकाइने रहेछ। बलात्कार लगायतका घटनामा जबसम्म सुरक्षित महसुस हुन्न तबसम्म प्रतिकार गर्ने लगायतका गतिविधि गर्दा आरोपीबाट हत्यासम्मको खतरा बढ्न सक्छ।
त्यसैले अस्वीकार गर्ने, सुरक्षित हुनसक्ने अवस्था छ भने सुरक्षित हुने, यदि तत्काल सुरक्षित हुने उपाय खोज्दा थप खतरा बढ्ने जोखिम छ भने सरेन्डर गर्ने र सुरक्षित भएपछि मात्र आवश्यक कानुनी प्रक्रिया चाल्ने। अर्थात् पहिला ज्यान जोगाउने अनि मात्र कानुनी उपचार खोज्ने।
उक्त स्थितिमा सरेन्डर नगरेको अवस्थामा हत्याको जोखिम उच्च हुने भएकोले चर्को प्रतिकार नगरेको हुनसक्ने कुरा स्त्रीद्वेषी चिन्तनधारीले बुझ्न सक्दैनन्। नेपालमा बालबालिकाहरूलाई जोखिमबाट कसरी बच्ने भन्ने शिक्षाको उचित व्यवस्था नभएको हुँदा बलात्कारपछिका हत्याका घटना समानान्तरमा सुनिन आउँछन्।
बलात्कारीको बचाउमा लेख लेख्ने पत्रकारले बुझ्न सक्नुपर्छ, गौशाला-२६ ले उक्त समयमा आफ्नो ज्यान जोगाउन खोजेको पनि हुनसक्छ। आफूमा बलात्कृत भइसक्दा र कथित सतित्व लुटिइसक्दा आम पीडित जसरी आत्महत्याको सोचमा नपुग्नु आरोपितले देखाएको प्रेम र विवाहको प्रलोभन हो। र, उनी भोलिपल्टै कानुनी उपचारमा नजानु, बलात्कारीबाट होस्टाइल हुनु र ऊसँग जुध्न जानु पहरामा मुठ्ठी बजार्नु जस्तै हो भनेर बुझ्नु सँगसँगै सामाजिक व्यवस्थासँग भयभीत हुनु हो।
यद्यपि, ती पत्रकारका अनुसार अठार वर्षकी ती बालिका भोलिपल्टै कानुनी उपचारमा जानुपर्ने ? त्यसपछिको उनको मानसिक अवस्था कस्तो भयो होला ? आफन्तलाई उक्त कुरा भन्न साहस जुटाउन कति समय लाग्यो होला ? कसैले आफूलाई जबरजस्ती करणी गरेर फेरि प्रलोभनमा पारेर फेरि तिरस्कार गरिसकेपछिको मानसिक स्वास्थ्य अवस्था कसरी गुज्रियो होला ?
आम जनताले विश्वास गर्ने पत्रकारको कलमको दुरुपयोग गर्ने उनी र बलात्कारी बचाउ गर्ने उनको लेखप्रति खेद व्यक्त गर्दै त्यहाँ भएका केही कुरा यहाँ उल्लेख गर्छु।
१. उनी लेख्छन्, बलात्कारका यस्ता घटनामा पीडितको पहिचान खुलाउनुपर्छ, आरोपितको चैँ लुकाउनुपर्छ। तर स्पष्ट रूपमा कानुनी व्यवस्था छ, अपराध पीडित संरक्षण ऐनको दफा ६ मा बलात्कार मानव बेचबिखन, यौन दुर्व्यवहारका घटनाका पीडितको पहिचान कुनै पनि रूपबाट प्रकट गर्न नहुने भनिएको छ।
२. प्रमाण र न्यायालयले बलात्कारी घोषित गरेको मान्छेको पक्षबाट यतिसम्म पैरवी गर्न कुन खाले मानसिक धरातल चाहिन्छ ? पीडित गौशाला-२६ को सन्दीपसँग डेट रे, ‘वान नाइट स्टे’ रुचिका विषय थिए रे, यस्तो भन्ने हिम्मत कसरी आयो ? पितृसत्तात्मक समाजको कमजोर पृष्ठभूमिबाट आएकी एक नाबालिगको यस्तो उद्देश्य हुनसक्छ ? सक्छ भनेर भन्न स्त्रीद्वेषीले मात्रै सक्छ ।
३. एउटा बलात्कारीको पक्षपोषण गर्ने चक्करमा उनी अदालत न्यायाधीश मात्रै नभएर कानुन नै ठिक नभएको कुरा गरिरहेका छन्। देश नै जेलले भरिन्छ, नाबालिग उमेरहद घटाउनुपर्छ पनि भनिरहेका छन्। ओहो उनी यसरी आत्तिनुले के कुराको संकेत गर्छ।
४. सम्माननीय न्यायाधीश शिशिरराज ढकालले भन्दा मुद्दाको बारेमा बढी मैले बुझेको छु र उनको फैसलाभन्दा मेरो राय सत्य हो भन्नू सानोतिनो अहंकार होइन। लामिछानेलाई निर्दोष देख्ने उनले, उनलाई निर्दोष साबित गर्ने प्रमाण लिएर अदालत किन नपुगेका हुन ? सजाय हुन किन दिएका हुन आम जनताले आस र भरोसाको दृष्टिले हेर्ने पत्रकारको कलमबाट किन कुर्लिरहेका छन् दिग्भ्रमित गराउन ?
५. बलात्कारीको पैरवी गरेर पितृ सत्ताका असली प्रोडक्ट ठहरिन पुगेका उनी जस्ताले बुझ्नै सक्दैनन्, प्रेम र बिबाहको झुठो आश्वासन देखाएर अस्मिता लुटेर तिरस्कार गरेपछि निजको मानसिक स्वास्थ्यमा कतिसम्म असर पर्न सक्छ ?
६. आर्थिक,सामाजिक,राजनीतिक र शारीरिकलगायत सम्पूर्ण हिसाबले सम्पन्न क्रिकेटर लामिछानेलाई निर्दोष देख्ने उनको आँखाले एउटा कमजोर पृष्ठभूमिबाट आएकी नाबालिकालाई किन दोषी देखिरहेका छन्?
७. अब उनले गौशाला-२६ ले आफुभन्दा बढी उमेरको पुरुषलाई प्रलोभनमा पारी उल्टै बलात्कार गरेको भन्न मात्रै बाँकी छ। केही दिनमै त्यो पनि भन्न सक्छन्, कसैले अनौठो नमान्नू होला।
८. र, यतिबेला पित्त पत्रकारिताको पराकाष्ठालाई समर्थन गर्नेहरूको जमातलाई पनि नियालिरहेका छौँ। महिलामाथि यसरी प्रहार भइरहँदा चुपचाप बस्ने न्याय प्रेमी भनिनेहरूलाई पनि नोट गरिरहेका छौँ।
पुनश्च जुन समाजको सम्पूर्ण संरचना पुरुषमैत्री छ। आर्थिक, राजनीति र शैक्षिक हिसाबले महिलाहरू बेदखल छन्। पुरुषमा पराश्रित भएर जीवन चलाउनुपर्ने बाध्यकारी संरचनागत स्थिति छ। जहाँ आफूले जन्माएको सन्तानको हक पनि पुरुषको मात्रै हुन्छ, जहाँ भावी श्रीमतीलाई कसैले नछोएको हुनुपर्ने र ऊ कथित पवित्र हुनुपर्ने मान्यता राखिन्छ, हो त्यही समाजको एउटा बच्ची ममाथि बलात्कार भयो भनेर सडकमा कराउँछे। पितृ सत्ताका पहरेदारहरू उसैमाथि प्रहार गर्न थाल्छन्, अँ त त चुपचाप सहनुपर्ने जात होस्। कराउँछेस् ? दोषी तै छेस्।
अहो! कति डरलाग्दो छ म बाँचेको समाजको चेतना स्तर। यो कहिले फेरिएला?
















प्रतिक्रिया