विराटनगर- साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ। २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका उनका दुई छोरा, एक छोरी र श्रीमती छन्।
पछिल्लो केही समययता क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो। उनका छोरा शरदराज सुवेदीका अनुसार बुधबार बिहान ३ बजे सुवेदीको निधन भएको हो। उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिनेछ।
नेपाली भाषा र साहित्यमा योगदान दिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर सक्रिय थिए। कर्मशील ब्यक्तित्व रूपमा परिचित उनले खोज तथा अनुसन्धानमुलक दर्जनौं ऐतिहासिक पुस्तक लेखेका छन्। विराटनगरको इतिहास उधिनेर पुस्तकको रुप दिएका सुवेदी लेखन र समालोचना गर्न मन पराउँथे।
भाइ दिनेशराज सुवेदीका अनुसार नगरपञ्चायतमा बहिदार पदबाट उनको जागिरे जीवन सुरु भएको थियो। पछि नेपाल खानेपानी संस्थान स्थापना हुँदा नगरपालिकाको एक फाँटअन्तर्गत काम गरेर निवृत्त भए। विराटनगरमा आदर्शरात्री र कन्या क्याम्पस स्थापना भएपछि त्यहाँ केही वर्ष पढाए।
पछि पूर्वाञ्चल विश्वविद्यालयमा सूचना अधिकृतको रूपमा १२ वर्षसम्म काम गरे। सुवेदीका मौलिक कृति एक दजर्न, सम्पादित कृति १५०, उनकै विशिष्ट सम्पादनमा बरगाछी भन्ने पुस्तक प्रकासन भयो। त्यो प्रतिबन्धित समय थियो। वीपी कोइरालाको सानिध्यमा रहेर उनले बरगाछी प्रकासन गरेका थिए।
सुवेदीको समग्रह समालोचना विश्व विद्यालयहरूमा पढाइ हुन्छ। विभिन्न लेखकहरूको दुई सय किताबमा उनले भूमिका लेखेका छन्। उनी ढेड सय संस्थामा आजीवन सदस्य थिए। मोरङमा साहित्यको उत्पति र विकास पछिल्लो पटक प्रकाशन भएको उनको कृति हो।
भाइ दिनेशराजले भने, “आफ्नो सम्पूर्ण जीवन नेपाली साहित्य र सामाजिक कार्यमा समर्पण गर्नु भएका दाजुले अन्य साहित्यकारहरूको संस्मरण समेटिएका दर्जनौं पुस्तक प्रकाशन गर्नु भएको छ। उहाँ साहित्यमा मोफसलकै खम्बा हुनुहुन्थ्यो।” सुवेदीले जीवनकालमै आफ्नो नाममा राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार स्थापना गराइ हरेक वर्ष वितरण गर्दै आएका थिए।




















प्रतिक्रिया