Logo

कर्णाली प्रदेश

कर्णाली प्रदेश : सत्ता गठबन्धनमा किचलो, ९ दिन बित्दापनि भएनन् मन्त्री नियुक्त



कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको नौ दिन बित्दासमेत यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेकपा एमालेका प्रदेशसभा सदस्य कँडेल मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री नियुक्त भए पनि माओवादी केन्द्र र एमालेबीचमै प्रदेश मन्त्रालयको भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । मुख्यमन्त्री कँडेलले छिट्टै सरकार विस्तार हुने प्रतिक्रिया दिए । उनले भने, “मन्त्री परिषद् विस्तार हुन्छ, छिट्टै हुन्छ ।”

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तारमा मुख्यमन्त्रीले ध्यान दिनुपर्ने बताए । उनले भने, “हामीले अर्थ, सामाजिक, उद्योग र ऊर्जा विकास मन्त्रालय मागेका छौँ तर उहाँ दिन चाहानु हुन्न । मुख्यमन्त्री र सभामुख त हामीले उहाँहरुलाई दिएकै छौँ ।”

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाइले माओवादी दलको नेता शर्मा काठमाडौँमा रहेकाले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुन नसकेको बताए । उनले भने, “मन्त्रालय बाँडफाँडमा छलफल चलिरहेको छ तर उहाँहरुले एक जना मन्त्री सरकारमा सहभागी गराए हुन्थ्यो भन्ने हो । माओवादी केन्द्रले त्यो गरेको छैन । सरकार विस्तार गर्न अझै वैशाख ११ गतेसम्म लाग्ला ।”

नेकपा (माओवादी केन्द्र) प्रदेशसभाका प्रमुख सचेतक रनसिंह परियारले मन्त्रालय भागबन्डामै कुरा नमिलेको बताए । उनले भने, “यसको सहजीकरण सरकारको नेतृत्व गरिरहेको दलले गर्ने हो । मुख्यमन्त्री कँडेलले अझ बढी लचकता अपनाउनुपर्छ ।”

प्रकाशित मिति : बैशाख ७, २०८१ शुक्रबार  २ : ३२ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।