काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अब बन्ने सरकारमा क-कसलाई पठाउने भन्ने विषयमा छलफल थालेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग नयाँ सरकारमा पठाउने मन्त्रीहरुको नाम टुँगो लगाउनको लागि छलफल थालेका हुन् ।
यसपटक कांग्रेसबाट क्लिन छवि भएकाहरुलाई सरकारमा पठाउनुपर्ने आवाज उठेको छ । यसपटक पूर्व महामन्त्री प्रकाशमान सिँहको नेतृत्वमा सरकारमा पठाउने देउवाको तयारी रहेको छ । रमेश लेखक गृहमन्त्री बनेर सरकारमा सहभागी हुने निश्चित भएको छ । उनको नाममा करिब करिब सहमति जुटिसकेको छ । यसपटक सांसद सभापति पत्नी डा. आरजु राणा देउवा पनि मन्त्री बन्ने लगभग निश्चितप्राय छ । गुल्मीबाट निर्वाचित सांसद डा। चन्द्र भण्डारीलाई पनि मन्त्री बनाउनुपर्ने भनेर पार्टीभित्रै बलियो आवाज उठेको छ ।
सभापति देउवाले पनि भण्डारीलाई यसपटक मौका दिने मन बनाएका छन् । अहिलेसम्म मन्त्री नबनेका भण्डारी सबै दलका नेता तथा कार्यकर्ताहरुले रुचाउने नेताको रुपमा परिचित छन् । उनलाई आफू नेतृत्वको क्याविनेटमा सहभागी गराउनको लागि ओलीपनि ईच्छुक छन् । कांग्रेस सभापति देउवासँग भएको मन्त्रालय बाँडफाँटको छलफलमा ओलीले भण्डारीलाई सरकारमा पठाउनको लागि सिफारिस गरेका छन् ।
अन्य मन्त्रीबन्नेहरुको लिस्ट पनि तयारी छ जसमा सह महामन्त्री जीवन परियार, किशोरसिंह राठोर, बद्रि पाण्डे, नेता प्रदिप पौडेल, प्रतिमा गौतम, श्याम घिमिरे, तेजुलाल चौधरी, दीपक गिरि, दीपक खड्का, रामनाथ अधिकारी बन्ने संम्भाबना रहेको छ ।
कांग्रेसले परराष्ट्र मन्त्रालयको नेतृत्वमा डा. आरजु राणा देउवालाई पठाउने निधो गरिसकेको विश्वस्त स्रोतको दाबी छ । अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाएकी आरजु हाल प्रतिनिधिसभाको कृषि समितिको सभापतिको जिम्मेवारीमा छिन् । उनले सदनमा जलवायु परिवर्तनका एजेण्डापनि जोडदार रुपमा उठाइरहेकी छिन् ।




















प्रतिक्रिया