काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा मन्त्री पठाउने विषयमा कांग्रेस र एमाले अन्तिम तयारी गर्दै छन् । एमालेले प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई मन्त्री छान्ने अधिकार प्रत्यायोजन गरेको छ । सोही अनुसार ओलीले पार्टीको आन्तरिक र बाह्यरुपमा पनि आफूलाई निरन्तर साथ दिनेहरुलाई मन्त्री पठाउने तयारी रहेको बालकोट श्रोतले जनाएको छ ।
ओलीले अर्थमा विष्णु पौडेललाई बनाउन चाहेपनि कांग्रेस एमाले गठबन्धन मिलाउन भूमिका खेलेका पार्टी महासचिव शंकर पोखरेलले विष्णुलाई रोक्ने योजनामा छन् । पोखरेल पौडेल दुइ नेताबीचको टकरावले मन्त्री छनोटमै केही असहज परिस्थिति बनेको एमालेका एक सांसदले बताए । विवादका बाबजुत ओलीले विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, महेश बर्तौला, जुली कुमारी महतो, विध्या भट्टराई, दामोदर भण्डारीलगायतको नाम तयार पारेको छ ।
यता सरकारको मुख्य साझेदार दल नेपाली कांग्रेसले १० जना मन्त्री पठाउने तयारी गरेको छ । नयाँ सरकारमा क्षमता, योगदान, समावेशीताको मापदण्ड बनाएको कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पक्षका ६ र इतर समुहका ४ जान मन्त्री पठाउने तयारी कांग्रेसका एक पदाधिकारीले बताए ।
प्राप्त सूचना अनुसार प्रकाशमानसिं नेतृत्वमा सरकारमा जाने तयारी गरेको कांग्रेसले संस्थापन पक्षबाट प्रकाशमानसिंह, रमेश लेखक, अजय चौरासिया, किशोरसिंह राठोर, आरजु राणा र दिपक खड्का पठाउने करिव निश्चित भएको छ । त्यस्तै डा शेखर कोइराला समुहबाट हृदयराम थानी, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम पठाउने तयारी भएको छ । यसमा केही हेरफेर हुन सक्ने नेताहरुले जनाएका छन् ।




















प्रतिक्रिया