Logo

प्रमुख समाचार

रवि लामिछाने गृहमन्त्री हुँदा एउटा मात्रै फाइल खोलियो : विश्वप्रकाश शर्मा



काठमाडाैं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले रवि लामिछाने गृहमन्त्री हुँदा एउटा मात्रै फाइल खोलेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले लामिछाने गृहमन्त्री हुँदा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तारीको फाइल मात्रै खुलेको बताएका हुन् ।

‘ठूलै स्वरमा काम गरेर हल्लीखल्ली गरेर बिदा हुँदासम्म एउटा पनि फाइल खोल्नु भएनछ त भनेर चिन्ता लाग्ला,’ शर्माले भने, ‘एउटा फाइल खुलेको थियो- कान्तिपुर मिडिया ग्रुपका मालिकको गिरफ्तारी। भयो के दुनियाँ जान्दछ, खोदा पहाड निक्ला चुहा!’

महामन्त्री शर्माले नयाँ गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारविरूद्धको अनुसन्धानमा चार चरित्र मूल मन्त्र बनाउन पनि आग्रह गरेका छन् । ‘हस्तक्षेपमुक्त अनुसन्धान, स्टन्टमुक्त अनुसन्धान, अनुग्रहमुक्त अनुसन्धान र पूर्वाग्रहमुक्त अनुसन्धान गर्नुहोस्,’ उनले गृहमन्त्रीलाई सुझाब दिए।

महामन्त्री शर्माले नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी-इस्टेट प्रकरणमा पनि छानबिन हुनुपर्ने बताएका छन् । ‘यी प्रकरणमा पनि इमान्दार अनुसन्धान सुरू हुनुपर्छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भने, ‘त्यो अनुसन्धानले हामी आफैमाथि प्रश्न गर्दैगर्दा छानबिनको दायरामा उभिनका लागि तयार हुनुपर्छ।’

 

प्रकाशित मिति : १३ श्रावण २०८१, आईतवार १६:२३   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।