Logo

प्रमुख समाचार

एमालेसँग स्कुलिङ नै मिल्दो रहेनछ : मणि थापा



एमाले छाडेका पूर्वमन्त्री मणिचन्द्र थापा स्कुलिङ नमिलेका काण पार्टीमा बस्न नसकेको बताएका छन् ।

थापाले अब के गर्ने भन्नेबारे सरसल्लाह गरेर निर्णयमा पुग्ने बताए । आफू माओवादी स्कुलिङबाट आएको भन्दै उनले माओवादी र एमाले स्कुलिङमा धेरै भिन्नता पाएको बताए ।

‘म जुन स्कुलिङ र पृष्ठभूमिबाट राजनीतिमा आएँ त्योसँग एमालेको स्कुलिङ मेल खान नसकेका कारण पार्टीमा बस्न सकिन’ थापाले काठमाण्डुटुडेसँग भने । यद्यपि आगामी दिनमा माओवादी राजनीतिमा फर्कने वा नफर्कने भन्नेबारे निर्णयमा पुगिनसकेको उनको भनाइ थियो ।

थापा गत २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनयता निस्क्रिय थिए । थापा एमालेको मिसन ग्रासरुट अभियामना पनि सहभागी थिएनन् । थापाले एक वर्षअघि नै आफूले पार्टीमा काम नगर्ने जानकारी दिएको भए पनि बिहीबार मात्र एमालेले आफूलाई औपचारिक रुपमा बिदा गरेको जानकारी सञ्चार माध्यममार्फत पाएको बताए ।

थापाले छाडेपछि रिक्त स्थायी समिति सदस्यमा बसेरा होटलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले मुकुन्द न्यौपानेलाई मनोनित गरेको छ ।

तत्कालीन नेकपामा विभाजन भएपछि पूर्वमाओवादी पृष्ठभूमिका थापा एमालेमै बसेका थिए । एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति थापा असन्तुष्ट थिए । उनले ओलीको कार्यशैलीको सार्वजनिक रुपमै आलोचना गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार ०९:१७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।