Logo

प्रमुख समाचार

सरकारको १०० दिने कार्ययोजनाबारे प्रधानमन्त्रीले गरे छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे सरोकारवालासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबारको छलफलमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो । छलफलका क्रममा मन्त्रालयका सचिवहरूले योजना पेस गरेका छन् ।

प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरूबिच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/०८१ मा समग्रमा ६३ दशमलव ४४ प्रतिशत पुँजीगत खर्च भएको, एक हजार ६ सय माइलस्टोन निर्धारण भएका मध्ये ४२ प्रतिशत र तीन हजार चार सय २१ क्रियाकलापमध्ये ४९ प्रतिशत सम्पन्न भएको बताए ।

समीक्षापश्चात् सम्बन्धित मन्त्रालयका सचिवहरूले चालु आर्थिक वर्ष २०८१/०८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको १०० दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुतिको क्रम जारी रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १४:४३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।