Logo

प्रमुख समाचार

प्रतिनिधि सभामा आज सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री



काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले राखेका प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ। यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन बुधबार प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। त्यस्तै, आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।

सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने’ भन्ने सार्वजनिक महत्त्वको विषयमाथी स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची छ । धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधयेक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन् । यसैगरी आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुतगर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूचीमा जनाइएको छ । अर्थमन्त्री पौडलेले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार ०९:४५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।