Logo

कोशी प्रदेश

आन्तरिक भागबन्डा मिलाउन नसकेपछि कोशीमा कांग्रेसलाई सकस



विराटनगर । पार्टीबाट पठाउने मन्त्रीबारे आन्तरिक रूपमा भागबन्डा मिलाउन नसकेपछि कांग्रेसलाई सरकारमा जान सकस भएको छ । प्रदेशसभाको बैठक सुरू हुनुअगावै सरकारमा जाने र सत्ता पक्षको बेन्चमा बस्ने बताएको कांग्रेसले तत्काल सरकारमा सामेल हुन नसक्ने बताएको छ ।

सदन भदौ १४ (शुक्रबार) लाई बोलाइएको छ । प्रदेशसभाको बैठक बस्ने मिति आउन दुई दिनमात्रै बाँकी भए पनि आज-भोलि मन्त्री छान्न समस्या भएको कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताएका छन् ।

थापाले भने, ‘प्रदेशसभाको बैठक अगाडि कांग्रेस सरकारमा जाने सम्भावना कम भएर गएको छ ।’ यसअघि उनले प्रदेशसभाको बैठकअगाडि नै कांग्रेस सरकारमा जाने हामीसँग बताएका थिए । उनले भने,‘अहिलेसम्म कुरा मिलेको छैन । छलफलमै छौं । को-को बन्ने भन्ने अझै टुङ्गो लागिसकेको छैन ।’

मन्त्री बन्नेको नाम फाइनल नभएकाले आफू शीर्ष नेताहरूसँग छलफलमा रहेको थापाले सुनाए । मन्त्रीको आकांक्षीको लर्को लागेपछि उनी नाम टुंग्याउन काठमाडौं हुइँकिएका थिए । शीर्ष नेताहरूसँग पटक पटक छलफल गरे पनि सूची तयार भइनसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : भाद्र १३, २०८१ बिहीबार  ८ : १२ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।