मकवानपुर जिल्ला प्रहरी कार्यालयले बकैया गाउँपालिका–४ निवासी २० वर्षीय विकास वाइवालाई खुकुरी प्रहार गरी हत्या गर्ने भीमराज भोलनलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न २० वर्षीय शङ्खर भनिने भीमराज भोलनलाई प्रहरीले शनिबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
शुक्रबार दिउँसो नजिकैको फुटवल चौरमा बसेर चुरोट खाइरहेको अवस्थामा विवाद भएपछि भोलनले साथमा रहेको खुकुरी प्रहार गरी वाइवाको हत्या गरेको जिप्रकाका एसपी सुशील सिं राठौरले जानकारी दिए । वाइवाको हत्या गरि भोलन फरार रहेका थिए । प्रहरीले भोलनको हुलिया र फोटो पत्राचार गरी खोजतलास गरेको थियो । फरार भोलनलाई शनिबार बिहान ललितपुर वाग्मती गाउँपालिका–२ माल्टाका स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।
प्रहरी चौकी भट्टेडाँडा ललितपुर र इलाका प्रहरी कार्यालय ठिङ्गनबाट खटिएको टोलीले उनीलाई नियन्त्रणमा लिएको थियो । घटनाको विषयमा थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।-रासस/File Photo





















प्रतिक्रिया