Logo

अनलाइनपाना खोज

अर्थशास्त्रमै विद्यावारिधि गरेका डा. भट्टमाथि किन भिराईदैछ ‘अयोग्यता’ को बिल्ला ?



काठमाडौं । बैंक तथा वित्तीय सँस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक गत २४ चैतदेखि नेतृत्वविहीन छ । २०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सकेर गत चैत २२ गते राष्ट्र बैंकबाट विदा भएपछि गभर्नर पद खाली छ । रिक्त राष्ट्र बैंकको महत्वपूर्ण नेतृत्व डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिनाको जिम्मा लगाईएको छ ।

राष्ट्र बैंक ऐनअनुसार, गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ गभर्नरको नियुक्ति हुनुपर्ने प्रावधान छ । तर, दलिय भागवण्डाका कारण सरकारको आर्थिक सल्लाहकारको भूमिकामा रहेको राष्ट्र बैंकले ‘गभर्नर’ पाउन सकेको छैन ।

सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष खड्ग प्रसाद ओली सकेसम्म गभर्नर पद आफ्नै पोल्टामा पार्ने रणनीतिमा छन् । सोहि अनुरुप उनी डेपुटी गभर्नरबाट राष्ट्र बैंक चलाउने मुडमा छन् । यसमा एमालेका नेता तथा अर्थमन्त्री बिष्णु पौडेलले कामु गभर्नर उचालेर नियुक्ति प्रकृया गिजोलिरहेका छन भने ढुंगानालाई गभर्नर बनाएर आफू अनुकूल राष्ट्र बैंक चलाउने योजनामा व्यापारिक घराना हात धोएरै लागिपरेका छन् । दक्ष व्यक्ति भन्दा पनि आफ्नो दल तथा आँफू अनुकूलका व्यक्ति गभर्नर नियुक्ति गर्नुपर्ने होडमा गभर्नर पद बन्धक बनेको छ ।

गत ११ चैत २०८१ मा गभर्नर नियुक्ति सिफारिस समिति बन्यो । जसमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक र पूर्वयोजना आयोग उपाध्यक्ष विश्वनाथ पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेका थिए । तर समिति गठन भएको लामो समय बितिसक्दा पनि पौडेलले बैठक नबोलाएपछि अपमान भएको महसुस गर्दै भट्टराईले राजिनामा दिईसकेका छन् । समिति गठन भएदेखि बैठकअहिलेसम्म एकपटक पनि बोलाइएको छैन ।

गभर्नर नियुक्ति प्रकृया निकै गिजोलिएपछि एमाले कांग्रेसको साझा सहमतिमै राष्ट्र बैंकका अब्बल क्याडर कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर बनाउने टुँगो लागेपछि भट्ट राजिनामा बुझाएर बैंकबाट बाहिरिसकेका छन् । भट्टले गत शुक्रबार नै एक महिनाको तलबसहित राजीनामा बुझाएका हुन् । आर्थिक अनुसन्धान जस्तो महत्वपूर्ण विभागको प्रमुख रहका कार्यकारी निर्देशक भट्टले नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली अनुसार नै प्रक्रिया पूरा गरेर राजीनामा बुझाएका हुन् ।

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली अन्तर्गत विनियमावलीको स्वेच्छिक अवकाश र राजीनामाको शर्तमा मा – ‘कुनै कर्मचारीले सेवाबाट स्वेच्छिक अवकाश लिन चाहेमा वा राजीनामा दिई सेवाबाट अलग हुन चाहेमा निजले ३० दिनको पूर्वसूचना लिखित रूपमा बैंकलाई दिनुपर्ने छ वा उक्त अवधिको तलब भत्ता बैंकलाई बुझाउनुपर्ने’ भनी व्यवस्था गरिएको छ। सोहि अनुसार नै भट्टले राष्ट्र बैंक कार्यकारी निर्देशकको पदबाट राजीनामा हुन् ।

तर कार्यवाहक गभर्नर निलम ढुंगानाले आँफू पनि गभर्नरको दौडमा रहेकोले प्रतिस्पर्धीलाई सजिलै बाटो खुल्ला नगर्ने भन्दै भट्टको राजीनामा एकसाता बितिसक्दा समेत स्वीकृत गरेकी छैनन् । राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली–२०६८ को विनियम ११४ अनुसार स्वेच्छिक अवकाश वा राजीनामा दिन सकिने व्यवस्था भए पनि कार्यवाहक गभर्नर ढुंगानाको प्रतिसोधका कारण नियुक्ति प्रक्रिया रोकिएको हो ।

त्यसो त राष्ट्र बैंकको ऐनमा गभर्नर नियुक्तिका लागि कार्यकारी निर्देशकले राजीनामा दिनुपर्ने प्रावधान छैन । गभर्नर नियुक्ति भएपछि कार्यकारी निर्देशकबाट स्वतः राजिनामा गरेको मानिने छ । ढुंगानाले भट्टको राजिनामा स्वीकृत नगरेपनि गभर्नर नियुक्त भए स्वतः राजिनामा भएको मानिने छ ।

कामु भएलगतै ढुंगानाले राष्ट्र बैंकको संस्थागत संरचना परिवर्तन गरेर डेपुटी गभर्नर खाली राख्दै आफ्नो नाम कामु गभर्नरमा राखिसकेकी छन् । राष्ट्र बैंकमा कामु गभर्नर र गभर्नरको अधिकार एउटै हो भन्दै संचालक समितिको बैठक नै नबोलाई अति महत्वपूर्ण महत्त्वपूर्ण निर्णय समेत व्यवस्थापन समिति बैठकबाट गराइरहेकी ढुंगानाले कर्मचारीको राजीनामा स्वीकृत गर्ने जिम्मेवारीबाट भने पन्छिएर जग हसाउने काम गरेको कर्मचारी युनियनका एक पदाधिकारी बताउँछन् । उनी भन्छन्, – ‘सबै विभागीय प्रमुख गभर्नर बन्ने भन्दै राजीनामा दिँदै आए भने गर्ने भन्ने केटाकेटी जवाफ दिनुभयो हामी त के भन्ने भन्ने भयौँ ।’

गजबको कुरा त के छ भने, डा.गुणाकर भट्ट औपचारिकरूपमा गभर्नरमा नियुक्त भइसकेका छैनन् । नत उनलाई समितिले सिफारिस नै गरेको छ । भट्टलाई गभर्नर बन्ने र १८ औँ गभर्नरका लागि सरकारले योग्य गभर्नर छान्यो भन्ने चर्चासँगै सरकारको प्रसंसा हुन थालेपछि चर्चाकै भरमा उनी अयोग्य छन् भन्दै सर्वोच्चमा रिट दायर गरियो जसको कुनै औचित्य नभएको भन्दै अर्थविद्हरुले समेत यसलाई केटाकेटी निर्णयका रुपमा लिने गरेका छन् । राष्ट्र बैंक ऐनको व्यवस्था अनुसार भट्टको योग्यतासम्बन्धी प्रश्न उठाउनुपर्ने खासै कारण नरहेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । क्षेत्रीका अनुसार राष्ट्र बैंक ऐनअनुसार भट्ट अयोग्य छन् भन्ने प्रश्न उठाउने ठाउँ छैन ।

डा. भट्ट कसरी अयोग्य ?

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावलीको पूर्ण पालना गरी सिफारिसमा पर्नु अगावै सम्पूर्ण प्रकृया पुर्याएर राजिनामा बुझाएका डा. भट्ट माथि अयोग्यताको प्रश्न उठाउने आधारनभएको र राजिनामा स्वीकृत नगरी कामु गभर्नरले अडचन थापेकै भरमा उनी अयोग्य छन् भन्न समेत नमिल्ने पूर्व गभर्नरहरु बताउँछन् ।

समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिस गर्ने व्यवस्था छ ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

भट्ट डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा अर्थमन्त्रालयको सल्लाहकार समेत भईसकेका व्यक्ति हुन् । राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार भएकाले भट्ट सरकारलाई आर्थिक, वित्तीय तथा मौद्रिक नीतिको विषयमा सल्लाह दिन सक्ने हैसियतका भएका व्यक्ति हुन् । भट्टले लामो समयदेखि बैंकभित्र आर्थिक अनुसन्धान विभागको प्रमुख, राष्ट्र बैंकको प्रवक्ता समेत भएर पटकपटक अर्थमन्त्रीको आर्थिक विज्ञ तथा सल्लाहकार भई काम गरिसकेकाले पनि उनीमाथि अयोग्यताको प्रश्न उठाउने ठाउँ नरहेको उनी को भनाइ छ।

डा. भट्ट विगत २५ वर्षदेखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन् । आर्थिक अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, सुपरिवेक्षण विभाग, राष्ट्र ऋण व्यवस्थापन विभागको प्रमुख भएर काम गरी सकेका डा. भट्ट दुईपटक प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । भट्ट स्नातकोत्तर तहमा त्रिभुवन विश्व विद्यालयका ‘गोल्डमेडलिष्ट’हुन् । भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाकै वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ छवि भएका र सक्षम व्यक्ति मानिन्छन् । दलगत भागवण्डामा आफ्नो मान्छे गभर्नर बनाउन बिचौलियाहरूको चलखेल चुलिएका बेला पनि उनी राजनीतिक ‘खेल’बाट टाढै रहेका व्यक्ति हुन् । त्यसैले पनि उनको नियुक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

छुटाउनु भयो कि ?

निलमलाई ओलीको निर्देशन : भट्टको राजीनामा ‘स्वीकृत’ नगर्नु !

गभर्नरको कुर्सीमा विष्णुको दृष्टि

गभर्नर दौडको पर्दा पछाडिको खेल : गुणाकर भट्टलाई छेकेर सिंहदरबारको आशीर्वाद खोज्दै नीलम ढुंगाना

कामु गभर्नर ढुंगानाको निर्लज्ज खेल : डा. भट्टविरुद्ध नियोजित षड्यन्त्र

गभर्नरका नाममा अर्थतन्त्र बन्धक बनाउने ओलीको षड्यन्त्र: पौडेलको निर्देशनमा ढुंगानाको ‘पावर प्ले´

गभर्नर बन्न आतुर निलम ढुंगानाको ‘कु’ शैली: पदिय मर्यादाको खिल्ली, ऐनको ठाडै उल्लंघन

डा. गुणाकर भट्ट १८ औँ गभर्नर बन्ने पक्का, देउवा–ओलीबीच सहमति जुट्यो

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार २१:२५   :  बजे

3.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।