Logo

कर्णाली प्रदेश

हुम्लीको सडक सपना २६ वर्षपछि पूरा, प्रधानमन्त्री ओलीले गरे बेलिब्रिजको उद्घाटन



काठमाडौं । कर्णाली प्रदेशको हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज निर्माण भएसँगै हुम्ला औपचारिकरुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो ।

सडक पहुँचका लागि हुम्लाको लाइफलाइन मानिएको उक्त बेलिब्रिजको आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला थियो ।

२६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन ।

बाँकेको जमुनियाबाट हिल्सासम्म यो सडकको दूरी ५१० किलोमिटर रहेको छ ।

यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ । यसपछि वैदेशिक व्यापारलाई पनि सहयोग पुग्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

योसँगै सडक नजोडिएको एउटामात्रै हुम्ला जिल्लामा पनि राष्ट्रिय सडक सञ्जाल पुगेको छ ।

प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला पुगेका छन् ।

पुल उद्घाटनसँगै २६ वर्षको प्रतीक्षापछि हुम्ली जनताको सडक सपना पूरा भएको छ ।

चुवाखोला-कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा भएको छ ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा शिलान्यास भएको थियो ।

दक्षिणको नेपालगञ्ज-जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन(नेपाल हिल्सा नाका जोड्ने यो करिडोर ६८२ किलोमिटर लामो छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो ।

कर्णाली प्रदेशको राजधानीदेखि हिल्सा नाका पुग्न कूल ४१० किलोमिटर यो सडकको निर्माणको जिम्मा सुरुदेखि २०६६ सालसम्म सडक विभाग आफैंले लियो ।

नेपाली सेनाले बनाएको बाहेक हिल्सा–मकोट खण्डको १४५ किलोमिटर ट्र्याक खोल्न र ४ वटा पुल निर्माण गर्न आर्थिक वर्ष २०६९।७० देखि आर्थिक वर्ष २०७९।८० सम्मको लागत ४ अर्ब १० करोड रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रगति प्रतिवेदनको तथ्याङ्ककमा उल्लेख छ ।

प्रकाशित मिति : २२ असार २०८२, आईतवार १९:४४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।