Logo

प्रमुख समाचार

‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ : अर्थमन्त्री स्वर्णिम वाग्ले



काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रवादको युग समाप्त भएको बताएका छन्। भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ लाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भारतसँगको सम्बन्ध थप सुदृढ बनाउन चाहेको बताएका हुन्।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बदलिँदो राजनीतिक परिस्थिति र भारतसँगको सम्बन्धबारे धारणा राख्दै वाग्लेले नयाँ नेतृत्वले द्विपक्षीय सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन खोजेको उल्लेख गरे। विगतका राजनीतिक धारणा र उतारचढावभन्दा साझा हित, आपसी विश्वास र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ। यी दुई देश भौगोलिक रूपमा मात्र नभई गहिरो सांस्कृतिक सम्बन्धका माध्यमबाट पनि जोडिएका छन्,’ वाग्लेले भने।

उनले नेपाल र भारतबीच बेलाबेला मतभेद देखिए पनि त्यसले दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको महत्त्वलाई कम गर्न नसक्ने बताए। दुवै देशले आपसी समझदारीका आधारमा सम्बन्धलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।

वाग्लेले प्रधानमन्त्री शाहले सन् २०२६ को अन्त्यसम्म भारत भ्रमण गर्न सक्ने संकेतसमेत गरेका छन्। सम्भावित भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले उच्चस्तरीय संवाद र सहकार्य विस्तार हुने अपेक्षा राखे।

भारतको तीव्र आर्थिक विकासबाट नेपालले पनि लाभ लिन सक्ने वाग्लेको भनाइ थियो। व्यापार, लगानी, पूर्वाधार विकास र आर्थिक साझेदारीका क्षेत्रमा दुई देशबीच सहकार्य बढाउन सके नेपालले नयाँ अवसर प्राप्त गर्ने उनको धारणा थियो।

खुला सीमा, पारिवारिक सम्बन्ध, व्यापारिक कारोबार र सांस्कृतिक निकटताले नेपाल–भारत सम्बन्धलाई विशिष्ट बनाएको छ। यद्यपि, विभिन्न समयमा राजनीतिक तथा कूटनीतिक मतभेदका कारण सम्बन्धमा उतारचढाव आउने गरेको छ। वाग्लेको अभिव्यक्तिले यस्ता मतभेदलाई केन्द्रमा राख्नुभन्दा साझा आर्थिक तथा रणनीतिक हितमा जोड दिनुपर्ने सरकारको दृष्टिकोणलाई प्रतिबिम्बित गरेको छ।

यसैबीच, अर्थमन्त्री वाग्लेले विपद्का समयमा नेपाललाई सहयोग गरेको भन्दै भारतको प्रशंसासमेत गरे। भूकम्पदेखि पछिल्ला बाढीपहिरोसम्मका विपद्मा भारतले सहयोगका लागि अग्रसरता देखाएको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा प्राप्त सहयोगको महत्त्व औंल्याए।

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण, आर्थिक सहकार्य र आपसी विश्वास महत्त्वपूर्ण हुने वाग्लेको भनाइ छ। प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलाई पनि दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार २०:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।