नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि बोनस दर सार्वजनिक गरेको छ। कम्पनीले न्यूनतम प्रतिहजार रु. ५५ देखि अधिकतम रु. ८५ सम्म बोनस प्रदान गर्ने निर्णय गरेको हो।
आर्थिक चुनौतीपूर्ण वातावरणका बीच पनि बोनस दर स्थिर राख्न सफल भएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बोनस दर स्थिरतामा कम्पनीको रणनीतिक निर्णय, बोर्डको मार्गदर्शन, बीमितको विश्वास र अभिकर्ता तथा कर्मचारीको योगदान महत्वपूर्ण रहेको बताए।
उनले नियामक निकाय तथा सरोकारवालालाई धन्यवाद व्यक्त गर्दै कम्पनीले दीर्घकालीन दायित्व वहन क्षमतामा निरन्तर सुधार गरिरहेको उल्लेख गरे।
सावधिक जीवन बीमा योजनाअन्तर्गत सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, शिक्षा तथा जीवन भविष्यसहितका योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार रु. ६०, २१ देखि २५ वर्षका लागि रु. ७० र ३० वर्ष माथिका लागि प्रतिहजार रु. ८२ कायम गरिएको छ।
नौलो सुरक्षित तथा बाल जीवन योजनामा २० वर्षसम्म प्रतिहजार रु. ६५ र ३० वर्ष माथिका लागि रु. ८२ निर्धारण गरिएको छ भने जीवन समुन्नति योजनामा न्यूनतम प्रतिहजार रु. ५६ देखि अधिकतम रु. ७० कायम गरिएको छ।
सुनौलो भविष्य जीवन बीमा योजना, शिक्षा विकल्प र एकल बीमाशुल्क योजनामा प्रतिहजार रु. ५५ देखि रु. ६५ सम्म बोनस उपलब्ध हुनेछ। अग्रिम भुक्तानी सावधिक बीमा योजनामा जीवन समृद्धि तथा धन वर्षा श्रृंखलामा प्रतिहजार रु. ५६ कायम गरिएको छ।




















प्रतिक्रिया