काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसिसी एसिया कपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीलाई पुरस्कार दिने घोषणा गरेका हुन्।
गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स युएईलाई ४४ रनले पराजित गर्दै नेपाल दोस्रोपटक एकदिवसीय एसिया कपमा छनोट भएको थियो।
अध्यक्ष चन्दले एसिया कपमा स्थान बनाउन सफल हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले राष्ट्रिय टोलीको सफलताको सम्मान गर्दै सरकारले पनि खेलाडीलाई पुरस्कार घोषणा गर्नुपर्ने धारणा राखे।
अध्यक्ष चन्दले एनपिएलले देशको अर्थतन्त्र र खेलकुद क्षेत्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताए। कठिन परिस्थितिका बाबजुद सम्बन्धित सबै निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो।
उनले एनपिएलको वित्तीय पारदर्शिता र लेखापरीक्षण प्रक्रियामा पनि सुधार हुँदै गएको उल्लेख गरे। पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा वित्तीय व्यवस्थापन र अडिट प्रक्रियामा उल्लेख्य सुधार भएको उनले बताए।




















प्रतिक्रिया