काठमाडौं । नेपालमा दूरसञ्चार सेवा दिने प्रमुख निजी कम्पनीहरूमध्ये एक Ncell एनसेल (अजियटा लिमिटेड) ले प्रदान गर्ने सेवाप्रति उपभोक्ताको असन्तुष्टि दिनानुदिन चुलिँदै गएको छ। नेटवर्क नआउने, कल ड्रप हुने, इन्टरनेट नचल्ने जस्ता समस्या नियमित भइरहँदा पनि ब्यालेन्स कटौती भने निरन्तर भइरहेको गुनासो व्यापक रूपमा आउन थालेको छ।
दुर्गम क्षेत्र मात्र होइन, शहरी इलाकामा समेत एनसेलको सिग्नल भरपर्दो नहुँदा सेवा उपयोग गर्न कठिन भइरहेको उपभोक्ताहरू बताउँछन्। फोन गर्न खोज्दा ‘नो नेटवर्क’ देखिने, इन्टरनेट खोल्दा कनेक्ट नहुने तर ब्यालेन्स भने क्रमशः घटिरहेको अवस्था सामान्यजस्तै बनेको उनीहरूको अनुभव छ। सेवा नपाउँदा पनि पैसा काटिनु उपभोक्ताका लागि सबैभन्दा ठूलो असन्तोषको कारण बनेको छ।
धादिङका उपभोक्ता नारायण तिवारीका अनुसार केही सेकेन्ड पनि कल नलागी आफैं काटिने वा बीचमै ड्रप हुने समस्या बारम्बार दोहोरिन्छ । “कलै नलागी काटिन्छ, कहिलेकाहीँ आफैं ड्रप हुन्छ। तर पैसा भने तुरुन्तै घटिसकेको हुन्छ,” उनले भने, “न त स्पष्ट बिलिङ विवरण आउँछ, न त यसको जवाफ पाइन्छ ।”
मोबाइल डाटा बन्द अवस्थामा हुँदाहुँदै वा इन्टरनेट नचल्दा पनि ‘डाटा प्रयोग’ भएको देखाएर ब्यालेन्स घट्ने समस्या पनि व्यापक रहेको गुनासो छ। सिस्टम अपडेट वा ब्याकग्राउन्ड एक्टिभिटीका नाममा डाटा कटौती हुने गरेको भन्दै उपभोक्ताहरूले यसलाई सामान्य प्राविधिक त्रुटिभन्दा बढी योजनाबद्ध असुलीको शैलीका रूपमा लिएका छन्।
प्रयोग नै नगरेको डाटाको शुल्क तिर्नुपर्ने बाध्यताले उपभोक्तामा थप आक्रोश पैदा गरेको छ। एनसेलको ग्राहक सेवा केन्द्रबाट समेत अपेक्षित समाधान नपाइएको गुनासो छ। फोन गर्दा घुमाउरो जवाफ आउने, समस्या ‘सिस्टममा रहेको’ भन्दै पन्छिने र क्षतिपूर्ति वा ब्यालेन्स फिर्ता प्रायः नपाइने अवस्था रहेको उपभोक्ताहरूको भनाइ छ।
समस्या समाधानभन्दा असन्तोष थाम्नका लागि मात्र ग्राहक सेवा सञ्चालन गरिएको जस्तो अनुभूति हुने उनीहरू बताउँछन्।
एनसेलविरुद्ध यस्ता गुनासो नयाँ होइनन्। वर्षौंदेखि दोहोरिँदै आएका यी समस्याप्रति नियमन गर्ने निकाय नेपाल दुरसंचार प्राधिकरण `NTA´ को प्रभावकारी हस्तक्षेप नदेखिनुले गम्भीर प्रश्न खडा गरेको छ। सेवा नदिई शुल्क असुल्नु उपभोक्ता अधिकार ऐनको ठाडो उल्लंघन भए पनि त्यसतर्फ सम्बन्धित निकायको ध्यान नपुगेको देखिन्छ।
ठूला कम्पनीका अगाडि नियम र कानुन निरीह बन्ने हो कि भन्ने आशंका समेत उठ्न थालेको छ।
सेवा सुधार नगरी असुली मात्र बलियो बनाउने प्रवृत्तिले एनसेलप्रति उपभोक्ताको विश्वास झन् खस्किँदै गएको छ। समयमै कडा अनुगमन, पारदर्शी बिलिङ प्रणाली र उपभोक्तालाई क्षतिपूर्ति सुनिश्चित नगरे दूरसञ्चार क्षेत्रमा थप अविश्वास सिर्जना हुने जानकारहरु बताउँछन्।
यस बिषयमा थप बुझ्न नेपाल दुरसंचार प्राधिकरण ( NTA) का अध्यक्ष भुपेन्द्र भण्डारीसँग कुरा गर्न खोज्दा उनी सूचना अधिकारीलाई देखाएर पन्छिए भने सूचना अधिकारी मीन प्रसाद अर्याललाई फोन गर्दा उनी फोन अफ गरेका सम्पर्कविहीन भए।
छुटाउनु भयो कि ?
एनसेलको सवा १ अर्ब ठगीको फाईल लुकाउन पुनरावेदन समिति नै दुई वर्षदेखि ‘प्यारालाइज्ड’
ग्राहक ठग्ने एनसेल, बचाउने सरकार : NTAको मौनतामा दूरसञ्चार नियमन धरापमा
एनसेलको ठगी काण्डले उपभोक्तालाई हैरानी, प्राधिकरणले निकाल्यो सूचना




















प्रतिक्रिया