काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोबाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको भन्दै उद्धारको प्रतीक्षामा रहेका नागरिकसम्म सरकार पुग्ने प्रतिबद्धता जनाएका छन्।
भोटेकोशीमा आएको बाढीको पछिल्लो अवस्थाबारे शनिबार साँझ सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई राज्यको उपस्थितिको अनुभूति गराउने बताएका हुन्।
‘यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ।’
उनका अनुसार रसुवा, नुवाकोटलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जनालाई उद्धार तथा राहतमा खटाइएको छ।
सरकारका अनुसार हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा ९९ हवाई उडान भएका छन्।
प्रभावित क्षेत्रमा ३२ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ भने हेलिकप्टरमार्फत पनि राहत सामग्री ढुवानी भइरहेको प्रधानमन्त्रीले बताएका छन्। सुरुङमा फसेका नागरिक तथा कामदारको खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखिएको उनले उल्लेख गरेका छन्।
बेपत्ता नागरिक तथा शवको खोजीलाई रसुवाबाट नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको प्रधानमन्त्रीको भनाइ छ।
विपद्पछि अवरुद्ध सडक, विद्युत्, दूरसञ्चार र खानेपानी सेवा पुनःस्थापनाको काम पनि तीव्र पारिएको छ। रसुवालाई वैकल्पिक सडकमार्फत पुनःसडक सञ्जालमा जोडिएको छ भने प्रभावित १९८ दूरसञ्चार साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको जनाइएको छ।
बाढी तथा विपद्बाट प्रभावित १५ स्थानीय तहलाई राहत, उद्धार तथा व्यवस्थापनका लागि ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको प्रधानमन्त्रीले बताएका छन्। उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।
यसैबीच भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिम रहेकाले सरकारले निगरानी जारी राखेको छ। प्रधानमन्त्री शाहले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। सम्भावित जोखिमबारे नागरिकलाई सचेत गराउन हालसम्म २ लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना पठाइएको उनले जानकारी दिएका छन्।
















प्रतिक्रिया