काठमाडौं । बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोना सिमेन्ट) र शुभम् हेल्थ केयर प्रोडक्ट्सले संयुक्त रूपमा १ करोड ५ लाख ९१ हजार रूपैयाँ सहयोग गरेका छन् ।
मंगलबार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका प्रबन्ध निर्देशक निपेश तायलसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
सहयोग रकममध्ये सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ५१ लाख रूपैयाँ योगदान गरेको छ । यसैगरी, सोही कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबर ४ लाख ९१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन् ।
यसका साथै, निपेश तायल नै निर्देशक रहेको अर्को संस्था शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा. लि. बाट थप ५० लाख रूपैयाँ सहयोग उपलब्ध गराइएको छ । यसरी दुई संस्था र कर्मचारीहरूको तर्फबाट कुल १ करोड ५ लाख ९१ हजार रुपैयाँ सरकारलाई हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक तायलले प्राकृतिक विपत्तिको यो कठिन घडीमा सरकारसँग काँधमा काँध मिलाएर नागरिकको सेवामा समर्पित हुन सानो प्रयास गरिएको बताए ।
सहयोग रकम बुझ्दै अर्थमन्त्री डा. वाग्लेले विपद्को समयमा निजी क्षेत्रले देखाएको यो उदारता र मानवीय कार्यको प्रशंसा गरे ।
















प्रतिक्रिया